देशमा द्रुतगतिमा विकास निर्माण कार्य अघि सरिरहेका बेला बाँकेमा मन्दिर, सडक मापदण्ड र विभिन्न मुद्दाले विकासको गतिलाई प्रभावित गरिरहेको छ । नेपालगन्ज स्थित चारबाहिनी त्रिवेणीमोड सडक खण्ड ब्यापक विवादपछि अघि बढ्यो तर त्रिवेणीमोडमा रहेको श्री सिद्धनाथ शिव मन्दिरले भौतिक संरचना नभत्काउँदा अहिले त्यस क्षेत्रको सडक र नाला निर्माण कार्य रोकिएको छ ।
दुई वर्ष अघि त्रिवेणी मोड नजिकका बासिन्दा आशिष गुप्ताले मापदण्ड विपरीत निर्माण कम्पनीले घर भत्काउने गरेको भन्दै तत्कालिन पुनरावेदन अदालत नेपालगन्जमा रिट दायर गरेका थिए । रिटको अन्तिम फैसलामा उपमहानगरपालिकाले जित हासिल गरेपनि दुई वर्ष देखि करिब ५ मिटर बाटो अलपत्र अवस्थामा छ ।
त्रिभुवन चोकको उत्तर र दक्षिण तर्फ विच सडकमा रहेका दुई वटा मन्दिरलाई ब्यवस्थापन गर्ने सम्बन्धी पटक पटकको छलफलले निकास नपाएपछि सो स्थानमा साँघुरो बाटो निर्माण भएको छ । ‘मन्दिर मुनिबाट अन्डर ग्राउण्ड रोड लैजाने बारे यसअघि पनि छलफल भएको हो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भने, ‘दुबै मन्दिर बारे कुनै ठोस निकास बाहिर नआएपछि बाटो साँघुरो बनाउनुको विकल्प भएन ।’
एमपी स्कूल श्मसान घाट जानेबाटोमा स्थानीयले आधा दर्जन ब्यक्तिहरुले उत्पन्न गरेको अवरोधका कारण करिब ५० मिटर बाटो निर्माण हुन सकेको छैन । त्रिभुवन चोक देखि जिल्ला प्रशासन कार्यालय बाँकेको क्षेत्रमा १२ मिटर भित्रको भौतिक संरचना समेत भत्काउन नपरोस् भन्दै अदालतमा पुगेका स्थानीय १५ जना घरधनीको रिटका कारण त्यसक्षेत्रको सडक र नाला निर्माण कार्य अहिले ढिलाई हुन थालेको छ ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले रिटलाई यथास्थितिमा राखी, मापदण्ड बाहिर निर्माण कार्य नभएकोले परमादेश जारी गर्न नमिल्ने आदेश गरेपछि स्थानीयहरुले घर भत्काउन सुरु गरेका थिए । अदालतको मुद्दाका कारण निर्माण कार्य २० दिन ढिला भयो । अझैपनि नगरभवन आसपास क्षेत्रमा अतिक्रमित संरचना भत्काउने कार्य जारी रहेकोे छ । केहीले अझै संरचना भत्काउने कार्य सुरु नगरेको उपमहानगरपालिकाले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले घरधनीहरुको ढिलाईका कारण सडक वर्षायाम पछि निर्माण हुने संकेत देखा परेको बताएकी छन् । अहिले भौतिक संरचना नै भत्काउन बाँकी रहेको छ, दैनिक नेपालगन्ज संग उनले भनिन्, वर्षा सुरु भइसकेकोले अब तत्काल निर्माण कार्य पूरा हुनेमा समस्या देखिएको हो । निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन प्रालिका महाप्रवन्धक युवराज क्षेत्री भन्छन्, ‘मेयरले त्रिवेणीमोड मन्दिरको संरचना नभत्काए नाला घुमाएर सडक निर्माण गर्नुपर्छ भनिसक्नु भएको छ ।’ यसअघि मापदण्ड विवादमा चुलिएका मेयर अहिले मन्दिरको भौतिक संरचनाको पक्षधर देखिएका छन् ।
‘मेयरबाट मन्दिर नजिक कच्ची नाला र कालोपत्रे गर्न निर्देशन प्राप्त भएको छ’, महाप्रवन्धक क्षेत्रीले भने, ‘मन्दिरका कारण बाटो साँघुरो हुने अवस्था उत्पन्न भएपछि निर्माण कार्य रोकिएको हो ।’ त्रिभुवन चोकदेखि दक्षिण तर्फ अझै भौतिक संरचना हटाउने कार्य जारी रहेकोले निर्माणमा ढिलाई हुन गएको क्षेत्रीले बताए । ‘भौतिक संरचना हटाएपछि खाली रहेको स्थानमा कुनैपनि समयमा सडक निर्माण हुन सक्छ’, उनले भने, ‘पानी ब्यापक नपरेको खण्डमा निर्माणमा अवरोध हुँदैन ।’
नेपालगन्ज उपमहानरपालिकाका नगर प्रमुख डा.धवल शम्शेर राणा भन्छन्, ‘त्रिवेणीमोड मन्दिरको विवाद टुंग्याउने क्रममा म थाकेको छु ।’ ‘उद्योग वाणिज्य संघका अध्यक्षलाई मध्यस्थताको लागि आग्रह गरेको छु’, उनले भने, ‘मन्दिरमा कुनै पनि क्षति नहुने गरि निर्माण हुन सक्ने सम्भावनालाई स्थानीय मन्दिर संचालकले मानेका छैनन् ।’
‘अगाडी करिब २ मिटर भित्ता मात्रै भत्काउनु पर्ने अवस्था छ’, नगर प्रमुख राणाले भने, ‘मन्दिरको मूर्ति लगायत अन्य मूल्यवान स्थानमा कुनै क्षति हुने देखिएन ।’ ‘मन्दिर संचालक समिति आफै विवादित अवस्थामा छ’, उनले भने, ‘पूरै समिति एकमत हुन नसकेका कारण निकास निस्कन सकेको छैन ।’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले मन्दिरलाई केहि मात्रामा मात्रै भत्काउनु पर्ने देखिएकोले सो भत्काएर सडक निर्माणलाई पूर्णता दिन आफु सक्रिय रहेको बताए ।
‘केहि ब्यक्तिहरुले तनाव उत्पन्न गरेका कारण सामान्य विषय जटिल हुन गएको हो’, मन्दिरका कोषाध्यक्ष घनश्याम लखेरले सडक विस्तारलाई हिन्दु धर्मको आस्था माथिको प्रहार भएको बताएका छन् । उनले मठमन्दिर माथि योजनाबद्ध तरिकाले आक्रमण भइरहेको बताउँदै सोको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए । यद्यपि आफुहरु सडक विस्तारका लागि मन्दिरको आंशिक संरचना भत्काउन तयार रहेको बताउँदै लखेरले समिति भित्रनै फरक फरक मत भएका कारण निर्णय हुन नसकेको बताए ।