बहराइचको चामलमा कोहलपुरको ब्राण्ड, ८४ हजार किलो चामल बरामद

उपभोक्ता झुक्याउने नयाँ खेल, ८४ हजार केजी चामल बरामद, अनुसन्धानमै अलमल
दैनिक नेपालगन्ज/विनय दीक्षित

नेपाली क्षेत्रबाट उत्पादित चामल भएको देखिने नेपाली ब्राण्डको प्याकेजिङ भित्र भारतीय चामल बरामद भएपछि भन्सार कार्यालय नेपालगन्ज आफै अनुसन्धानको सकसमा फसेको छ ।
भारतको बहराइचबाट उत्पादित चामल नेपाली बोरामा बरामद भएपछि सशस्त्र प्रहरी र नेपालगन्ज भन्सार कर्मचारीले सो कुन किसिमको गैरकानूनी कार्य भएको हो भन्ने ठम्याउन थालेका छन् । ‘आयात भएको चामलको राजश्व नतिरेको भए भन्सार छली देखिन्थ्यो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले भने, ‘राजश्व तिरेर भित्र्याएको चामल ब्राण्डको विवादमा बरामद भएको हो ।’
नेपालमा उत्पादित भएको उल्लेखित बोरामा भारतबाट आयात भएको चामल सशस्त्र प्रहरी बल, भन्सार तथा राजश्व सुरक्षा गुल्मले नेपालगन्ज भन्सार कार्यालय नजिकबाट कोहलपुर तर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरेको हो ।
भारतबाट आयात गरी भन्सार शुल्क बुझाई नेपालमा उत्पादित लेखिएको चामल भन्सार हाताबाट बाहिर जाने क्रममा विशेष सूचनाको आधारमा चेकजाँच गर्दा सशस्त्र प्रहरी बलका भन्सार सुरक्षा गुल्मका प्रमुख डीएसपी सन्तोष विक्रम शाहको नेतृत्वको टोलीले बरामद गरेको हो । उपकार र बजरंगी ब्राण्डका नेपाली उत्पादन लेखिएको ४ ट्रकमा लोड गरिएको ८४ हजार किलो चामल बुधबार राती बरामद गरिएको डीएसपी शाहले बताए । सशस्त्र प्रहरीले बरामद गरेको चामल र ट्रक आवश्यक कारवाहीका लागि बिहिबार नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।
ना ६ ख ५२०७, ना ७ ख १२४४, ना ६ ख ५४०६ र ना ७ ख १६१३ मा ८४ हजार केजी जिरा मसिनो चामल आयात गरिएको हो । प्रत्येक ट्रकमा २१ हजार केजी चामल लोड गरिएको र चामलको भन्सार राजस्व १ लाख ६८ हजार ५ सय २३ को दरले ४ वटा गाडीको ६ लाख ७४ हजार ९ सय १२ रुपैयाँ बुझाइएको छ । नेपालगन्ज भन्सार कार्यालयले सशस्त्र प्रहरी बलले पेश गरेको रिपोर्टको आधारमा भन्सार विभागलाई पत्र पठाउने तथा विभागको निर्देशन अनुसार नै कारवाही अघि बढाउने जनाएको छ ।
‘खासमा यो कस्तो प्रकारको गैरकानूनी कार्य हो भन्ने नै भन्सार ऐन भित्र यकिन हुन नसकेकोले भन्सार विभागबाट राय माग गरिएको छ’, दैनिक नेपालगन्ज संग भन्सार प्रमुख आचार्यले भने, ‘यस्तो ब्राण्ड परिवर्तन गरी सिमापारिबाट आयात गर्दा भन्सार ऐनले कस्तो कारवाही गर्ने भन्ने प्रष्ट देखिएन ।’
‘यो नयाँ किसिमको समस्या हो’, आचार्य भन्छन्, ‘सिमापारि नेपाली ब्राण्डको प्याकेजिङ गरि भारतीय उत्पाद नेपाल भित्र्याएको देखिएको सो बारे कारबाही सम्बन्धी राय विभागबाट माग गरिएको हो ।’ बरामद भएको जिरा मसिनो चामल भन्सार कार्यालयको मूल्यांकन अनुसार, ३१ रुपैयाँप्रति केजीको बिल अनुसार भन्सार राजस्व बुझाइएको छ । खुला बजारमा सोही चामल थोक मूल्य ६२ रुपैयाँ हुने गरेको भन्सारको दाबी छ । ‘अण्डर बिलिङ्ग गरी भन्सार छलि भएकोसम्म देखियो’, कर्मचारीले भने, ‘सोही अनुसार आन्तरिक राजस्व कार्यालयमा आम्दानी कर बुझाएको छ वा छैन भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ ।’

भारत बहराइच स्थित श्री रामेश्वर लाल फुड प्रालिको नामबाट खरिद बिल पेश भएको र कोहलपुर ५ स्थित शिव शिखर एग्रो प्रालिले आयात गरेको देखिएको छ । कोहलपुरबाट शिखरदीप एग्रो प्रालि भक्तपुरका प्रोप्राइटर केदार नाथ शर्माले मगाएको खुलेको अनुसन्धान अधिकारीले बताएका छन् ।
कोहलपुर ५ स्थित शिव शिखर एग्रो प्रालिले उत्पादन र प्रशोधन गरेको हिसाबले बिल तयार गरेर भन्सार ठगी गरि अवैध तरिकाले चामल भित्रिन लागेको हो । नेपालगन्ज भन्सारसम्म भारतीय सवारी साधनमा भित्रिएको चामल भन्सारका कुन जाँचकीको निगरानीमा नेपाली ट्रकमा लोड भएको र कुन भन्सार एजेन्टले फारम लगायत कानून प्रक्रिया पूरा गरेको सन्दर्भमा भन्सारले खुलाएको छैन ।
‘नयाँ किसिमको गतिविधि भएकोले यसमा थप अनुसन्धान भैरहेको छ’, भन्सार प्रमुख आचार्यले भने, ‘भन्सार विभागको राय प्राप्त हुने बित्तिकै विभिन्न पक्षबारे जानकारी गराइन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया