कोहलपुरमा औद्योगिक क्षेत्र देखि सिसिटिभी सम्म व्यवसायीको माग

नगरसुरक्षालाई सिसिटिभी जडान र व्यवसायिक करमा २५ प्रतिशत हिस्सा खोजेको हो ।

देबेन्द्र राज पौडेल
दैनिक नेपालगन्ज

कोहलपुर उद्योग वाणिज्य संघले नगरपालिकाले असुली गर्ने व्यवसायिक करमा हिस्सा खोजेको छ । आइतबार नगरसभाको तयारी गरिरहेको कोहलपुर नगरपालिकालाई व्यवसायिक तथा नगरको चासोको विषयबारेमा माग पत्र बुझाउँदै संघ पदाधिकारीहरुले व्यवसायिक करमा संघको हिस्सेदारी खोजेका हुन् ।

 

‘नगरपालिकाले व्यवसायीहरुबाट असुल्ने करको २५ प्रतिशत रकम हाम्रो खातामा जम्मा गरोस् भन्ने हाम्रो माग हो’, संघका महासचिव तेज प्रसाद अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘व्यवसायिक हित प्रयोजनका लागि करमा हिस्सेदारी खोजिएको हो ।’

 

संघका अध्यक्ष चक्रबहादुर अधिकारीको नेतृत्वमा पुगेको संघको टोलीले कोहलपुर नगरप्रमुखसँग भेटी माग पत्र बुझाएको हो । ‘नगरसभाबाट हाम्रा मागहरु सम्बोधन गरियोस् भन्ने हाम्रो माग हो’, महासचिव अधिकारीले भने ।
कोहलपुर उद्योग वाणिज्य संघले नगरपालिकासँग न्यायोचित करको व्यवस्था गर्न समेत आग्रह गरेको छ । ‘आ.व. ०७४÷०७५ मा औषधी पसल र सुनचाँदी व्यवसायमा अत्याधिक कर लगाइयो’, महासचिव अधिकारीले भने, ‘हामीले आगामी आ.व.मा उक्त व्यवसायको करको दर घटाउन आग्रह गरेका छौं ।’
कोहलपुर उद्योग वाणिज्य संघले कोहलपुर क्षेत्रमा औद्योगिक क्षेत्रको विकास गर्न नगरपालिकासँग आग्रह गरेको छ । ‘व्यवस्थित रुपमा उद्योगहरु सञ्चालित गर्न एउटा निश्चित स्थान तोकिनु आवश्यक छ’, महासचिव अधिकारी भन्छन्, ‘बढ्दो औद्योगिकरणसँगै औद्योगिक क्षेत्रको आवश्यकता महसुस भएको छ ।’

 

कोहलपुर उद्योग वाणिज्य संघले सभा हल नहुँदा संघमै बृहत कार्यक्रम गर्न सक्ने अवस्था नरहेको भन्दै नगरपालिकासँग सभाहल निर्माणका लागि बजेट छुट्याउन आग्रह गरेको छ । ‘३ सय जना अटाउने हल र अतिथि गृह निर्माणका लागि बजेट छुट्याउन नगरपालिकासँग आग्रह गरिएको छ’, महासचिव अधिकारीले भने ।

 

संघले नगरमा सिसि क्यामेरा जडानको व्यवस्थाका लागि पनि नगरपालिकासँग आग्रह गरेको छ । स्थानीय प्रशासन, नगरपालिका र संघको संयुक्त प्रयासमा सिसि क्यामेरा जडान गरी नगरलाई सुरक्षित बनाउन संघले आग्रह गरेको हो ।
संघले नगरपालिकालाई बुझाएको मागपत्रमा ट्राफिक व्यवस्थापन, फोहोर व्यवस्थापनको पनि माग गरिएको छ । ‘कोहलपुरलाई सुन्दर सहर बनाउन आगामी आ.व.देखि फोहोर व्यवस्थापनका लागि दीर्घकाली योजना आवश्यक छ’, महासचिव अधिकारीले भने, ‘त्यसका लागि डम्पिङ्ग साइटको व्यवस्थापन गर्न नगरपालिकासँग आग्रह गरिएको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया