सनत रेग्मी
२००५ सालमा नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना भैसकेको थियो । नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना त्यसको नेपाल अधिराज्यभर बिस्तार गर्ने योजना बनेपछि सुवर्ण समशेरले पुनः कृष्ण प्रसाद शर्मा र बालकृष्ण शर्मालाई नयाँ मुलुकको सदरमुकाम नेपालगन्जलाई वेस बनाई बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र त्यसको माथिल्लो पहाडी जिल्लाहरुमा समेत संगठन बिस्तारको जिम्मेवारी दिई नेपालगन्ज पठाइएको थियो ।
बाबु कृष्ण शर्मा नेपालगन्ज फर्केर आउँदा नेपालगन्जको मुहारै फेरिएको थियो । सदरलाइनका बजारको घर बाहिरको टिनका पालिहरु फालिएका थिए र तिनको ठाउँमा पक्की बरसाती बनाइएको थियो र सदरलाइन निकै राम्रो चट्ट परेको देखिन्थ्यो । सीताराम हलवाईको घरदेखि एकलइनी जोड्ने बजार बसिसकेको थियो । एकलइनी बजारमा हालको उद्योग व्यापार संगठनको भवनदेखि राप्ती पथसम्म एकइनी बजारमा पनि बरसाती निर्माण गरिएको थियो ।
एकलइनी बजारदेखि गगनगन्ज पीपल चौतारासम्म फाटफुट रहेका घरहरु सबै भरिइसकेका थिए । त्यही टोलमा कहाँबाट आएका कुन कामले आएका थाहा छैन, राणाजी दुई भाई पनि त्यही टोलमा बस्थे । यो त्यतिबेलासम्म पूर्ण मुस्लिम टोल भैसकेको थियो । त्यतिबेला त्यसलाई कौवा खानी टोल भनिन्थ्यो । त्यस टोलमा ती दुई भाईको आतंक थियो । तिमी राणाजीहरुको के नाम थियो कुन्नी तर सबैले तिनीहरुलाई सुट साहब र बुट साहब भन्दथे । तिनीहरु आधुनिक अंग्रेजी परिधानमा हुन्थे र उनको टाउकोमा ह्याट हुन्थे ।
तिनीहरुलाई रिस उठ्यो भने एक भाईले साला सुट गरिदिन्छु भनेर अर्को भाईले रिस उठेको जसलाई पनि वुट लगाएको क्रियाकलाप लात्तीले बजारी हाल्ने । सुट साहब र वुट साहब विशेष गरी नव युवाहरुको क्रियाकलापमा निगरानी राख्ने र सुट र बुटको आतंक गर्ने गर्दथे । बालकृष्ण शर्मा र पुनः भयंकर आश्रममा आउनासाथ सर्वज्ञमान श्रेष्ठ र शितल प्रसाद पौडेलले सुट साहेब र बुट साहबको विषयमा जानकारी दिए र उनीहरुको गतिविधि बुझ्दै जाँदा बाबुकृष्णलाई लाग्यो यी दुवै जना राणाजीहरु युवाहरुमा आतंक फैलाई उनीहरुको गतिविधि नियन्त्रण गर्न आएका हुन् र उनीहरुको बाबुकृष्णलाई संगठन बिस्तारमा बाधा पुर्याउने र युवाहरुलाई यातना दिने काम गर्न सक्छन् । यस पटक उनले गगनगन्जलाई आफ्नो आश्रय स्थली बनाउन चाहेनन् । उनी सीमावर्ती रुपैडिहा बजारमा बस्ने निर्णय गरे । उनले रुपैडिहाको असर्फीलाल भुजवाको घर घरभाडमा लिएर भयंकर आश्रममा भएका