समाचारदाता
दैनिक नेपालगन्ज
‘बर्षौ भयो भन्दै आएको तर सुनुवाई हुँदैन’, नरैनापुर गाउँपालिका एक व्यक्ति सहरी विकास मन्त्री मो. इस्तियाक राईसँग भन्दै थिए, ‘न विद्युत, न बाटो न स्वास्थ्य सेवा, मन्त्रीज्यू हाम्रो ठाउँलाई हेरिदिनु पर्यो ?’ नरैनापुरकै अबु हुसेनका खाँले बिरामी हुँदा तत्काल उपचारको नरहेको अवस्था जाहेर गर्दै भने, ‘गाउँमा उपचार नपाएर मर्नु पर्ने अवस्था छ ।’ ‘न बाटो, न एम्बुलेन्स कसरी अस्पतालसम्म पुग्ने ?’, मन्त्री सामु खाँको प्रश्न थियो ।
उनकै भनाइलाई समर्थन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भने, ‘हाम्रो गाउँपालिका सहरबाट काटिएको जस्तो अवस्था छ ।’ जिल्ला समन्वय समितिको आयोजनामा आइतबार नेपालगन्जमा आयोजित जनप्रतिनिधि र कर्मचारी बीचको अन्तरक्रिया कार्यक्रममा सहरी विकास मन्त्री मो. इस्तियाक राई सामु नरैनापुरका समस्या सुनाउँदै अध्यक्ष शाहले नरैनापुरबासी सेवाका लागि भारत पस्नु पर्ने बाध्यता अन्त्यका लागि सहयोग गर्न आग्रह गरे ।
‘कहिलेसम्म नरैनापुरबासी आफ्नै भुभागमा आउन भारतको बाटो प्रयोग गर्ने हो ?’, अध्यक्ष शाहले भने, ‘औषधी गर्न होस् वा उपभोग्य सामान आफ्नै देशको बजारसम्म पहुँच पुग्न सकेको छैन ।’ उनले हुलाकी राजमार्ग निर्माणका १ किलोमिटरमा रहेको विवादका कारण काम अगाडि बढ्न नसकेको उल्लेख गर्दै उक्त समस्या समाधानका लागि मन्त्री राईसँग आग्रह गरे । ‘स्तरीय सडक नहुँदासम्म हामी सहरसँग काटिएका छौं’, अध्यक्ष शाहले भने, ‘ठोस योजना र भएका योजनाको प्रभावकारी रुपमा कार्यान्वयन गरी पालिकालाई सहर सँग जोडौं ।’ बर्षौदेखि राप्तीपारीको विद्युतीकरण अवरुद्ध रहेको अध्यक्ष शाहले बताए । उनले भने, ‘अँध्यारो नियति कहिले बदलिने हो ?’
हरेक बर्षात्मा राप्तीपारीको क्षेत्र डुबानमा पर्दै आएको छ । ‘यसबर्ष पनि हाम्रा वडा डुब्ने छ’, अध्यक्ष शाहले भारतले बनाएको बाँध जस्तो सडकले नरैनापुर गाउँपालिकाका १ देखि ६ नं. वडालाई जलाम्मे बनाउने निश्चित रहेको बताउँदै भने, ‘भारतले बनाएको सडकमा पानीको निकास नहुँदा बर्षात्को पानी हाम्रै भुभागमा तालिने छ ।’ प्राथमिक स्वास्थ्य केन्द्रको भवन चाँडै निर्माण पहल गरिदिन अध्यक्ष शाहले मन्त्रीसँग अनुरोध गरे ।