आज मंगलबार सुदूरपश्चिम–११ र सरस्वती क्लवका बीच प्रतिस्पर्धा
समाचारदाता
दैनिक नेपालगन्ज
बाँकेको खजुरामा नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपालगन्ज–११ ले विजयी सुरुवात गरेको छ । डि गाउँको नेपाल राष्ट्रिय आदर्श माविको खेल मैदानमा नेपालगन्ज–११ ले सशस्त्र प्रहरीलाई २–०ले पराजित गरेको हो । विजयी सुरुवातसँगै नेपालगन्ज सेमिफाइनलमा प्रवेश समेत गरेको छ ।
यसअघिका दुई वटै संस्करणमा पहिलो खेलबाटै बाहिरिंदै आएका नेपालगन्ज–११ लाई उद्घाटन खेलको जितसँगै उपाधी तिरको ऐतिहासिक तय गर्ने मौका मिलेको छ । ‘हामीलाई यसपटकको उपाधी नेपालगन्जमै राख्ने दबाब छ’, नेपालगन्ज–११ का प्रशिक्षक युवराज शाहीले पोष्ट म्याच कन्फ्रेन्समा भने, ‘त्यही दबाब अनुसारको रणनीतिमा शक्तिशाली विभागीय टिमलाई जित्न सफल भइयो ।’
नेपालगन्ज–११का लागि खेलको चार मिनेटमै दायाँ छेउबाट विदेशी खेलाडी मुस्तफाले निकालेको क्रसलाई विक्रमसिंह ठकुरीले गोलमा परिणत गरेका थिए । त्यसपछि मध्यान्तरसम्म कुनै गोल हुन सकेन । त्यसक्रममा दुवैतर्फबाट खेलाडीले केही राम्रा अवसर खेर फालेका थिए । मध्यान्तरपछिको फेरि ४ मिनेटमै आयोजक टीमले अर्को गोल थपेको छ । उक्त गोल विमल रानाले गरेका हुन् ।
प्रतियोगिता सकिए लगत्तै सशस्त्र प्रहरीका प्रशिक्षक सुदीप श्रेष्ठले स्कोरिङ्ग लाइन कमजोर हुँदा पराजय भोग्नु परेको बताए । कप्तान दीपक खड्काले अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको प्रतिक्रिया दिए । ‘सुरुवाती गोल खाएपनि गोल फर्काउँछौ भन्नेमा विश्वस्त थियौं’, उनले भने, ‘तर, हामीले अवसरलाई सदुपयोग गर्न भने सकेनौं ।’
नेपालगन्ज–११ का प्रशिक्षक युवराज शाहीले अघिल्ला दुई संस्करणमा नेपालगन्ज–११ ले व्यहोरेको नमिठो परिणामलाई यसपटक बदल्न दबाब रहेको बताउँदै भने, ‘हामीले रणनीति बनायौं र त्यो सफल हुँदा जितको स्वाद चुम्न सक्यौं ।’ कप्तान गोविन्द थापाले यसपटक आफुहरुले सम्हालिएर खेल्ने बताउँदै प्रतियोगिता नै जित्ने गरी तयारी आफुहरु रहेको बताए ।
प्रतियोगितामा म्यान अफ म्याच नेपालगन्ज–११ का विक्रमसिंह ठकुरी भएका थिए । म्यान अफ द म्याच ठकुरीलाई प्रदेश सांसद बाबुराम गौतम, नेपालगन्जका प्रमुख डा. धवल समशेर राणा, उपप्रमुख उमा थापाले ठकुरीलाई मोबाइल हस्तान्तरण गरेका थिए । त्यसअघि प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य बाबुराम गौतम, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. राणा, एन्फाका सदस्य प्रदेशसिंह राठौर, मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम वली, खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले संयुक्त रुपमा गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. राणाले गोल्डकपको आयोजना खजुरामा भएकाले त्यस क्षेत्रको फुटबल विकासमा टेवा पुग्ने बताए । उनले भने, ‘फुटबलको विकासका लागि विद्यालयस्तरमा प्रवेश गर्ने नीति बनाएर अघि बढेका छौं ।’
बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले गोल्डकपजस्ता ठूला प्रतियोगिताहरु गाउँमा गर्दा फुटबलको क्रेज बढ्ने बताए । प्रतियोगितामा नेपालगञ्ज–११, सशस्त्र प्रहरी, लाली रुपन्देही–११, सरस्वती क्लव काठमाडौं, सिएमजी संकटा क्लव र सुदूरपश्चिम–११ ले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगितामा आज मंगलबार सुदूरपश्चिम–११ र सरस्वती क्लवका बीच प्रतिस्पर्धा हुने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्ज रंगशालाको मर्मत भइरहेकाले खजुरामा प्रतियोगिता आयोजना गरिएको हो ।