सबै पुस्तक र अन्य सामाग्री लिएर रुपैडिहा पुगे । त्यहाँ उनको निवासको नाम दसरथ चन्द्र आश्रम राखे र वा बकाइदा कार्यालय नै स्थापित गरेर संगठन बिस्तारको काम सुरु गरे । उनको प्रारम्भमा नेपाल काँग्रेसको सदस्यता अभियान चलाए र समयसमयमा त्यसको बैठक पनि गर्न थाले । रुपैडिहामा गठित नेपाल प्रजातन्त्र काँग्रेसको बैठकको अध्यक्षता त्यतिबेला डाँक व्यवस्थापनका लागि जाने गरेका ृसर्वज्ञमानले गर्ने गरेका थिए । उनी विधिवत् नेपाल प्रजातन्त्र काँग्रेसका सभापति त थिएनन् तर बोल बेलामा हुने कार्यकर्ताहरुको औपचारिक बैठकको अध्यक्षता उनले नै गर्ने गर्दथे ।
दशरथ चन्द्र आश्रमको औपचारिक बैठकहरुमा भाग लिन रुपैडिहा जाने गरेको नवयुवकहरुमा सर्वज्ञमान श्रेष्ठ, कुँवर कल्लु सिंह, गोपाल बहादुर श्रेष्ठ (लम्बु), गोपाल बहादुर कर्माचार्य (पुड्के), जनक बहादुर कर्माचार्य, गणेश बहादुर कर्माचार्य, ऐन्द्र बहादुर (गोपाल बहादुर मल्ल), विष्णु प्रसाद शर्मा, रुप सिंह सिजापति, कृष्ण प्रसाद श्रेष्ठ, कृष्ण कुमार न्यौपाने, राम शंकर शुक्ला, गोपाल बहादुर मानन्धर, रामकृष्ण मानन्धर (चिमन), खेमराज श्रेष्ठ (कृष्ण), बाबुसिंह ठाकुर, इब्राहिम हलवाई, बाबुराम रानामगर, जगन्नाथ गिरी, माया गिरी, विष्णु प्रसाद शर्मा (शेखर), प्रेमलाल तुलाधर, टोप बहादुर सिंह, जगत बहादुर सिंह (झिल्के राजा वा झल्ला राजा), खड्ग बहादुर मल्ल, बाबु सिंह ठाकुर, फकिेर मियाँ, श्याम विहारी गुप्ता, मोहन सिंह सिजापति, उत्तम राम थारु, प्रभुदयाल शर्मा, मुलायम बेहना, पाटन तमोली, मदनमान श्रेष्ठ, मदन बहादुर श्रेष्ठ, जमदार केशव राज श्रेष्ठ आदी थिए ।
यी नवयुवाहरु जोश, जाँगरलाई उपयोग गरी बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बैतडी, डोटी, अछाम, सुर्खेत, दुल्लु, दैलेख, जाजरकोट, सल्यान, जुम्ला, दाङ, कोइलाबास र प्युठानमा संगठन बिस्तारका लागि नेपाल प्रजातान्त्रिक काँग्रेसको कार्यसमिति बनाएका थिए बाबुकृष्ण शर्माले । नेपालगन्जको पहिलो राजनीतिक संगठन यसरी तयार भएको थियो ।
अध्यक्ष कुँवर कल्लु सिंह, महामन्त्री बाबुकृष्ण शर्मा, दशरथ चन्द्र आश्रम कमाण्डर संगठन मन्त्री गोपाल बहादुर श्रेष्ठ, कमाण्डर मजगौवा शाखा कैलाली, मन्त्री गोपाल बहादुर कर्माचार्य (राजापुर, दैलेख, सुर्खेत, जाजरकोट, जुम्लाको संगठन बिस्तार गर्न, कतरनिया कार्यालको इन्चार्ज) जनक बहादुर कर्माचार्य (कमाण्डर इन्चार्ज कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम संगठन बिस्तार), मन्त्री डा. प्रेमलाल तुलाधर (कमाण्डर इन्चार्ज कौयालाबासा, कार्यालय मन्त्री खड्ग बहादुर सिंह, सहायक कार्यालय मन्त्री गणेश बहादुर कर्माचार्य, बदलुराम नेपाली (गोपाल बहादुर श्रेष्ठका सहायक, उत्तमराम थारु – (गोपाल बहादुर कर्माचार्यका सहायक) ।
