खजुरा क्यान्सर अस्पताल तयार, सोमवारदेखि उपचार शुभारम्भ

दैनिक नेपालगन्ज

बाँकेको खजुरा बजारस्थित आधुनिक सुविधा सम्पन्न क्यान्सर अस्पतालले आगामी सोमवारदेखि आफ्नो आंशिक सेवा शुभारम्भ गर्ने भएको छ । बैशाख अन्तिम सातादेखि सञ्चालनमा ल्याउने तयारीमा जुटेको अस्पताल व्यवस्थापनले तमाम चुनौतीबीच यसैसाता सोमवारबाट सेवा सञ्चालनमा ल्याउन थालेको हो ।

‘अस्पतालको ओपीडी सेवा शुभारम्भ गरिंदैछ,’ अस्पतालका अध्यक्ष किस्मत कुमार कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि आवश्यक सबै तयार पुरा भएको छ ।’ अध्यक्ष कक्षपतिले सेवा शुभारम्भका लागि स्वास्थ्यमन्त्री समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव आउन लागेको बताए । अस्पतालका कार्यकारी निर्देशक डा. विश्वराम पौडेल सहित ५ जना चिकित्सक खटिइसकेको खजुरा क्यान्सर अस्पतालले ओपीडी सेवामार्फत यथासम्भव उपचार गर्ने र जटिल प्रकारका विरामीलाई चितवन भरतपुर रिफर गर्ने बताइएको छ ।

त्यसका लागि अस्पतालको ओपिडि ब्लक निर्माण कार्य सकिएको छ । एक सय बेडको पूर्वाधार स्वीकृति पाएपनि सबै हिसाबले ५९ बेड तयार गरेर सेवा शुभारम्भ गर्न लागिएको अस्पतालको भनाइ छ । स्तन क्यान्सर विशेषज्ञ समेत रहेका कार्यकारी निर्देशक डा. पौडेल र अध्यक्ष कक्षपतिको व्यवस्थापनले यसबीच बाँके बर्दियाका १६० महिला स्वास्थ्य स्वयंसेविकालाई क्यान्सर बारे सचेतनामूलक अभिमुखिकरण सञ्चालन गरिसकेको छ । ‘दुई जिल्लका १४ स्थानीय तहका सबै स्वास्थ्य स्वयंसेविकालाई अभिमुखिकरण गरिसकिएको छ,’ अध्यक्ष कक्षपतिले भने । अस्पतालले खजुरामा एक दिने निःशुल्क क्यान्सर जाँँच शिविर समेत सञ्चालन गरिसकेको छ । ‘३ सय विरामी महिलाले आफ्नो चेकजाँच गराएका छन्,’ उनीहरु मध्य कतिपयलाई पाठेघरको मुखमा क्यान्सरको संक्रमण आशंकामा भरतपुर रेफर गरिएको जानकारी दिंदै अध्यक्ष कक्षपतिले भने ।

दुई जना अंको सर्जन, दुई मेडिकल अफिसर, नर्सिङ इन्चार्ज, आठ जना स्टाफ नर्स सहित २७ जनाको दरबन्दी लोकसेवा आयोग मार्फत पूर्ति गरेको क्यान्सर अस्पतालले ११ जना थप कर्मचारी ‘आउट सोर्सिङ’बाट भर्ना गरेको जनाएको छ ।
‘सुरक्षादेखि सरसफाईसम्मका कर्मचारीहरु कन्ट्रयाकका आधारमा व्यवस्था मिलाइएको छ,’ सुरक्षा र सरसफाईमा कुनै सम्झौता नगरिएको जानकारी दिंदै अध्यक्ष कक्षपतिले भने ।

 
२०६५ सालमा कक्षपतिको अगुवाईमा संगठित स्थानीयबासीले महायज्ञ लगायर प्रखर परोपकार मिशन सुरु गरेका थिए । हालसम्म ३५ करोड बढी लगानी भैसकेको अस्पतालका भौतिक संरचना निर्माणमा थप २५ करोड रुपैयाँ यस बर्षका लागि माग गरिएको छ । ‘थप आवश्यकताका लागि सरकारको ध्यानाकर्षण गराउने ज्ञापन पत्र बनाइरहेको छु,’ विहीवार कक्षपतिले भने ।

 
देशकै सुविधा सम्पन्न क्याबिन सहितका ५९ शैय्या जडान भैरहेको क्यान्सर अस्पतालमा ल्याब, एक्सरे मेसिन, अत्याधिक सुविधा सम्पन्न अपरेशन थियटर तयार भएपछि ओपीडी सञ्चालनमा ल्याउन थालिएको हो ।
एम्बुलेन्स आइसकेको छ, ओपिडि ब्लक निर्माण सकिएको छ, रेडियोलोजी ब्लक पनि अन्तिममा पुगेको छ । अस्पतालले आफ्नै फार्मेसी व्यवस्थापन गरी सहुलियत दरमा औषधी बिक्री वितरणको व्यवस्था मिलाइएको अध्यक्ष कक्षपतिले जानकारी दिएका छन् । ‘छिट्टै अस्पताललाई पुरा सञ्चालन गरिनेछ,’ अध्यक्ष कक्षपतिले प्रधानमन्त्री केपी ओलीले पनि अस्पताल बारे निकै चासो राख्ने गरेकोले बजेट अभाव नहुनेमा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया