सनत रेग्मी
नेपालगन्ज पुरानो सहर भएकाले यहाँ नागरिक चेतना पनि हुन पर्ने हो । तर, नेपाल राज्यमा जनचेतनाको मापन हेर्ने हो भने पूर्वका जिल्लाहरु भन्दा धेरै पिछडिएको ठाउँ हो पश्चिम । राणाहरुले समेत पश्चिम तर्फ कुनै ध्यान दिएका थिएनन् । हुनत प.क.ज. हरुको निगरानीमा थियो । पश्चिम तर उनको दृष्टिमा बढीमा सल्यान गौडा सम्म मात्र थियो । राणा परिवारको पारिवारिक सम्बन्धका आधारमा डोटी अछामा जिल्लारुमा केही शिक्षित परिवार थिए होलान भने तत्कालीन पश्चिमी जिल्लाहरु जनचेतना शुन्य नै थिए । पाल्पा, रिडी, फिदिम तिर संस्कृत शिक्षाको प्रभाव र सि क्लास राणा भएकाले धपाइएका रुद्र समशेर भित्रको राणा रिजाइय प्रतिको सुसुप्त विद्रोहले पाल्पा, कपिलवस्तु तिर जनचेतनाको झिल्को देखा पर्दथ्यो ।
नेपालगन्ज भने त्यति बेला पनि सुपुप्त अवस्थामा नै थियो । नेपालगन्ज निवासीहरु राणाहरुको कृपा दृष्टि पाउँ र आफ्नो जिमिदारी जायजेथा र व्यापारमा वृद्धि गरौं भन्नेमा नै मग्न थिए । पूर्वमा एउटा कृष्ण प्रसाद कोइरालाले नव जागरण ल्याउन सफल भए । शिक्षा, स्वास्थ्य, संचार, उद्योग, व्यापारमा आफु स्वयं लागि परेर अरुलाई समेत अभिप्रेरित गर्ने, नव जागरणका प्रतिक थिए उनी । पश्चिममा यस्तो कुनै व्यक्तित्व निस्किएन । त्यसकारण नेपालगन्ज भन्दा धेरैपछि स्थापित पूर्वका जिल्लाहरुमा जागृति फैलिएको थियो । तर, नेपालगन्ज राणा प्रभुहरुलाई रिझाउनमै व्यस्त थियो ।
भारतको लखनउमा पढेका बौद्धिक व्यक्तित्व कृष्ण गोपाल टण्डन पनि श्री ३ सरकारको निगाह प्राप्त गरी आफ्नो परिवारलाई स्थापित गर्नमा नै आफ्नो योग्यता खर्च गरिरहेका थिए । यस्तो अन्धकार मनस्थिति थियो, नेपालगन्जको नागरिक चेतनाको । २००१ सालतिरै भारतबाट उच्च शिक्षा प्राप्त अर्का नवयुवक श्री योगेश्वर मिश्र पनि राणा सरकारका अडिटर र बडाहाकिम पाउने दौड मै थिए ।
यस्तो बेलामा तौलिहवाका वामदेव शर्मा आत्रेयको शुभ विवाह नेपालगन्जका बासुदेव शर्माकी बहिनीसँग सुसम्पन्न भयो र उनले नेपालगन्ज आएका बखत आफ्ना शालाका मार्फत नेपालगन्जका नवयुवकहरुलाई नागरिक चेतना सांस्कृतिक चेतनाको दीक्षा दिए । अनि मात्र यहाँका नवयुवकहरु चल्मलाउन थाले । उनकै प्रेरणाले २००३ सालमा पं. योगेश्वर मिश्र, मुलचन्द आजाद, महावीर प्रसाद गुप्त, पूर्व उपाध्याय, बम बहादुर थापा, भगवति प्रसाद मिश्र, श्रीधर उपाध्याय र बासुदेव शर्मा भएर नेपालगन्जमा प्रेम पुस्तकालय खोले । यही प्रेम पुस्तकालय २०२४ सालमा महेन्द्र पुस्तकालयको नाममा रुपान्तरित भयो । यस प्रेम पुस्तकालले घरबारीटोल गगनगन्जका युवाहरु जनचेतना फैलाउने काम गर्न थाल्यो । भारतीय पत्रपत्रिका र हिन्दीका जागृतिमूलक पुस्तकहरुले यहाँका नव युवाहरुमा राणा शासनका कृतिहरु, सामान्ती जिमिदार प्रथाका शोषणहरु बुझ्ने प्रेरणा दियो । तर, धेरैजसो युवाहरु जमिन्दार पटवारिका सन्तान भएकाले । उनीहरुको समझले बाटो पहिल्याउन सकेको थिएन । पुस्तकालय बाहेक अन्य कुनै संगठनको बिस्तार हुन सकेको थिएन ।
२००३ सालमा पश्चिम नेपालगन्जको परिस्थिति बुझ्न भट्टराई नेपालगन्ज आउनु भएको थियो । गगनगन्जमा उहाँका संघाती चिरञ्जीवि रिमाल बस्दथे । त्यसै हुनाले उहाँ त्यही पुग्नुभयो । गगनगन्जमा एकराज चिरञ्जीविको घरमा बसेर उहाँ अर्को दिन रुपैडिहा फर्कनु भयो । रुपैडिहामा उहाँसँग बाँके हुलाकका पोष्ट माष्टर सर्वज्ञमान श्रेष्ठसँग भेट भयो । त्यस भेटमा उहाँले सर्वज्ञमान श्रेष्ठलाई राष्ट्रिय काँग्रेस, उसका गतिविधि र राजाको संवैधानिक राजतन्त्र अन्तरगत प्रजातान्त्रिक आन्दोलनका रुपरेखा आदीका विषयमा बताउनु भयो । र, यस कार्यमा मद्दत गर्न अनुरोध गर्नुभयो । कृष्णप्रसाद भट्टराईज्यूको त्यस भेटले सर्वज्ञमानजीलाई साह्रै प्रभावित पार्यो र उहाँले नेपालगन्जका प्रजातान्त्रिक आन्दोलनलाई सघाउने अठोट लिनुभयो ।
पं. योगेश्वर मिश्र राणाहरुको अडिटरको जागिर छोडेर घर बसेको र स्थानीय नारायण हाइस्कुलमा पढाउनु गर्नुहुन्थ्यो । उहाँ प्रेम पुस्तकालयका माध्यमबाट युवाहरुलाई सामाजिक क्षेत्रमा सक्रिय हुन अभिप्रेरित गर्दै हुनुहुन्थ्यो । सन् १९४५ मा सुरु भएको विश्वयुद्ध समाप्त भैसकेको थियो र यस विश्व युद्धले कृष्ण गोपाल टण्डनका पिता राजनारायण टण्डन, केदारनाथ टण्डनका पिता सरजु प्रसाद टण्डन पनि ठूला व्यापारीहरुका रुपमा स्थापित भैसकेका थिए । नेपालगन्जका तत्कालीन गण्यमाण्य व्यक्तिहरुमा रामगोपाल टण्डन, कृष्ण गोपाल टण्डन, केदारनाथ टण्डन, ओमकार मल खेतान, काशी प्र. लोनिया, रामप्रसाद ढेवा, सरकार बक्स चौधरी, कप्तान फत्तेजंग शाह, शिव प्रसाद वाजपेयी, चन्डिका प्रसाद चौबे, बलदेव प्रसाद हलवाई र जेलर भवनेश्वर प्रसाद खनाल, चुडामणि रुपाखेती, सु. मुक्तिनाथ अर्याल आदी थिए ।
राणा बडा हाकिमलाई केही विशेष गर्न पर्यो भने भद्रभलादमीका रुपमा यिनीहरुलाई बोलाइन्थ्यो । त्यतिबेला महेन्द्र पुस्तकालयले नेपालगन्जका तमाम युवाहरुलाई आकर्षित गरेको थियो । यी युवाहरुलाई नेपालगन्जका तमाम युवाहरुलाई आकर्षित गरेको थियो । यी युवाहरुमा थिए, मुलचन्द आजाद, महावीर प्रसाद गुप्त, पन्नालाल गुप्त, लालुद्दिन सिद्दिकी, देविसिंह सिजापति, यम इसहाक, खड्ग बहादुर सिंह (जले गोपाल), गोपाल बहादुर श्रेष्ठ, गोपाल बहादुर कर्माचार्य, गणेश बहादुर कर्माचार्य, जनक बहादुर कर्माचार्य, श्याम विहारी गुप्ता, इन्द्रमणि मानव, वि.विकास (विष्णुदास श्रेष्ठ ‘लल्लु’ ), ज्ञानराज शर्मा, राधाकृष्ण शर्मा, पूर्णमान आजाद, धीरजमान श्रेष्ठ, शीतल प्रसाद पौडेल, खेमराज श्रेष्ठ (कृष्ण) आदी मैले झट्ट सम्झेका नामहरु हुन् यी ।
यी नव युवकहरु शिक्षा लिने क्रममा थिए र यिनीहरु महेन्द्र पुस्तकालयको पुस्तक र पत्रपत्रिकाबाट सचेत र चिन्तनशील हुँदै थिए । यिनीहरुमा राणा शासन प्रति धेरै प्रश्नरु उठ्न थालेका थिए । २००५ सालमा प्रजातान्त्रिक काँग्रेस गठन भएपछि त्यस संस्थाका अत्यन्त कुशल संगठनकर्ता कृष्ण प्रसाद शर्मा उर्फ बाबु कृष्ण शर्मालाई सुवर्ण समशेरजीले पश्चिम नेपालमा संगठन बिस्तार गर्न पठाए ।
बाबुकृष्ण शर्मा, धनेश्वर शर्माका नाममा मुगा व्यापारी भएर नेपालगन्ज आए । नेपालगन्जमा मुंगा व्यापार गर्ने युवक थिए, शितल प्रसाद पौडेलकै प्रयासबाट तेज बहादुर कुँवरको घर भाडामा लिएर उनले त्यहाँ भूमिगत ‘भयंकर आश्रम’ स्थापना गरे । यस आश्रममा भारतीय क्रान्तिका पुस्तक र भारतीय पत्रपत्रिकाहरु रहन्थे । नव युवाहरुलाई आकर्षित गर्न केही रोमान्टिक उपन्यासहरु रहन्थे रे । सर्वज्ञमान श्रेष्ठजीको भनाइ अनुसार कुसवाहा कान्तको उपन्यास ‘लालरेखा’ बाट प्रभावित भएर त्यसको नाम भयंकर आश्रम राखिएको रे ।
भयंकर आश्रम गगनगन्जमा भएकाले गगनगन्जका युवाहरु त्यहाँ जाने नै भए । बिस्तारै घरबारीटोल र गडेरियनपूर्वाका युवाहरु पनि त्यहाँ आउन थाले । त्यहाँ नेपाल प्रजातान्त्रिक काँग्रेसको संगठन बनाउने चर्चा चल्न थाल्यो । बिस्तारै प्रजातान्त्रिक काँग्रेसको साधारण सदस्यहरु बनाइए । त्यसबेलामा सर्वज्ञमान श्रेष्ठ, बाँके हुलाकको पोष्ट माष्टरको पोष्ट माष्टर नै थिए र सबैले उहाँलाई माष्टर साहेब नै भन्दथे ।
गगनगन्जका सर्वज्ञमान श्रेष्ठको दाजुभाईहरु, रामकृष्ण मानन्धर, गोपाल मानन्धर, विष्णुदास श्रेष्ठ ‘लल्लु’ शीतल प्रसाद पौडेल, राधाकृष्ण शर्मा, ज्ञानराज शर्माहरु त्यहाँ नियमित जान्थे । सुवर्णजीको जमिन्दारीको रेखदेख गर्ने भएकाले सुवर्णजीले पठाएको मानिसलाई सघाउनु पर्छ भनेर । गोपाल बहादुर श्रेष्ठ, कर्माचार्य बन्धुहरुलाई लिएर आइरहन्थे । गडेरियनपूर्वा तिरबाट, बभ्रुवाहन सिंह, परशुराम श्रेष्ठ, गणेशपुरबाट देवी सिंह, सिजापति र उनका दाजुभाईहरु पनि यदाकदा आउँथे तेज बहादुरको घरमा मुगा व्यापारी धनेश्वरको डेरामा धेरैजसो युवाहरुको जमघट हुने गरेको कुरा त्यसै टोलका एकजना पटवारीबाट थाहा पाएपछि राणाहरुको निगरानी भयंकर आश्रममाथि बढ्न थाल्यो । भयंकर आश्रममा निगरानी बढेपछि बाबुकृष्ण शर्मा त्यहाँबाट पलायन गर्ने अठोटमा पुगे । यहाँका साथीहरुसँग सरसल्लाह गरेर उनी कलकत्ता फर्किए । बाबुकृष्ण शर्मा र सर्वज्ञमान श्रेष्ठको बीचमा गहिरो मित्रता थियो । आस्था, विश्वास र मित्रताको यो विशेष सम्बन्धका विषयमा सर्वज्ञमान श्रेष्ठजीले सँग भन्नुभएको थियो ।
‘म हुलाकमा हाकिम हुँदा धनेश्वर शर्माका नाममा आएको एउटा मोटो पुलिन्दा कर्मचारीहरुले मेरो टेबुलमा राखिदिए । त्यतिबेला त्यतिमोटो पुलिन्दाहरु हुलाकमा आउँदैन थिए । मेरो काम, कर्तव्यमा त्यस्ता पुलिन्दाहरु हेरी खोली जाँच गरेर मात्र सम्बन्धित व्यक्ति कहाँ पठाउन लगाउनु पथ्र्यो । मैले धनेश्वर शर्माको पुलिन्दा खोले । त्यसमा त प्रजातन्त्र कंग्रेसको राणा शासनको विरुद्धमा लेखेको पर्चाहरु रहेछ । मैले २००३ सालमा कृष्ण प्रसाद भट्टराईले भनेको सम्झिए, ‘सर्वज्ञमानजी तपाई पोष्टमाष्टर हुनुहुन्छ । हाम्रो धेरै गोप्य सामाग्री तपाई मार्फत नेपालगन्ज भित्र्याउन सक्छौं । कहिले त्यस्तो पर्यो भने हामीलाई सघाउनु होला । मैले झट्टपट्ट त्यो पुलिन्दा बन्द गरे र कर्मचारीलाई बोलाएर भने यो पुलिन्दा हाम्रो टोलको रहेछ म आफै पुर्याइदिन्छु । त्यो पुलिन्दा मैले लगेर उनलाई दिएँ । पुलिन्दाको सामान देखेर उनले मलाई अँगालो मार्दै भने, माष्टर सोक यो पुलिन्दा बडाहाकिम कहाँ पुगेको भए मेरो के गति हुन्थ्यो ? त्यतिबेला उनले आफु मुगा व्यापारी धनेश्वर शर्मा नभएर नेपाल प्रजातान्त्रिक काँग्रेसको कार्यकर्ता भएको र आफ्नो वास्तविक नाम कृष्ण प्रसाद शर्मा भएको र चलनचल्तीमा बाबुकृष्ण शर्मा भनिने गरेको बताए । त्यसपछि त हाम्रो मित्रता घनिष्ठ हुँदै गयो ।
बाबुकृष्ण शर्माबाट राजनैतिक दिक्षा पाएको त्यसबेलाका युवकहरुले नै बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डोटी, सुर्खेत, दैलेखसम्म स्वतन्त्र गराउन मुख्य भूमिका लेखेका थिए । पश्चिम नेपालको सशस्त्र क्रान्तिमा बाबुकृष्ण शर्माबाट राजनैतिक दीक्षित नेपालगन्जका युवाहरुको महत्वपूर्ण योगदान रहेको छ ।
पं. बामदेव शर्मा आयेत्र र बाबुकृष्ण शर्माबाट नेपालगन्जमा नागरिक जनचेतना र सामाजिक जागरणको प्रारम्भ भएको हो । तर, वामदेव शर्मा र बाबुकृष्ण शर्मा दुवै, नव जागरण युगका कृष्ण प्रसाद कोइराला जस्ता हुन सकेनन् । त्यसैले नेपालगन्ज पुरानो भएर पनि विराटनगर जस्तो हुन सकेन ।