एक महिनामै एक हजार करदाता थपिए

लक्ष्य नाघ्दै कर असुली

आन्तरिक राजश्व कार्यालय नेपालगन्जले जेठ मसान्तसम्म ९२.२१ प्रतिशत कर असुली गरिसकेको छ

समाचारदाता
दैनिक नेपालगन्ज

आन्तरिक राजश्व कार्यालय नेपालगन्जको राजश्व असुलीले सहजै लक्ष्य नाघ्ने देखिएको छ । आ.व. ०७४÷०७५ मा ३ अर्ब ३२ करोड १० लाख ७७ हजार राजश्व संकलनको लक्ष्य पाएको आन्तरिक राजश्व कार्यालय नेपालगन्जले जेठ मसान्तसम्म ३ अर्ब ६ करोड, २२ लाख ३३ हजार राजश्व असुली गरिसकेको छ । जुन लक्ष्यको ९२.२१ प्रतिशत हो ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्ज प्रत्येक महिना लक्ष्य भन्दा बढी कर संकलन गर्न सफल भएको छ । ‘चालु आ.व.को जेठमा २२ करोड ९९ लाख ५३ हजार कर संकलनको लक्ष्य निर्धारण गरिएको थियो’, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत जनकराज शर्माले भने, ‘उक्त अवधीमा लक्ष्यको ११८.७६ प्रतिशत कर संकलन भएको छ ।’ जेठमा आन्तरिक राजश्व कार्यालयले २७ करोड ३१ लाख २ हजार राजश्व संकलन गरेको थियो ।
आर्थिक बर्षको अन्त्य भएकाले असार महिनामा उठ्ने करले सहजै लक्ष्य नाघ्ने देखिएको छ । चालु आ.व.को जेठसम्मको कर असुली लक्ष्यको १ सय ९ प्रतिशत भन्दा बढी छ । असार महिनाका लागि लक्ष्य भने ५१ करोड ९९ लाख ३५ हजार लक्ष्य निर्धारण गरिएको छ ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्ज आ.व. ०७४÷०७५ मा १ अर्ब ४६ करोड ८९ लाख २४ हजार राजश्व संकलनको लक्ष्य पाएकोमा जेठ मसान्तसम्म १ अर्ब २३ करोड, ९८ लाख १२ हजार, बहाल कर ९ करोड ३३ लाख ८४ हजार, ब्याज कर ५ करोड ९७ लाख ७७ हजार संकलन गरेको आन्तरिक राजश्व कार्यालयले जानकारी दिएको छ । त्यस्तै, मुअकर ७१ करोड, ६९ लाख १ हजार, अन्तशुल्क ८९ करोड, ५९ लाख, २२ हजार असुल गर्न राजश्व सफल भएको छ ।

चालु आ.व.को जेठसम्म
आन्तरिक राजश्व कार्यालयले आयकर, बहाल कर, ब्याज कर, मुअकर, अन्तशुल्क, स्वास्थ्य सेवा कर, शिक्षा सेवा शुल्क कर असुली गर्दै आएको छ । सरकारले आगामी बर्षदेखि लागु हुने गरी शिक्षा र स्वास्थ्य सेवा कर भने खारेज गरेको छ ।

एक महिना हजार करदाता थपिए

मध्य र सुदूरका १० जिल्ला कार्यक्षेत्र भएको आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा जेठ महिनामा मात्रै १ हजार बढी करदाता थपिएका छन् । चालु आ.व.को बैशाख मसान्तसम्म १२ हजार ४ सय ९६ थपिएकोमा जेठ महिनामा थप १ हजार ५६ नयाँ करदाता थपिएका छन् । ‘चालु आ.व.मा १३ हजार ५ सय ५२ करदाता थपिएका छन्’, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख जनकराज शर्माले भने, ‘जसमध्ये थपिएका मुअकर दाताको संख्या १ हजार ३ सय ९२ र अन्तः शुल्क दर्ता १ हजार ७६ छन् ।’

आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा कुल ९३ हजार ६ सय २५ करदाता दर्ता छन् ।
साउनबाट सुरक्षित स्टिकर

सरकारले आगामी आ.व.देखि सुर्तीजन्य पदार्थमा लगाउने अन्तशुल्कको स्टिकर परिवर्तन गर्ने भएको छ ।
आन्तरिक राजश्व विभागले अन्तशुल्क स्टिकरलाई सुरक्षित बनाउनका लागि परिवर्तन गर्न लागेको हो । ‘आगामी आ.व.देखि मादक पदार्थमा टाँसिने जस्तै सुरक्षित किसिमको स्टिकर सुर्तीजन्य पदार्थका बट्टामा पनि प्रयोग गरिने जानकारी विभागबाट प्राप्त भएको छ’, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख शर्माले भने ।
व्यवसायीलाई करकै चिन्ता

समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्जका उद्योग व्यवसायीहरुको एउटा टोलीले राजश्व सम्बद्ध अधिकारीदेखि स्थानीय सरकारका प्रतिनिधिहरुसँग करबारे अन्तरक्रिया गरेको छ ।

बिहिबार प्रजातान्त्रिक व्यवसायी संघको अगुवाईमा नेपालगन्ज उपमहानगरपालिका कार्यालय पुगेका उनीहरुले व्यवसायिक कर बारे अन्तरक्रिया गरेका हुन् । ‘स्थानीय सरकारले लगाउने करको विधि वैज्ञानिक हुनुपर्ने कुरामा हाम्रो जोड रह्यो’, छलफलमा सहभागी नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व उपमहासचिव प्रदिप गुप्ताले दैनिक नेपालगन्जसँग भने । नेपालगन्ज उपमहानगरपालिकाको आइतबार हुने नगर सभालाई लक्षित गर्दै निजी क्षेत्रका समस्याहरु लिएर आफुहरु जनप्रतिनिधि तथा राजश्व अधिकारीहरुलाई भेटघाट गरेको गुप्ताले जानकारी दिए ।
संघका पूर्व महासचिव विष्णु लामिछाने, अगुवा व्यवसायी गोपाल अधिकारी, ललित रौनियार, नेपालगन्ज वितरक संघका अध्यक्ष अमित बस्नेत लगायतको टोली अन्तरक्रियाका लागि उपमहानगरपालिका पुगेको हो । ‘अन्तरक्रियाबाट केही आशावादी भएका छौैं’, गुप्ताले भने, ‘नगर प्रमुख डा. धवल समशेर राणाले करलाई व्यवस्थित र वैज्ञानिक बनाउने कुरामा प्रतिबद्धता जनाउनु भएको छ ।’ पूँजीलाई आधार मानेर करको वर्गीकरण गर्न जोड दिएका व्यवसायीहरुले करदातालाई कस्नु भन्दा करको दायरा भन्दा बाहिर रहेकालाई समेटेर जान सुझाव दिएका थिए । एकिकृत सम्पत्ति करको तयारी गरिरहेको स्थानीय सरकारले नयाँ आर्थिक बर्षसँगै लागु गर्ने राजश्वका दर र दायराबारे आगामी नगर परिषद्बाट निर्णय लिंदैछ ।

प्रतिक्रिया

प्रतिक्रिया