त्यतिबेला प्रत्यक्ष रुपमा नभएपनि गोप्य रुपमा हाट भर्न आएका नवयुवक हटारुहरुमा प्रचारप्रसार, पम्प्लेट वितरण र सम्पर्क गरेर संगठन बिस्तारमा यो युवाहरु सक्रिय भएर लागेका थिएँ । श्री महेन्द्र कुमार श्रेष्ठ, परशुराम श्रेष्ठ, शीतल प्रसाद शर्मा, कृष्ण प्रसाद श्रेष्ठ, धीरजमान श्रेष्ठ, खेमराज श्रेष्ठ (कृष्णमान श्रेष्ठ), श्याम बहादुर हमाल, पूर्णमान आजाद, विष्णु दास श्रेष्ठ (लल्लु), श्याम विहारी गुप्ता, टोप बहादुर सिंह, रुक्मिणी देवी श्रेष्ठ, कुमाल टोल बस्ने प्रेमलाल तुलाधरकी दिदी (नाम थाह भएन), बाबारदेवी शर्मा भण्डारी, मुन्नी देवी बाहुनी (शिक्षिका घर बहराइच), बालाराम शर्मा (हुलाकका कर्मचारी) अझै अरु पनि नाम होलान् ।
पछि दशरथ चन्द्र आश्रममा नै गएर गोपाल बहादुर श्रेष्ठ र कर्माचार्य बन्धुहरु त्यही बस्न पर्ने अवस्था आएपछि उहाँहरुको श्रीमतिहरु लक्ष्मी देवी कर्माचार्य, कमलादेवी कर्माचार्य, दुर्गा देवी कर्माचार्य, रत्नदेवी कर्माचार्य र रुक्मिणी देवी श्रेष्ठहरु पनि दशरथचन्द्र आश्रममा नै बस्नु भएको थियो । कमलादेवी कर्माचार्यको रुपैडिहा स्थित दशरथ चन्द आश्रममै निधन भएको थियो ।
प्रेमलाल तुलाधरकी दिदी कुमाल टोलमा घर पालुवा रक्सीको व्यापार गर्दथिन् । उनको घरमा सबैथरीका मानिसको आवतजावत थियो । कसैले उनीमाथि शंका गर्दैन थिए । संगठन सम्बन्धी कागजात र पर्चा पम्प्लेट घरमा लुकाएर राख्ने आवश्यकता परेको बखत सरोकारवालालाईइ बुझाउने गर्दथिन उनको यो सहयोग अत्यन्त महत्वपूर्ण सहयोग थियो ।
नेपालगन्जमा पहिलो राजनैतिक संगठन, नेपाल प्रजातान्त्रिक काँग्रेस भयो । पहिलो सभापति कुँवर कल्लु सिंह भए । कुँवर कल्लु सिंह प्रजातान्त्रिक काँग्रेसका केन्द्रीय सदस्य समेत थिए । उनको नेतृत्वमा गठन भएको प्रजातान्त्रिक काँग्रेसले एक बर्ष भित्र नै पश्चिम क्षेत्रको तराई र पहाडका जिल्लाहरुमा जन चेतनाको लहर उठ्यो र धमाधम प्रजातान्त्रिक काँग्रेसको गोप्य संगठनहरु खुल्न थाले ।
२००६ सालमा नेपाली काँग्रेस र प्रजातान्त्रिक काँग्रेस एक भएपछि पनि यही संगठन नेपाली काँग्रेसको रुपमा काम गर्न थाल्यो र कुँवर कल्लु सिंह नै नेपाली काँग्रेसको सभापति भए । कुँवर कल्लु सिंह पुनः नेपाली काँग्रेसको केन्द्रीय समितिमा पनि मनोनित भए । अब नेपालगन्जका अधिकांस जागरुक युवकहरु नेपाली काँग्रेसका कार्यकर्ता भै सकेका थिए । केही मुस्लिम युवकहरु पनि नेपाली काँग्रेस तर्फ आकर्षित हुन लागेका थिए । गणेशपुरका सिजापति परिवार, गगनगन्जका अग्निमान श्रेष्ठको परिवार, घरबारीटोलका कर्माचार्य परिवार लगायत थुप्रै युवाहरु नेपाली काँग्रेसको प्रजातान्त्रिक आन्दोलनमा होमिए । गगनगन्जमा अग्मिान श्रेष्ठका भाईछोराका अतिरिक्त ज्ञानराज शर्मा, राधाकृष्ण शर्मा (भुरेबाजे), शीतल प्रसाद पौडेल, गोपाल मानन्धर, रामकष्ण मानन्धरहरु सक्रिय भई लागेका थिए । घरबारीटोलमा गोपाल बहादुर श्रेष्ठ, उनका भाई बाबुकाजी श्रेष्ठ, श्याम बहादुर हमाल, राम श्रेष्ठ, बासुदेव पौडेलका छोराहरु (वयस्क भएका मात्र) उनकी बहिनी बाबादेवीहरु सक्रिय भएर लागेका थिए । पार्टीको संगठनात्मक काममा लागेका खेमराज श्रेष्ठ (कृष्णमान श्रेष्ठ) र मोहनसिंह सिजापति गिरफ्तार भई जेल समेत परेका थिए ।
२००६ सालको अन्तिमतिर नेपाली काँग्रेसका महासचिव महेन्द्र विक्रम शाह र मुक्ति सेनाका कमाण्डर पूर्ण सिंह ठाकुर र डिबी राई रुपैडिहा आई कार्यकर्ता भेला गराएका थिए । प्रकाश समशेर राणा बडाहाकिम हुँदा २००५ सालको अन्त्यतिर उनले थाहा पाए बाँके हुलाकका पोष्टमाष्टर सर्वज्ञमान श्रेष्ठ त नेपालगन्ज काँग्रेसका वरिष्ठ नेता समेत हुन् । उनीलाई गिरफ्तार गरेर अनिश्चितकालका लागि जेल पठाइयो ।
पार्टी संगठनका क्रममा मुलायम बेहना, लच्छी अहिर, गुरु दयाल यादव, छोटेलाल श्रीवास्तव सँगै बाँकेको पूर्वी मागको संगठनमा गएका लम्बु गोपाल, नेपालगन्ज बजार फर्कनासाथ गिरफ्तार गरिए । उनको साथमा नेपालगन्जमा ठूलो प्रदर्शन गरेको साँझ नै बाबुकृष्ण शर्मा, रामकृष्ण मानन्धर (चिम्मन), डा. प्रेमलाल तुलाधर, बाबुराम रानामगर, जगन्नाथ गिरी २००७ साल असोज १८ गते गिरफ्तार गरी जेल पठाइए । यिनीहरु सबै २००७ साल फागुन ७ गतेपछि मात्र रिहा भएका थिए ।
यिनीहरुको गिरफ्तारीले नेपाली काँग्रेसको स्वतन्त्रता आन्दोलनमा कुनै शिथिलता आएको थिएन । दशरथ चन्द्र आश्रमका क्रान्तिवीरहरुले मुक्ति सेनाको सहयोगमा जनक्रान्तिलाई तिव्र बनाई पश्चिम क्षेत्रका तराई र पहाडका जिल्लाहरु कब्जा गरेका थिएँ । नेपालको दुर्भाग्य २००७ सालको जनक्रान्ति भारत सरकार र राजा त्रिभुवनको आन्तरिक सहमतिमा नेपाली काँग्रेसका नेताहरुको इच्छा विपरित दिल्ली सम्झौताका नाममा स्थगित भयो । २००७ सालको क्रान्ति सफल हुन सकेन ।