बाँकेबाट देशमै ‘उत्कृष्ट खाद्य उद्योग’ सम्मान

बाँकेको सम्शेरगन्ज स्थित विकास फ्लोर मिललाई सरकारले देशकै उत्कृष्ट खाद्य उद्योगका रुपमा छनोट गरि सम्मान गरेको हो ।
सरकारले बाँकेको एउटा उद्योगलाई देशकै उत्कृष्ट खाद्य उद्योगका रुपमा सम्मान गरेको छ । विहीवार राजधानी काठमाडौंमा आयोजित औपचारिक कार्यक्रमबीच कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले बाँकेको सम्शेरगन्ज स्थित विकास फ्लोर मिललाई देशकै उत्कृष्ट खाद्य उद्योगको सम्मान प्रदान गरेकी हुन् ।

 
केएल दुगड ग्रुप अन्तर्गतको विकास फ्लोर मिल प्रालि स्वच्छ र गुणस्तरीय खाद्य पदार्थहरु उत्पादन गर्ने देशभरिका ठुला तथा मझौला उद्योगहरु मध्ये उत्कृष्ट छनोट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । जेष्ठ महिनालाई खाद्य स्वच्छता महिना घोषणा गर्दै वर्षेनी विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको विभागले दशौं राष्ट्रिय स्वच्छता दिवस एवं दोस्रो खाद्य स्वच्छता महिना पारेर विहीवार उक्त सम्मान गरेको हो । केएल दुगड ग्रुपका प्रवन्ध निर्देशक कुमुद दुगडले विकास फ्लोर मिल प्रालिको उक्त सम्मान राजयमन्त्री चौधरीबाट ग्रहण गरेका थिए ।
२०५२ सालमा बाँकेको सम्शेरगन्जमा प्लान्ट लगाएर उत्पादन शुरु गरेको विकास फ्लोर मिलले पछिल्लो आर्थिक वर्षमात्रै सवा सय अर्ब बढीको कारोवार गर्न सफल भएको केएल दुगड ग्रुपका महाप्रवन्धक प्रदीप छाजेडले जानकारी दिए । ‘देशभरीकै उत्कृष्ठ खाद्य उद्योगका रुपमा गरिएको सम्मान हाम्रा ब्रान्ड प्रति उपभोक्ताले गरेको विश्वासको सम्मान हो,’ महाप्रवन्धक छाजेडले दैनिक नेपालगन्जसँग भने, ‘स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उत्पादनमा निरन्तरताको उपलब्धी हो ।’ छाजेडका अनुसार, विकास फ्लोर मिलले सरकारबाट पाएको उत्कृष्टताको यो दोस्रो सम्मान हो । ‘२०६४ मा पनि हाम्रो उद्योग यसरीनै सम्मानित भएको थियो,’ उनले भने ।

 
गहुँ, चामल, मकै र कोदोका खाद्य पदार्थहरु उत्पादन गर्दै आएको विकास फ्लोर मिलले स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उत्पादनमा देशकै सबै उद्योगहरुलाई उछिनेर सम्मानको हकदार बनेको दशौं राष्ट्रिय स्वच्छता दिवस मूल समारोह समितिका संयोजक समेत रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सन्जीव कुमार कर्णले कार्यक्रममा भने ।

 
केएल दुगड समूहका महाप्रवन्धक छाजेडका अनुसार, विकास फ्लोर मिलले नेपालसँगै युके, जापान र जर्मनी लगायतका मुलुकमा गहुँ, चामल, मकै र कोदोका खाद्य पदार्थहरु निर्यात पनि गर्दै आएको छ । ‘ज्ञान मैदा, आँटा, सुजी देखि ज्ञान भोग चक्की आँटा सम्मका ब्राण्ड उत्पादन भइरहेका छन्,’ मल्टीग्रेन आँटाका नाममा विभिन्न ७ वटा खाद्यान्नको समिश्रण पीठो उत्पादन गरिरहेको विकास फ्लोरले आशीर्वाद चक्की आँटा र चामल उत्पादन पनि सुरु गरेको जानकारी दिंदै महाप्रवन्धक छाजेडले भने, ‘पछिल्ला दिनमा कोदोको आँटा, गहुँ, मकैको दलिया, लिटो अझ बढीमै माग आइरहेको छ ।’

 
४० करोडबढी लगानीमा सञ्चालित विकास फ्लोर मिलले गहुँ, चामल, मकै र कोदोका खाद्य पदार्थहरुका थप विविधता ल्याउने र थप खाद्यान्नका खाद्य पदार्थ उत्पादनबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ । ‘चामल र चामलको पीठो नयाँ आइटम हो,’ महाप्रवन्धक छाजेडले भने ।

प्रतिक्रिया

प्रतिक्रिया