उद्योग सार्न उजुरी, सुनुवाई भएन, आन्दोलनको तयारी, नागरिक स्वास्थ्यमा प्रतिकूल असर
दैनिक नेपालगन्ज/विनय दीक्षित
नेपालगन्ज सहरलाई औद्योगिक सहरको रुपमा चित्रण गरिरहँदा उद्योग र कारखानाले स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावलाई उत्तिकै गम्भीरताका साथ लिनु पर्ने आवश्यकता छ । तर, उद्योग संचालन गर्नका लागि चाहिने न्युनतम मापदण्ड र कानूनी ब्यवस्थालाई लत्याउँदै एउटा उद्योगले मनपरी गरि नागरिक स्वास्थ्यलाई नै चुनौती दिएको छ । सन्दर्भ नेपालगन्ज वडा नं.१ धम्बोझीमा संचालित ऊँ प्लाइउड कम्पनीको हो ।
सहरको घना वस्ती, मन्द विष सेवन गरिरहेका जनता र प्रशासनले देखाएको लापरवाहीलाई कम्पनी आसपासका बासिन्दा दिनहुँ खेप्न बाध्य छन् । श्वास प्रश्वासदेखि छालाजन्य रोगको पीडा खेप्दै आएका बासिन्दाले उपमहानगरपालिका देखि प्रशासनसम्म गुहार लगाए । प्लाइउडको सुरक्षाका लागि स्वास्थ्यमा गम्भीर असर गर्ने फर्मालिनको प्रयोग गरेर घना बस्ती बीच चलिरहेको उद्योगलाई हटाउन र कारवाही गर्न स्थानीय बासिन्दाले विभिन्न सरोकारवाला कार्यालयमा पहल गर्दा पनि निकास हात नलागेपछि अहिले आन्दोलनको सुरसारमा पीडितहरु देखिएका छन् ।
नागरिक स्वास्थ्यमा गम्भीर असर पार्ने विषयको नालीबेली खोज्न दैनिक नेपालगन्ज टीम पीडितहरुको वस्ती नेपालगन्ज वडा नं.१ मा पुग्यो । त्यहाँ संचालित ऊँ प्लाइउड कम्पनीले उत्पन्न गर्ने धुँवा, प्रदूषण र विभिन्न खाले केमिकल सहित फर्मालिनको असरबाट स्थानीयहरु ब्याकुल रहेको पाइए । बालबालिका विद्यालय जान सकिरहेका छैनन्, बृद्ध बृद्धा देखि महिला पुरुष सबैको स्वास्थ्यमा उद्योगको प्रभाव छ । उद्योग संचालन भएका बेला आँखाबाट हेर्न नसक्ने स्थिति उत्पन्न हुन्छ, आँखामा खुर्सानी दले भन्दा निकै बढि प्रभाव पार्ने रसायनले स्थानीयहरुलाई तत्कालिन भन्दा दीर्घकालिन रुपमा चिन्तित बनाएको छ ।
स्थानीय प्रमोद गुप्ता भन्छन् उद्योगबाट आगलागी र प्लाइउड उमाल्न प्रयोग हुने मेसिन ब्वायलर पड्कने खतरा २४ घण्टा कायम रहेकोले कुन बेला के हुने भन्ने चिन्ताले सँधै पिरोलेको हुन्छ । उद्योगमा यसअघि ४/५ पटक भएको आगलागीका कारण स्थानीयहरुलाई भौतिक रुपमा क्षति भएको र आगामी दिनमा विष्फोट भए मानिसको ज्यान जाने जोखिम बीच जिवन यापन गर्नु बाध्यता भएको स्थानीय पिंकी गुप्ताले बताइन । उद्योगका कारण आँखा हेर्न नमिल्ने अवस्था उत्पन्न हुने गरेको जानकारी दिँदै स्थानीय वर्षातीलाल गुप्ताले, उद्योग अन्यत्र सार्नका लागि पटक पटक प्रशासन सहित उपमहानगरपालिका देखि मन्त्रालयसम्म उजुरी गर्दा पनि सुनुवाई नभएको गुनासो सुनाए ।
उद्योग स्थापना अघि वातावरणीय प्रभाव मुल्याँकन गर्ने प्रक्रिया हुन्छ । तर, नियमन गर्ने निकायले प्रभावकारी रुपमा काम नगर्दा समस्या उत्पन्न हुने गरेको छ । स्थानीय फूलमति थारु भन्छिन्, ‘उद्योग संचालन हुँदा बालबालिका आँखा हेर्न नसक्ने अवस्था उत्पन्न हुने गरेको छ । ’
आँखा पोल्ने समस्याका कारण घरमा बस्नै नसकिने अवस्था उत्पन्न भएकोले समाधानका लागि प्रयास गर्दा पनि सफलता हात नलागेको स्थानीय गयादीन चिडिमारले बताए । उनले समाधान हुनका लागि उद्योग वा वस्ती मध्ये एउटा सार्नु पर्ने देखिएकोले त्यस पक्षमा विचार भइरहेको जानकारी दिए । उद्योगलाई ब्यवस्थान गर्न र अन्यत्र सार्ने प्रयास र विषय नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय संगै वातावरण मन्त्रीसम्म पुग्यो । तर, उद्योग संचालक प्रमोद जालानले अटेरी गरी उद्योग चलाउँदै आएको र सरोकारवाला कार्यालयले प्रभावकारी कारवाही गर्न नसकेको स्थानीयहरुको गुनासो छ । सरकारी अधिकारी र सरोकारवाला निकायको मिलोमतो र लापरवाहीका कारण स्थानीयहरु दिनहुँ मन्द जहर सेवन गर्न बाध्यछन् । उद्योग संचालनमा बाधा पार्ने स्थानीयहरुको नियत नभएपनि अन्यत्र सारेर मात्र उद्योग संचालन गर्न सर्वपक्षीय माग छ ।
दिनहुँ जहर पिउने नियतिबाट मुक्ति मिलोस भन्ने प्रयास सबैको छ । उद्योगलाई वस्ती नभएको स्थानमा सार्नका लागि पहल हुँदै आएपनि सफलता हात लाग्न नसकेको स्थानीय कन्चन श्रेष्ठले बताए । उनले उद्योग संचालन गर्दा फर्मालिनको असर र ब्वायलर पड्किने खतरा विच स्थानीयहरु जीवन धान्न बाध्य भएको बताए । उद्योगका कारण स्वास्थ्य संगै बालबालिकाको पठन पाठन, घरायसी काम र ब्यवसायमा समेत असर परिरहेको छ । आँखामा खुर्सानी दले भन्दा बढि पिरो हुने हावाले ब्यापक सास्ती दिएपछि अहिले प्रशासनिक रुपमा उद्योगको प्रभाव अध्ययनको तयारी हुन थालेको छ ।
‘स्थानीयहरुको चिन्ता उद्योगबाट हुन सक्ने सम्भावित दुर्घटना तिर पनि केन्द्रित छ,’ संगम लाल गुप्ताले भने, ‘मानिसहरुको स्वास्थ्यको रक्षा नगरी कुनैपनि उद्योग संचालन गर्न हुँदैन ।’ धुँवा, प्रदूषण र फर्मालिन सहित विभिन्न केमिकलको प्रयोगका कारण स्थानीय क्षेत्रमा बसोबास गर्न नै चुनौतीपूर्ण भएको विपत चिडिमारले बताए । उद्योग सारेर भएपनि यसको समाधान तर्फ अग्रसर हुनु पर्ने स्थानीयको माग रहेको छ । फौजदार कुर्मी भन्छन्, ‘उद्योग संचालक संग पटक पटक गरिएको कुराकानी दादागिरीकै भरमा अघि बढ्न सकेन ।’ उनले सबै सरोकारवालालाई खरिद गरेकोले कुनै निकायबाट केही गर्न नसक्ने अडान लिँदै आएको कुर्मीले बताए ।
फर्मालिनको प्रयोगबाट छाला, श्वासप्रश्वासदेखि क्यान्सरसम्म हुने गरेको विवरणहरु छन् । यौन तथा छाला रोग विशेषज्ञ डा.बद्री चापागाईले भने, ‘उद्योगले प्रयोग गर्ने फर्मालिन मृत शरीरलाई लामो समयसम्म सुरक्षित राख्न र लामो दूरीमा आयात निर्यात हुने मासुजन्य पदार्थलाई सुरक्षित राख्न प्रयोग गर्ने गरिएको छ ।’
‘यद्यपि यसको प्रयोग गर्दा असरबाट सुरक्षित राख्नका लागि उद्योगले सुरक्षाका प्रचुर उपकरणहरु प्रयोग गर्नुपर्छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै डा.चापागाईले भने, ‘विदेशहरुमा यसको प्रयोग र मापन प्रष्ट भएपनि हाम्रो देशमा मनपरि हिसाबले प्रयोग हुँदै आएको छ ।’ मानववस्तीबाट टाढा रहेर फर्मालिनको प्रयोग गर्दा खासै प्रभाव नपर्ने भएपनि कर्मचारीको सुरक्षाका लागि उद्योगले आवश्यक सावधानी अपनाउनु पर्ने डा.चापागाईले बताए ।
‘जेष्ठ २ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा दायर भएको उजुरी बारे कारवाही किन हुन सकेन ?’ प्रश्नको जवाफमा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी भन्छन्, ‘यसबारे जानकारी प्राप्त गर्न सरोकारवाला कार्यालय नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा पत्राचार गरिएको छ ।’
‘हामी विकास र औद्योगीकरणको निरन्तर प्रयासमा छौं, उद्योग र विकास पनि चाहिएको छ‘, प्रजिअ केसीले भने, ‘त्यस बाहेक स्वास्थ्य गम्भीर विषय हो त्यसको सुरक्षाका लागि पनि आवश्यक कदम चाल्न उत्तिकै आवश्यक छ ।’ ‘यो विषय जानकारीमा आए लगत्तै यसको बारेमा के कसो भएको हो भनेर बुझ्न लगाइएको छ’, प्रजिअ केसीले भने, ‘मानवीय स्वास्थ्यमा गम्भीर असर पारेको बारे तथ्य पुष्टि भए उद्योग अन्यत्र सार्ने प्रक्रिया नै अघि बढ्छ ।’ उद्योग संचालक प्रमोद जालानलाई पटक पटक प्रतिक्रियाका लागि गरिएको प्रयास पनि सफल हुन सकेन ।