बाँकेको खजुरामा आयोजना भैरहेको नेपालगन्ज गोल्ड कपको फाइनलमा रुपन्देही–११ र संकटा क्लब काठमाडौं भिड्ने भएका छन् । बिहिबार भएको खेलमा संकटाले सुदूरपश्चिम–११ लाई हराउँदै फाइनलका लागि बाटो बनाएको हो । यसअघि बुधबार भएको खेलमा लाली रुपन्देही–११ ले नेपालगन्ज–११ लाई हराउँदै फाइनलमा प्रवेश गरिएको छ ।
दोस्रो संस्करणमा पनि रुपन्देही र संकटा नै फाइनलमा पुगेका थिए । त्यतिखेर रुपन्देहीले बाजी मारेको थियो । शनिबार रुपन्देहीलाई उपाधी बचाइराख्ने र संकटालाई दोस्रो गोल्डकप फाइनलको बदला लिने अवसर प्राप्त भएको छ । उपाधीका लागि आगामी शनिबार प्रतियोगिताको फाइनल खेल हुने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिएका छन् ।
बिहिबारको भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा संकटाले सुदूरपश्चिमलाई ट्राइब्रेकरमा हराएको हो । प्रतियोगितामा निर्धारित समयसम्म दुवै तर्फबाट बराबरी गोल भएपछि ट्राइब्रेकरमा रुपन्देहीका गोलकिपरको उत्कृष्ट प्रदर्शनले रुपन्देही अगाडि बढ्न सफल भएको हो ।
खेलको शुरुवाती ६ मिनेटमै विजय सिंहको गोलले सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको तीन मिनेटमै एलोन म्याक्सवेलले गोल गरेर बराबरी गरेका थिए । ७० मिनेटमा पुनः म्याक्सवेलले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । त्यो अग्रता भने तीन मिनेटमै सुदूरपश्चिमले बराबरी गरेको थियो । सुदूरपश्चिमका चेतन कठायतले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुई÷दुई गोल भएपछि खेलको निर्णय ट्राइबेकरमा पुगेको थियो ।
ट्राइबेकरमा संकटाका सरोज ढकाल, रोमन लिम्बु र भुवन सुब्बाले गोल गरेका थिए । सुदूरपश्चिमका चेतन थारुले मात्रै गोल गरेका थिए । शुरुवातमै नरेन्द्र चौधरीले बाहिर हानेका थिए । विजय सिंह र योगेन्द्र चौधरीको प्रहार संकटाका किपर दिनेश थापाले रोकेका थिए ।
सुदूरपश्चिमका व्यवस्थापक सुरेश हमालले टिम रक्षापंक्तिका खेलाडी घाइते हुँदा निर्धारित समयमा नतिजा बराबरीमा टुंगिएको प्रतिक्रिया दिए । उनले प्रशिक्षक बिना नै आफ्ना खेलाडीले गरेको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए ।
संकटाका प्रशिक्षक जुजुकाजी डंंगोलले गर्मीका बावजुद टीमले राम्रो खेलेको बताए । कप्तान सरोज दाहालले स्वभाविक खेल खेल्न नसकेको बताए । टीम पनि सेट नभई ल्याएको बताए । उनले फाइनलमा राम्रो गर्ने बताए । सुरुमा गर्मी र रक्षापंक्तिको तालमेल नहुँदा गोल खाएको बताए ।
संकटाले फेरि एक पटक सुदूरपश्चिमलाई घर फर्काएको छ । दोस्रो नेपालगन्ज गोल्डकपमा पनि संकटाले सुदूरपश्चिमलाई सेमिफाइनलमा पराजित गरेको थियो । खेलको म्यान अफ म्याच शान्त गुरुङ भएका छन् । उनले नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको हातबाट मोबाइल पाएका छन् ।
पाँच लाख पुरस्कारको नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताकाको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पाउनेछन् । यसैबीच, टिकट काटेर फुटबल हेर्ने एकजनाले मोबाइल पाएका छन् । आयोजकले लक्की ड्रबाट टिकट ८६ का सम्राटलाई मोबाइल दिएको हो ।











