नेपालगन्ज विमानस्थलको माष्टरप्लान बनाउन थालिएको छ । २०३७ सालमा बनेको ट्रमिनल बिल्डिङ्ग हो । यो पुरानो भैसकेको छ । यसको अपग्रेड गर्ने, क्षमता अभिवृद्धि गर्ने लक्ष्य हो । पछिल्लो समय एयर ट्राफिक बढिरहेकाले ट्रमिनल सानो भएको महसुस गरेका छौं । यही रुपले यात्रु बढ्दै जाने हो हालको ट्रमिनल बिल्डिङ्गले धान्ने अवस्था हुँदैन । त्यसैले एउटा माष्टर प्लान पनि सुरु गरिसकेका छौं । माष्टर प्लान बनाउन अध्ययन टिम बनेको छ । उहाँहरुको अध्ययन जारी छ ।
राजनीतिक दल, स्थानीय तह, सांसदहरुले यहाँबाट अन्तर्राष्ट्रिय स्तरको उडान सुरु गर्नुपर्यो भन्ने डिमाण्ड आइरहेको छ । त्यसको लागि हामीले एयरपोर्टको माष्टर प्लानलाई अगाडी बढाइएको हो । अहिले १५ सय ५ मिटरको रनवे छ । अन्तर्राष्ट्रिय उडान हुने हो भने २२ सय देखि २५ सय मिटर सम्मको रनवे आवश्यक पर्छ । रनवे लेन कतातिरबाट बढाउन सकिन्छ, टर्मिनल कहाँ निर उपयुक्त हुन्छ, ट्रमिनलको क्यापासिटी कत्रो चाहिन्छ ? भन्ने हिसाबले माष्टर प्लानमा सुझाव आउँछ । हामीले फेजवाइज हिसाबले अगाडि बढौं भन्दै आएका छौं । त्यो प्रभावकारी पनि हुन्छ ।
नेपालगन्जबाट अन्तर्राष्टिय स्तरको उडान सुरु भएपछि हामीलाई कुन रुपमा अर्को देशबाट आउने टुरिष्टहरुको ग्रोथ, नेपालगन्ज एयरपोर्टको प्रयोग गर्ने ट्रेन्ड कस्तो हुन्छ भन्ने थाहा हुन्छ । त्यसले नेपालगन्ज एयरपोर्टलाई अन्तर्राष्ट्रिय बनाउन एउटा आधार तयार गर्छ । अहिले पार्किङ्ग पनि समस्या भैरहेको छ । माष्टर प्लानमा अहिलेको टर्मिनलले कति धान्छ र त्यसपछि कुन रुपमा जानुपर्छ भन्ने माष्टर प्लानमा आउनेछ ।
घरेलु विमानस्थलको हिसाबले नेपालगन्ज विमानस्थल गतबर्ष सम्म हामी तेस्रो स्थानमा थियौं । यो बर्ष यसरी एयर ट्राफिक धेरै बढ्यो । २०१६ को तुलनामा २०१७ मा ५९ प्रतिशत सम्म यात्रुहरु बढेका छन् । आय पनि त्यसैअनुसार फड्को मारेको छ । नेपालगन्जमा हुने उडान संख्या वृद्धि र नयाँ कम्पनीहरुले पनि नेपालगन्ज उडान सुरु गर्नुले पनि त्यो संख्या वृद्धि भएको हो । मानसरोवर उडानले पनि संख्या बढेको हो । २०१८ मा पनि वृद्धि हुने क्रम छ । तर, २०१७ जस्तो चाही नहोला ।
घरेलु विमानस्थलमा एयर ट्राफिकको हिसाब हामी दोस्रो हुँदैछौं । क्षमता, क्षेत्रफल, भौतिक हिसाबले हामी ठूलो छौं ।
नेपालगन्जबासी, एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय स्तरको उडान होस् भन्ने चाहना छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि पनि नेपालगन्जलाई पनि अन्तर्राष्ट्रिय उडानका लागि रुट मागिरहेको स्थिति भएपनि भारतको तर्फबाट थप अध्ययनको कुरा उठाइँदै आएको हो । भर्खरै भारतसँग भएको वार्ताका क्रममा उपलब्धी हात लागेको छ ।
भारतसँग वार्ताकै प्रतिफल स्वरुप विराटनगर र जनकपुर रुट दुई तर्फ गर्ने सहमति भएको छ । महेन्द्रनगर भएर निस्कने रुट टु वे बनाइएको छ । तर, अहिले १५ देखि २४ हजार फिटसम्म मात्रैको लेबल सुरक्षाको मूल्यांकन पछि दिन सहमति भएको छ । सुरक्षा मूल्यांकन भएपछि सेप्टेम्बरमा यो लागु हुन्छ ।
२४ हजार फिट भनेको अहिले नेपालमा भैरहेका जहाजको लागि नै हो । ठूलो जहाजहरुका लागि पनि हामीले रुट मागिरहेका छौं । लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ त्यसका लागि ठूलो उचाईको अनुमति आवश्यक भएकाले त्यो पनि माग गरेका छौं ।
नेपालगन्ज रुट दिन भारतीय पक्ष सकारात्मक भएको मैले सुनेको छु । १५ देखि २४ हजार फिटको अनुमति भएपछि नेपालगन्जका लागि गाह्रो हुँदैन । ठूलो जहाजका लागि भने फेरि हाइयर लेभलको अनुमति आवश्यक छ । सुरक्षा मूल्यांकन भएपछि अन्तर्राष्ट्रिय संगठनमा रुट पार्नका लागि पठाउने छौं । त्यसमा धेरै समय लाग्दैन । मुख्य समस्या रुट इजाजतको हो त्यो भैसकेको छ ।
आगामी आर्थिक बर्षका लागि नागरिक उड्ययन प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको छ । अहिले ठूलो ट्रमिनल बनाउँदैनौं । अहिलेको लागि आवश्यकता बमोजिमको ट्रमिनल हल बनाउने र पछि माष्टर प्लान बनेपछि थप निर्माण गर्ने योजना छ ।
नेपालगन्जका बासीका लागि अन्तर्राष्ट्रिय स्तरको उडान सुरु हुनु, क्षेत्रीय स्तरको विमानस्थल तर्फ अगाडि बढ्नु खुशीको कुरा हो । यसले यहाँको व्यवसायमा सकारात्मक प्रभाव पर्नेछ ।
नेपालगन्ज एयरपोर्टमा ठूलो खालको जहाज अवतरणका लागि भने हालको अवस्थामा पुग्दैछ । हाल भएकै जहाजका लागि भने समस्या हुँदैन । नेपालगन्जको एयरपोर्ट पश्चिम रहेको जग्गा भविष्यका लागि योजना बनाउनका लागि राखिएको हो । त्यसलाई पछि कुनै प्रयोजनमा प्रयोग गर्न सकिनेछ । (नेपालगन्ज नागरिक उडड्यन कार्यालयका प्रमुख तिवारी सँग कुराकानीमा आधारित)