समाचारदाता
दैनिक नेपालगन्ज
कामना सेवा विकास बैंकले आफ्नो ५५औं शाखा नेपालगन्जमा स्थापना गरी बुधबार कारोबार शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक विमल राज खनालले औपचारिक कार्यक्रम बीच नेपालगन्ज शाखा शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा राष्ट्र बंैकका निर्देशक खनालले नेपालगन्जमा मात्र ५५ वटा बैंक तथा वित्तिय संस्था सञ्चालनमा आएको जानकारी दिंदै उत्पादनको क्षेत्रमा लगानी गर्न कामनाको व्यवस्थापनलाई सुझाव दिए । ‘निर्यात गर्न नसकेपनि आयात न्यूनीकरण गर्न कृषि क्षेत्रमा लगानी बढाउनुस्’, निर्देशक खनालले भने, ‘त्यसका लागि तपाईहरु गम्भीर बन्नुस् ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काप्mलेले अधिकृत पूँजी ३ अर्ब रहेकोमा २ अर्ब ५० करोड पुर्याइसकिएको जानकारी दिंदै झण्डै साढे १३ अर्ब लगानी गरिसकिएको जानकारी दिए । प्रमुख कार्यकारी काप्mलेले १४ अर्ब ५० करोड निक्षेप संकलन गर्न सफल कामनाले १३ अर्ब ४० करोड कर्जाका रुपमा लगानी गरिसकेको बताए । ‘यसै आर्थिक बर्षमा ५८ वटा शाखा सञ्जाल पुर्याइनेछ’, ५५औं शाखा नेपालगन्जमा स्थापना गरिएको जानकारी दिंदै प्रमुख कार्यकारी काफ्लेले बाँकेको ग्रामीण क्षेत्र बैजनाथ गाउँपालिकाको जि गाउँमा शाखा स्थापना गरी गत महिनादेखि नै कारोबार सुरु गरिसकिएको बताए ।
‘औद्योगिक एवं व्यापारिक विकास, पर्यटन र कृषिसँगै समग्र समाजको आर्थिक उत्थानमा हामी लगानी गर्नेछौं’, प्रमुख कार्यकारी अधिकृत काफ्लेले शाखा उद्घाटन कार्यक्रममा भने ।
बैंकका सञ्चालक भीम प्रसाद तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा, पूर्व सांसद देवराज भार, कृषि विकास बैंक नेपालगन्जका क्षेत्रीय प्रबन्धक राम चन्द्र आचार्य, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे, बहुउद्देश्यीय सहकारी संस्था संघका अध्यक्ष भुपेन्द्र अधिकारी, कामनाका नायब महाप्रबन्धक हरि प्रसाद लम्साल लगायतले बोलेका थिए । शाखा प्रबन्धक ज्योति शर्माका अनुसार, शाखा उद्घाटनसँगै विभिन्न उद्योगी, व्यवसायीहरुले खाता खोली बुधबारदेखि नै कारोबार शुभारम्भ भएको छ ।