नेपालगन्जमा रगत अभाव

दैनिक ४५ पिन्ट माग, स्टकमा १५० पिन्ट मात्रै

देबेन्द्र पौडेल

मध्यपश्चिमको मुख्य उपचार केन्द्रका रुपमा रहेको नेपालगन्जमा रगत अभाव देखिएको छ । नेपालगन्ज स्थित नेपाल रेडक्रस सोसाइटीको क्षेत्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैंक)मा रगतको मौज्दात अत्यन्त न्यून हुँदा रगत अभाव देखिएको हो । चर्को गर्मीका कारण संस्थागत रक्तदानमा कमी आएपछि रगतको अभाव देखिएको सम्बद्ध संस्थाको भनाइ छ । ‘१ सय ५० पिन्ट मात्रै रगत स्टकमा छ’, ब्लड बैंकका क्षेत्रीय प्रमुख उपेन्द्र रेग्मीले शनिवार साँझ दैनिक नेपालगन्जसँग भने, ‘नियमित रक्तदान नभएका कारण रगतको चरम अभाव देखिन सुरु भैसकेको छ ।’ नियमित संस्थागत रुपमा रक्तदानका कार्यक्रम नहुने तर मागको अवस्था बढ्दै जाँदा रगत मौज्दातमा न्यून मात्रै रहेको रेग्मीले जानकारी दिए ।

 

स्वास्थ्य उपचारका दृष्टिले नेपालगन्ज मध्य तथा सुदूरपश्चिम क्षेत्रकै हबको रुपमा छ । मध्य र सुदूरपश्चिमबाट उपचारका लागि सयौं बिरामीहरु दैनिकजसो नेपालगन्ज आउने गर्दछन् । बिरामीहरुलाई उपचारका क्रममा रगतको आवश्यकता पर्छ । ‘तर, आवश्यकता बमोजिम रक्तदानका कार्यक्रम नहुँदा बिरामीका आफन्तले नै सट्टा रगतको व्यवस्था गर्नुपर्ने हुन्छ’, प्रमुख रेग्मी भन्छन्, ‘कसैका आफन्तबाट रगतको व्यवस्था नहुने देखिएमा रगत दिनु नै पर्ने हुन्छ जसका कारण स्टकबाट रगत घट्दै जान्छ ।’

 

आपत्कालीन ठूलै घटना हुने हो भने त्यसलाई थेग्न सक्ने रगत अहिले रक्तसञ्चार केन्द्रको स्टकमा छैन । ‘दैनिक ४०/४५ पिन्ट रगत माग हुने गरेको छ’, क्षेत्रीय प्रमुख रेग्मी भन्छन्, ‘सट्टा रगत उपलब्ध नहुने हो भने एकै पटक धेरै माग हुँदा समस्या देखिनेछ ।’ नेपालगन्ज स्थित ब्लड बैंकको कोहलपुर स्थित इकाइमा पनि रगतको मौज्दात पर्याप्त छैन । त्यहाँ पनि आफन्तले नै सट्टा रगतको व्यवस्था गर्नुपर्ने अवस्था रहेको छ । कम्तिमा १ हजार पिन्ट रगत हरेक महिना आवश्यक पर्ने क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगन्जमा ३ हजार पिन्ट सम्म मौज्दात क्षमता छ । ‘७÷८ सय पिन्ट त मौज्दात हुनुपर्छ’, क्षेत्रीय प्रमुख रेग्मी भन्छन् ।

 
स्वस्थ्य संस्था बढ्दै जाँदा रगतको माग बढ्नु स्वभाविक हो । पछिल्ला बर्षहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ । खासगरी अभावको समयमा र एकै दिनभन्दा समय मिलाएर रक्तदान कार्यक्रम हुने हो भने रगतको व्यवस्थापन गर्न सहज हुने प्रमुख रेग्मी बताउछन् । उनले रगत अभाव हुन नदिन संस्थागत रक्तदानको आव्हान समेत गरेका छन् ।

 
आगामी मंगलबार लायन्स क्लब, ३१ गते नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुर, उपशाखा बाँके बगिया र डुडुवाले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको ब्लड बैंकले जानकारी दिएको छ । विगत ११ बर्षदेखि त्रैमासिक रुपमा नियमित रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्ण लाल चुकेले स्वस्थ्य व्यक्तिले कुनै पनि रक्तदान गर्न सक्ने भएकाले सबैले निर्धक्क रक्तदान गर्न सुझाव दिन्छन् । ‘तीन महिनामा शरीरमा आफै रगत परिवर्तन गर्ने भएकाले रक्तदानले स्वास्थ्यमा कुनै नकारात्मक प्रभाव पार्दैन’, सम्पादक चुकेले भने, ‘खेर जाने रगत दिएर अरुको ज्यान जोगाउन सकिन्छ भने कोही पनि पछि हट्न हुँदैन ।’

रक्तदान गर्दै लायन्स
समाचारदाता
दैनिक नेपालगन्ज

 

लायन्स क्लब अफ नेपालगन्ज सिद्धिविनायकले संस्थाका पूर्व अध्यक्ष अच्युत राज सुवेदीको स्मृतिमा आगामी मंगलबार रक्तदान कार्यक्रम गर्दैछ । अच्युतराज स्मृति प्रतिष्ठान सँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम गर्न लागिएको लायन्स लिडर मुकुट ढकालले जानकारी दिए ।

 
‘लायन्सले रक्तदानलाई प्राथमिकतामा राख्दै आएको छ’, लायन्स लिडर ढकालले दैनिक नेपालगन्जसँग भने, ‘यसपटक अच्युत राज सुवेदी स्मृति प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गर्न लागिएको हो ।’ लायन्सले त्यसका लागि पूर्व अध्यक्ष डिल्ली राज रेग्मीको संयोजकत्वमा समिति नै गठन गरेर तयारी थालेको जनाएको छ ।

 
अच्युत राज सुवेदी स्मृति प्रतिष्ठानले रक्तदानसँगै मंगलबार अच्युतराज स्मृति राष्ट्रिय पुरस्कार पनि प्रदान गर्दैछ । ‘लायन्स क्लब अफ नेपालगन्ज सिद्दिविनायकसँगको सहकार्यमा रक्तदान र औपचारिक कार्यक्रम बीच पुरस्कार प्रदान कार्यक्रम गर्न लागिएको छ’, प्रतिष्ठानका अध्यक्ष प्रकाश सुवेदीले भने । क्लबले सोही दिन राँझा स्थित आदर्श विद्यार्थी बालबालिकाहरुका लागि आँखा चेकजाँच शिविर पनि सञ्चालन गर्ने जनाएको छ ।

 
नेपालगन्जमा रगत अभाव पनि देखिएकाले रक्तदानमा सहभागी हुन लायन्स क्लब अफ नेपालगन्ज सिद्धिविनायक र अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले आव्हान गरेका छन् । ‘रक्तदानलाई बृहत बनाउन प्रतिष्ठानका सदस्य डम्मर विकको संयोजकत्वमा समिति बनाइएको छ’, अध्यक्ष सुवेदीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया