गोल्डकप तेस्रो संस्करणसम्म आइपुग्यो, यसको विजारोपण कसरी भयो ?

नेपालगन्ज गोल्ड कपको कुरा म फुटबल आउँदा खेरी नै चर्चाको विषय थियो । म संघका आएको १२ बर्ष भयो । हामीले इच्छा गरेर मात्र तुरुन्त गोल्ड कप आयोजना गर्न सक्ने स्थिति थिएन । त्यसका लागि धेरै नै एक्सरसाइजहरु गर्नुपथ्र्यो । हामी सबै मिलेर प्रथम गोल्ड कप आयोजना गर्यौं । अब यो तेस्रो गोल्ड कप सोमवारदेखि आयोजना हुँदैछ ।
गोल्ड कपको दोस्रो संस्करण सकिएपछि तेस्रोका लागि केही चुनौति र व्यवधानहरु भएकै हो । तथापी सुदूर र मध्यपश्चिमको गौरवको कुरा नेपालगन्ज गोल्ड कप भएकाले समयमा गर्न नसकेपनि प्रतियोगिता निश्चित गरेका छौं । प्रतियोगिताको तयारी सकिएको छ । सबैठाउँमा यसखालका प्रतियोगिता भैरहेकाले हुँदा पनि तुरुन्त प्रतियोगिता आयोजना गर्न नसकिएको हो । जेठ २१ को प्रतियोगिता गरिरहँदा पनि ३ वटा गोल्डकप एकै पटक जुधेको छ । ठूला टिमहरुको सहभागीमा केही अप्ठ्यारा रहेपनि त्यसलाई समाधान गरेका छौं ।
नेपालगन्ज रंगशाला बाहेक बाँकेका अन्य ठाउँमा प्रतियोगिता आयोजना गर्न मैदानको समस्या देखियो ?
मलाई लाग्छ नेपालमै रंगशालाहरुको अभाव छ । काठमाडौं जस्तो ठाउँमा पनि दशरथ रंगशालाको विकल्पमा अर्को रंगशाला छैन । नेपालगन्जमा पनि नेपालगन्ज रंगशाला बाहेक अर्को विकल्प देखिंदैन । अन्य ठाउँमा प्रतियोगिता आयोजना गर्दा धेरै चुनौति देखिन्छ ।
खजुरामा नेपालगन्ज जत्तिकै फुटबल प्रेमीहरुको क्रेज छ । अझ खजुरामा बढी छ, क्रेज । हामीले खजुरालाई फुटबल हबका रुपमा लिएका छौं । सोही कारणले नै हामीलाई खजुरामा गोल्डकप आयोजना गर्न प्रेरित गर्यो । नेपालगन्ज भन्दा खजुरामा दर्शकको संख्या अझै बढ्ने हाम्रो अनुमान छ ।

 
प्याराफिट विहीन खजुराको खेल मैदानमा कसरी आयोजना व्यवस्थित गर्दै हुनुहुन्छ ?
खजुरामा खुला मैदान छ । तर पनि हामीले टिकटको व्यवस्था गर्नेछौं । एउटा कल्चरको विकास गर्नुछ । त्यहाँ कतै बार र बन्देज छैन । त्यसको व्यवस्थापन गर्ने हो भने खर्च र समय लाग्ने भएकाले बार लगाइएन । प्रथम गोल्ड कप देखि नै टिकट काटेर फुटबल हेर्ने व्यवस्था गरिएको थियो । फुटबल प्रतिको क्रेज नै त्यसबेला देखि नै दर्शकहरुले २ सय देखि ४ सयसम्मका टिकट काटेर फुटबल हेर्नु भयो । दोस्रो गोल्डकपमा पनि ५÷६ लाख टिकटबाट नै उठाएका थियौं ।
हो, सधैभरी एउटै खालको परिस्थिति हुँदैन । खजुरामा ग्राउण्ड ओपन छ । टिकट काट्न नचाहनेका लागि करकाप छैन । तर, कुनै फुटबल प्रेमीले फुटबललाई सहयोग गर्छु भन्नु भयो भने ५०÷१०० रुपैयाँको टिकट राखिएको छ ।
खेलकुदको संस्थागत विकास कसरी हुन्छ ?
कुनै पनि कुराले एकै पटकमा उपलब्धी हासिल गर्दैन । त्यसका लागि धेरै बर्ष निरन्तर मेहनत र परिश्रम गर्नुपर्दछ । केही कुरालाई हिट गर्नका निमित्त ठूलो प्रतियोगिता पनि हामीले गर्नुपर्छ भन्ने महसुस गर्यौं । ठूलो प्रतियोगिता आयोजना गर्दा साना प्रतियोगिता छोडिएको भने होइन । हालै १४ र १६ बर्षमूनिको मेयर कप पनि आयोजना गरिसकेका छौं ।
फुटबलमा राम्रो खेलाडी उत्पादनका लागि १४ बर्ष मूनिका बालबालिकालाई प्रशिक्षण गर्नु आवश्यक छ । विद्यालय केन्द्रित योजना आवश्यक छ । त्यसका लागि योजना बनाइरहेका छौं । २/४ बर्षभित्र त्यो योजना पनि कार्यान्वयनमा आउँछ ।

संघले तपाईको कार्यकालमा के–के गर्योे ?
३५÷४० बर्षपछि नेपालगन्ज गोल्ड कप सुरु गर्यौं । त्यो ऐतिहासिक उपलब्धी हो । मेयर कप सञ्चालन गर्यौं । यसपछि विद्यालय स्तरबाट फुटबललाई अगाडि बढाउँछौं । अखिल नेपाल फुटबल संघमा भएको विवादले केही पनि कार्यक्रम आउन सकेन । त्यसले केही अवरोध चाही भएको हो ।
मलाई लाग्छ, अब १२ बर्षदेखि १६ बर्ष सम्मको फुटबलले नेपालगन्ज गोल्ड कप सँग जोड्छ । त्यसले हाम्रो ठाउँबाट राम्रा राम्रा खेलाडी उत्पादन हुने बाटो बन्छ । र, हामीले मेहनत गर्नुपर्छ । बर्षदिन भित्र स– साना बच्चाहरुलाई फुटबल खेल्नका लागि बाँके जिल्ला फुटबल संघले बाँकेमै मैदान तयार गर्दैछ । त्यहाँ विद्यालय स्तरका विद्यार्थीहरुलाई नियमित प्रशिक्षण हुने गर्छ । आगामी बर्षदेखि नेपालगन्ज गोल्ड कप समयमै हुन्छ । त्यो भन्दा अगाडि मेयर कप र बच्चाहरुको नेपाल मै विशेष हुने खालको प्रतियोगिता बाँके जिल्ला फुटबल संघले आयोजना गर्छ ।

 
क्लबहरुलाई सक्रिय पार्न के गर्दैछ संघ ?
बाँके जिल्ला फुटबल संघमा म आउँदा खेरी ४२ वटा क्लबहरु थिए । हामीले त्यसलाई छनोट गर्यौ, जसले फुटबल गतिविधिमा योगदान गर्नुभयो । ती क्लब बाहेक सक्रिय १६ वटा क्लब मात्रै आबद्धता छ । कागजमै सीमित क्लबहरु फुटबल संघबाट बाहिरिनु भएको छ । अब पनि ८/१० वटा क्लबहरु क्युमा हुनुहुन्छ । हाल भएका क्लबहरु भन्दा राम्रा क्लबहरुले प्रस्ताव गरिरहनु भएको छ । हामीले यदि त्यतिकै छोडेको फुटबल क्लब धेरै देखिन्थ्ये तर ती कागजमा मात्रै सीमित हुन्थ्ये । गतिविधि नगर्ने कागजी क्लबलाई सच्याउँदै लग्यौं । १÷२ बर्षभित्रै सक्रिय क्लबहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने छौं ।
विद्यालय स्तरका प्रतियोगिता नहुँदा सम्म प्रतिभाहरु बाहिर आउन सक्दैनन् । दोस्रो कुरा खेलाडीहरुको सेक्युरिटी हुनुपर्यो । खेलाडीहरुले जब पाइरहेको अवस्था छैन । यी यावत् समस्या छन् । अहिले युवाहरु कुलतमा लागिरहेको अवस्था छ । उनीहरुलाई कुलतबाट अनुशासित बनाउन फुटबलले मद्दत गर्छ भन्ने मलाई लाग्छ ।
नेपालगन्ज गोल्ड कपबाट जिल्लाले के पाउँछ ?
हामीले ए डिभिजनको प्रतियोगिता आयोजना गरिरहँदा त्यो लेभलको परफरमेन्स पनि हामीले देखाउन सक्नु पर्छ । हामी त्यो लेभलमा पुगेका छैनौं । तेस्रो गोल्डकप आइपुग्दा पनि हामीले त्यो स्तर प्राप्त गर्न सकेका छैनौं । नेपालगन्ज गोल्डकपमा ३५ प्रतिशत खेलाडी हाम्रै ठाउँका हुनेछन् । आगामी चौथो गोल्ड कप अगावै ३ महिना भन्दा बढीको प्रशिक्षण राख्छौं । त्यसपछि धेरै अपेक्षाहरुलाई जिल्लाले प्राप्त गर्न सक्छ भन्न सकिन्छ । यद्धपि, यति ठुलो प्रतियोगिताको आयोजनानै ठुलो कुरा हो ।

प्रतिक्रिया

प्रतिक्रिया