विद्यालयलाई खानेपानीको धारा
प्रेम विश्वकर्मा
दैनिक नेपालगन्ज
बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बिहिबार सामुदायिक विद्यालयको निरिक्षण गरेका छन् । उनले वडा नम्बर ६ पुरैना, गिजरामा रहेको जनसेवा माध्यमिक विद्यालय र वडा नम्बर ७ सिन्दुरीमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयको निरिक्षण गरी वर्तमान अवस्था बारे जानकारी लिएका हुन् । त्यसक्रममा उनले विद्यालयका समस्याबारे विद्यार्थी, शिक्षक, अभिभावकलाई सोधेका थिए ।
शिक्षक, अभिभावक सँगै प्रत्येक कक्षा कोठामा पुगेका अध्यक्ष कक्षपतिले गर्मी भएको छ ? पंखा चाहियो ? पढाई कस्तो छ ? भनेर पनि विद्यार्थीहरुलाई सोधेका थिए । अध्यक्ष कक्षपतिले शुद्ध खानेपानीको व्यवस्था गर्न बनाइएको जनसेवा र सिन्दुरीमा खानेपानी धारा उद्घाटन समेत गरेका थिए ।
ग्रेस कम्युनिटी नेपालको अनुदान रकम सहयोगमा निर्माण सम्पन्न बालमैत्री खानेपानी धाराको उद्घाटन समारोहलाई सम्बोधन गदै अध्यक्ष कक्षपतिले भने, ‘जनसेवा माध्यमिक विद्यालयमा रहेको विद्यार्थी चापलाई शैक्षिक वार्षिक कार्यतालिका बमोजिम अन्त्य सम्म टिकाउनुहोस्, अत्याधिक गर्मीले कलिला बालबालिकालाई समस्या भएको रहेछ, तपाईहरु गाउँपालिका कार्यालयमा आउनुहोस्, तत्काल पंखा जोड्नको लागि पहल गर्छु ।’
विद्यालय र स्थानीय बासीन्दाहरुको जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) दिलाउने बारेमा कुराकानी भइरहेको भन्दै अध्यक्ष कक्षपतिले चाडैं नै निजी स्रोतका शिक्षक, शिक्षिकाहरुको त्याग, श्रमको मुल्यांकन गरिने बताए । ‘बाल मनोविज्ञानमा आधारित शैक्षिक क्रियाकलापलाई जोड दिनुहोस्, हामी पाँच वर्ष भित्र खुजरा गाउँपालिका क्षेत्रको शैक्षिक स्तर माथि उकास्ने काम गर्ने छौं’, उनले भने, ‘गुणस्तरिय शिक्षाका लागि विद्यालय मर्जको कार्य नीति पनि सुरु भैसकेको छ ।
‘बालमैत्री विद्यालय बनाउनका लागि आवाश्यक पर्ने भौतिक पूर्वाधार, शैक्षिक सामाग्री, जनशक्ति तथा अन्य विभिन्न संरचनागत कुराहरु पुरा गर्ने कार्यका लागि सबै सँग हामी हात्तेमालो गदै अघि बढिरहेका छौं’, अध्यक्ष कक्षपतिले भने, ‘विद्यालयमा खानेपानीका लागि ग्रेस कम्युनिटी नेपालले सहयोग पुर्याएर सरहानीय कार्य गरेको छ, आगामी दिनमा पनि हामी संस्थासँग समन्वय गर्दै जानेछौं ।’
ग्रेस कम्युनिटी नेपालका अध्यक्ष शेर बहादुर बोहराले १ सय ९० फिट तलको गहिराईबाट पानी निकालिएकाले खानेपानी स्वच्छ र सफा भएको कार्यक्रममा जानकारी गराए । उनले भने, ‘६५ फिट तलसम्मको गहिराईबाट निकालिएको आर्सेनिकयुक्त पानी विद्यालयले प्रयोग गरिरहेको भन्ने हामीले जानकारी पाएपनि शुद्ध खानेपानीका लागि धारा जडान गरेका हौं ।’