‘आठौं राष्ट्रिय खेलकुद समयमै’

नेपालगन्जमा पहिलो पटक ओलम्पिक डे मनाइयो, खेलाडीको सामाजिक सुरक्षा प्रति चिन्ता

दैनिक नेपालगन्ज

खेलकुदलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न सकेमात्र खेलकुद विकास अभियानले गति लिनेमा सरोकारवालाले जोड दिएका छन् । उनीहरुले खेलाडीहरुको सामाजिक सुरक्षालाई राज्यले प्राथमिकतामा राख्न पनि सुझाए ।
पहिलो पटक नेपालगन्ज ओलम्पिक डे मनाउने क्रममा शुक्रवार ‘प्रदेश खेलकुदको सम्भावना र हाम्रो दायित्व’ बिषयक अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागी खेलाडी र खेलकर्मीहरुको जोड खेलाडीको सामाजिक सुरक्षामा थियो । ‘खेलाडीले कहिले आफु आर्थिक रुपमा आत्मनिर्भर भएको महसुस गर्ने ?’ नेपाली महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापाले भनिन्, ‘आत्मनिर्भर हुने अवस्थाको सुनिश्चितता नभएसम्म खेलाडी पलायन भइरहन्छन् ।’

 

कार्यक्रममा प्रमुख अतिथि, प्रदेश सभा सदस्य मोहम्मद याकुब अन्सारीले खेलाडीलाई आत्मनिर्भर बनाउने सवालमा प्रदेशसभामा आवाज उठाउने प्रतिबद्धता जनाए । ‘भौतिक पुर्वाधारदेखि खेलाडीको सामाजिक सुरक्षाका सवालमा सदनमा बुलन्द आवाज उठाउनेछौं ।’ अन्सारीले भने, ‘समस्या हामीलाई भन्नुस्, नीतिगत तहमा आवाज उठाउने काम हाम्रो हो ।’ नेपालगन्जमा क्रिकेट मैदान निर्माण गर्ने सवालमा चाँडै नतिजा आउने गरी आफुहरुले काम गरेको उनको भनाइ थियो ।
ओलम्पियन कमल अधिकारीलाई ओलम्पियन सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ प्रदान गरी सुरु गरिएको अन्तरक्रियामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य विनोद मैनालीले खेलकुद र खेलाडीका लागि राज्यले सक्दो गरिरहेको बताए ।

 

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले आठौं राष्ट्रिय खेलकदु समयमै हुने धेरै आधारहरु तयार भइसकेको अवस्थामा शंका उपशंका नगर्न आग्रह गरे । ‘हामी आठौंको महाअभियानमा जुटेका छौं ।’ अध्यक्ष ओलीले भने, ‘अब सम्पुर्ण जिल्लावासीले यसलाई प्रतिष्ठाको बिषय बनाएर अघि बढे अहिलेसम्मकै उत्कृष्ट राष्ट्रिय खेलकुदका रुपमा सम्पन्न गर्नेछौं ।’
अग्रज खेलकर्मी नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष अजित शर्माले राजनीतिक परिवर्तनसँगै खेलकुदका कतिपय अल्पकालीन र दीर्घकालीन योजनामा प्रभाव पर्ने गरेका कारण खेलकुदले अपेक्षित गति लिन नसकेको औल्याए । सिओल एशियाडमा भलिबलतर्फ रेफ्रीको भुमिका निर्वाह गरिसकेका शर्माले समग्र खेलकुद विकासका लागि भौतिक पुर्वाधारसँगै खेलाडी खोजी अभियानलाई सम्बन्धित निकायहरुले जोड दिनुपर्नेमा जोड दिएका थिए ।
नेपाल बार एसोसियसनका केन्द्रिय उपाध्यक्ष सालिकराम सापकोटाले खेलकुदले देश जोड्ने भएको हुँदा खेलकुदका अभियानलाई समाजको हरेक तप्काले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । हिसानका केन्द्रिय उपाध्यक्ष इश्वर पोखरेलले खेलकुदका ठुला प्रतियोगितासँग सहकार्य गरी अघि बढ्न हिसान सदैव तयार रहेको चर्चा गर्दै आठौं राष्ट्रिय खेलकुदमा सम्पुर्ण क्षमता प्रदर्शन गर्ने प्रतिबद्धता जनाए ।

 

नेपाल मेडिकल एसोसियसनका भेरी इकाइ अध्यक्ष डा. विनोद कर्णले क्रिकेटको बढ्दो लोकप्रियतासँगै नेपालगन्जमा क्रिकेट मैदानको आवश्यकतालाई राज्यले तत्काल सम्बोधन गर्नुपर्ने माग गरे भने, नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीले खेलाडीहरुको पहिचान स्थापित गर्न राज्यले कन्जुस्याईं गरिरहेको आरोप लगाए । ‘खेलाडी र खेलकुदका नाममा दर्जनौं संघसंस्था क्रियाशील छन्, तर कोही खेलाडीको हकहितमा बोल्नेवाला छैन ।’ क्षेत्रीले भने –‘जबसम्म खेलाडीलाई बाच्ने आधार तयार गर्न सकिंदैन, खेलकुदले गति लिन सक्दैन ।’

 

मध्यपश्चिम क्षेत्रीय प्रशिक्षण केन्द्रका निर्देशक जयन्तकुमार शर्माले कुशल खेलाडी बन्नका लागि सबैजना खेलकुदको आधिकारिक निकायको सम्पर्कमा आउनुपर्नेमा जोड दिए । ‘तालिमप्राप्त प्रशिक्षकसग प्रशिक्षण लिदा मात्र राम्रो खेलाडी बन्ने हो र स्वास्थ्य पनि राम्रो हुने हो ।’ बरिष्ठ प्रशिक्षकसमेत रहेका शर्माले भने–‘पक्की सडकमा दौडदा वा हिंड्दा तथा जिम क्लबमा गएर आफु खुशीले पसिना बगाउदा त्यसले दीर्घकालीन स्वास्थ्यमा पर्ने समस्याका बारेमा सबै जानकार हुनुपर्ने बेला आएको छ ।’

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले खेलकुदका निकायले खेलकुद आयोजना मात्र नभई खेलपत्रकारिता सम्बन्धि कार्यक्रम पनि सञ्चालन गर्न सुझाव दिए । युवा स्वास्थ्य व्यवसायी जीवन शर्मा, पत्रकार माधव अधिकारी, विद्यालय सञ्चालक तथा अभियन्ता हेमन्त काफ्ले, सुटिङका अन्तर्राष्ट्रिय खेलाडी बदरुदीन अन्सारी, ग्रिन इभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफी, योगा अभियन्ता नर्स अञ्जु न्यौपाने, बाँके जिल्ला भलिबल संघका सदस्य ध्रुव शाह, प्रधानमन्त्री कप महिला भलिबलका उत्कृष्ट स्वयंसेवक प्रिया श्रेष्ठले पनि खेलकुदमा समस्या, सम्भाव्यता र दायित्वका बारेमा बोलेका थिए । आयोजक क्रियटिभ ह्याण्ड्सका कार्यकारी अध्यक्ष टिएस ठकुरीले सहजीकरण गरेको कार्यक्रममा कीर्तिमानी भारोत्तोलनका ओलम्पियन कमल अधिकारीले केक काटेका थिए ।

 

क्रियटिभ ह्याण्ड्सले पश्चिम नेपालमा नै पहिलोपटक नेपालगन्जमा शुक्रवार ओलम्पिक डे आयोजना गरेको हो । नेपालकै प्रतिष्ठित प्रतियोगिता प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको सहआयोजक क्रियटिभ ह्याण्ड्सले नेपालगन्ज म्याराथन, नेपालगन्ज इन्टरनेसनल फिल्म फेस्टिभल, नेपालगन्ज साहित्य उत्सव आयोजना गर्दै आएको छ । साथै महिला क्रिकेटको पहिलो कप्तान नेरी थापा र क्रिकेटर महेश क्षेत्रीलाई स्कुटरसहित नेपालगन्ज स्पोर्ट्स अनरबाट सम्मान गरिसकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया