लघु उद्यमीसँग हातेमालो गर्दै जनप्रतिनिधि, प्रदेश ५ मा गरिबी निवारण : ‘घरघरमा उद्यम’

दैनिक नेपालगन्ज/बुटबल

गरिबी निवारणका लागि प्रदेश सरकारले लघु उद्यम बिकासलाई बृहद रुपमा अघि बढाउने भएको छ । ‘मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम’ मार्फत प्रदेश ५ मा गरिबी निवारणका लागि लघु उद्यम बिकासलाई कार्यान्वयनमा ल्याइने भएको हो ।
‘लघु उद्यम बिकासका लागि प्रदेश नीति आइसकेको छ’, शुक्रबार बुटवलमा आयोजना गरिएको एक कार्यक्रम बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भने, ‘हामीले मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम घोषणा गरेका छौं, लघु उद्यम सम्बन्धी बजेट छिट्टै बिनियोजन गर्नेछौ ।’
प्रादेशिक उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले शुक्रबार बुटवलमा लघु उद्यम बिकास मोडल सम्बन्धी प्रदेशका निर्वाचित प्रतिनिधिहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले गरिबी निवारणलाई आफ्नो प्राथमिकतामा राखे ।

‘लघु उद्यमीका उत्पादनको बजार व्यवस्थापन अहिलेको आवश्यकता हो,’ मुख्यमन्त्री पोखरेलले भने, ‘प्रदेश ५ मा आउने पाहुनाका लागि उपहार पनि स्थानीय उत्पादन हुनेछ ।’ उनले प्रदेश सभाको पोशाक तय हुदैं गरेको र उघु उद्यमीले उत्पादन गरेको अल्लोको कोट प्रस्ताव गरिएको जानकारी दिए ।

कार्यक्रम बोल्ने जनप्रतिनिधिहरुले प्रदेश स्तरमा उद्योग सम्बन्धी कामगर्न प्रष्ट कानूनको आवश्यकता समेत औंल्याएका थिए । बक्ताहरुले सबै निकायसँग समन्वय गरेर अघि बढे गरिबी निवारण सम्भव भएको धारणा राखेका थिए ।
लघु उद्यम बिकास कार्यक्रम (मेडेप) का राष्ट्रिय कार्यक्रम प्रवन्धक डा. रामजी न्यौपानेले गरिबी निवारणका लागि लघु उद्यम बिकास मोडेलको बिकल्प नरहेको बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंहले सरकारको प्राथमिकतामा उद्यमशिलता बिकास रहेको जानकारी दिए ।

कार्यपत्र प्रस्तुत गर्दै उनले आगामी आर्थिक बर्षमा सरकारले ७७ वटै जिल्लामा लघु उद्यम बिकास कार्यक्रम गर्न १ अरब रुपैयाँ बढि बजेट बिनियोजन गरेको बताए । प्रादेशिक उद्योग मन्त्री लिला गिरिको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न मन्त्री तथा सांसदहरुले आफ्ना बिचारहरु राखेका थिए ।

 

लघु उद्यमीसँग हातेमालो गर्दै जनप्रतिनिधि
दैनिक नेपालगन्ज/बुटवल
प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल आएर कुराकानी सुरु गर्दा बाँकेकी सुमित्रा चौधरीको खुशीको सिमा रहेन । चौधरीले उत्पादन गरेका थारु हस्तकलाका सामाग्री अवलोकन गर्दै मुख्यमन्त्री पोखरेलले आफ्नो कार्यालयको लागि सुमित्रासँग कलम होल्डरको अर्डर समेत गरे । ‘गाउँमा उत्पादन भएका थारु हस्तकला मुख्यमन्त्रीले मन पराइ दिनु भएकोमा खुशीको सिमा छैन,’ दैनिक नेपालगन्ज सँग चौधरीले भनिन्, ‘यस्तो हस्तकलाको उद्यम सुरु गरेर थारु परम्पराको संरक्षण गर्न थप हौसला मिलेको छ ।’
प्रदेशस्थित उद्योग, पर्यटन, वन र वातावरण मन्त्रालयले शुक्रबार बुटवलमा आयोजना गरेको लघु उद्यमीहरुको उत्पादन अवलोकलन गर्न प्रदेश ५ का मुख्यमन्त्री सहित मन्त्रीहरु तथा सांसदहरु पुगेका थिए । कृषि मन्त्री आरती पौडेलले भनिन्, ‘लघु उद्यममा महिलाको उल्लेख्य सहभागिताले महिलाको आय आर्जनमा सहभागिता मात्र बढाएको छैन, उनीहरुलाई सशक्तिकरण समेत गरेको छ ।’
बाँकेका प्रदेस सभा सदस्य आइपी खरेल आफ्नै गाउँमा उत्पादन हुने चिउरीको साबुन प्रदर्शनस्थलमा देखेर चकित भए । लाफा लघु उद्यमी समुहकी सचिव चित्रा थापासँग उत्पादन हुने मात्रा, नाफा र संलग्न उद्यमीबारे भलाकुसारी गरेका खरेलले हिड्ने बेलामा एक साबुन समेत किनेर लगे । चित्रा भन्छिन्, ‘सांसद ज्यूले गाउँमा आएर भेट्छु र थप किन्छु भन्नु भाको छ ।’
दाङ घोराही नयाँ बसपार्ककी सिता मल्लले मुख्यमन्त्रीलाई आफ्नो उद्यम हेर्न निम्तो दिइन् । मुख्यमन्त्री पोखरेलले प्रदेश ५ का लघु उद्यमीका उत्पादन अवलोकन गरेपछि प्रदेशका उद्योगमन्त्री लिला गिरिलाई बजार व्यवस्थापनका लागि विज्ञापन गरिदिन आग्रह गरेका छन् ।
प्रदेश ५ का सबै जिल्लाबाट प्रतिनिधित्व गर्दै ३० बढि उद्यमीहरु आफ्नो उत्पादन लिएर शुक्रबार बुटवल आएका थिए । बाँकेका प्रदेश सांसद बाबुराम गौतमले सिस्नोको पाउडर मन पराए । उनले दैनिक नेपालगन्ज सँग भने, ‘यसले स्वास्थलाई एकदमै फाइदा गर्छ ।’ बाँकेका अर्का सांसद सुरेन्द्र हमालले यस्ता लघु उद्यमीहरु हरेक गाउँमा बनाउनु पर्ने बताए । उनले गरिबी निवारणका लागि यो उपयोगी हुने बिश्वास ब्यक्त गरे ।
जडिबुटीमा आधारित लघुउद्यम प्रवद्र्धन गर्न सरकारको ध्यान पुग्न आवश्यक छ, सांसद याकुव अन्सारीले दैनिक नेपालगन्ज सँग भने, ‘लघु उद्यमीले अति गरिबलाई फाइदा गर्दछ ।’ संघीय उद्योग मन्त्रालय र लघु उद्यम बिकास कार्यक्रम (मेडेप) को सहयोगमा उक्त प्रदर्शनी आयोजना भएको थियो ।
नेपाल सरकारले लघु उद्यम बिकासका लागि आर्थिक बर्ष २०७५, ७६ का लागि १ अरब बढि बजेट बिनियोजन गरेको छ जसमध्ये प्रदेश ५ मा १७ करोड १५ लाख ८३ हजार बजेट राखिएको छ । बाँकेमा आगामी आर्थिक बर्षमा १ करोड ५७ लाख बढि बजेट लघु उद्यमी बनाउन बिनियोजन गरिएको छ । बाँकेमा ३ हजार ५ सय १७ जना लघु उद्यमी छन् जसमध्ये ७२ प्रतिशत बढि महिला रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया