१७ हजार बढी आर्थिक इकाइको तथ्यांक संकलन, आगामी आ.व.मा उत्पादनमूलक उद्योगको तथ्यांक संकलन गरिने
दैनिक नेपालगन्ज/देबेन्द्र राज पौडेल
गत बैशाख १ गतेदेखि सुरु भएको आर्थिक गणना अन्तिम चरणमा पुगेको छ । जिल्ला आर्थिक गणना कार्यालय बाँकेले जिल्लाका आठै वटा स्थानीय तहमा १७ हजार बढी आर्थिक इकाइहरुको गणना भैसकेको जानकारी दिएको छ । आर्थिक गणनाका लागि जेठ मसान्तसम्मको समय रहेको आर्थिक गणना कार्यालय बाँकेका प्रमुख पोम नारायण पौडेलले जानकारी दिएका छन् । ‘जेठ १५ सम्म सम्पूर्ण आर्थिक इकाइहरुसम्म पुग्ने लक्ष्य हो’, प्रमुख पौडेलले भने, ‘बाँकी समय छुटपुट रहेको र गणनामा छुटेकाहरुको तथ्यांक संकलन गरिनेछ ।’ उनले जेठ मसान्तसम्म २० हजार आर्थिक इकाइहरुको तथ्यांक संकलन भैसक्ने अनुमान गरिएको बताएका छन् ।
आर्थिक गणना कार्यालयले कुनै पनि आर्थिक इकाइ नछुटुन् भनेर सुपरिवेक्षण समेत गरिरहेको छ । ‘गणना भएको क्षेत्रमा कोही छुटेका छन् कि भनेर अनुगमन गर्ने काम भैरहेको छ’, प्रमुख पौडेलले भने, ‘कुनै पनि क्षेत्रमा अपेक्षा गरिएभन्दा कम आर्थिक इकाइको तथ्यांक आएमा सुक्ष्म अध्ययन हुने गरेको छ ।’ कतिपय उद्योग तथा कार्यालयबाट आर्थिक विवरण प्राप्त नभएकाले फलोअपका कामहरु समेत नियमित रुपमा कार्यालयबाट भैरहेको उनले जानकारी दिए ।
देशको समग्र आर्थिक क्रियाकलापहरुको स्थिति मूल्यांकन गरी आर्थिक नीति तथा कार्यक्रम तर्जुका लागि सरकारले पहिलो पटक आर्थिक गणना गरिरहेकाले कुनै पनि आर्थिक प्रतिष्ठानहरु छुटेको भए जेठ मसान्तसम्म कार्यालय सम्पर्क गरी तथ्यांक उपलब्ध गराउन सक्ने व्यवस्था समेत गरिएको छ । ‘तथ्यांक दिएर आर्थिक स्थितिको वास्तविकता सरकार समक्ष पुर्याउनु नागरिक दायित्व हो’, प्रमुख पौडेलले दैनिक नेपालगन्जसँग भने, ‘कोही छुटेको भए सम्पर्क गरेर आफ्नो प्रतिष्ठानको तथ्यांक उपलब्ध गराउन सक्नुहुनेछ ।’
जेठ मसान्तसम्म गणना सकेपछि कार्यालयले प्राप्त तथ्यांकको फिल्टर सुरु गर्ने पौडेलले जानकारी दिए । ‘असारको अन्त्यसम्म आठ वटै पालिकाको प्रारम्भिक रिपोर्ट तयार गर्ने लक्ष्य राखेको छौं’, उनले भने । कतिपय व्यवसायीहरु भने आर्थिक गणना राजश्व संकलनका लागि भैरहेको भ्रमका कारण सशंकित भएको पाइएको गणनामा खटिएका गणकहरु बताउँछन् । ‘धेरै व्यवसायीलाई सम्झाएर तथ्यांक लिंदा एकै ठाउँमा धेरै समय लाग्ने गरेको छ’, एक गणकले भने । गणना कार्यालय प्रमुख पौडेल प्रचारप्रसार, सरोकारवालाहरुसँग अन्तरक्रियाले धेरै सकारात्मक प्रभाव पारे पनि सबै व्यवसायीको आशंका भने हटाउन नसकिएको स्वीकार्छन् । ‘हामीले व्यवसायीका प्रतिनिधिमूलक संघ, संगठनहरुसँग अन्तरक्रिया नै गरेर आर्थिक गणनामा आशंका नगर्न आग्रह गर्यौं’, उनले भने, ‘धेरै व्यवसायीमा आशंका व्याप्त रहेको पाइयो ।’
प्रमुख पौडेलले गणनाबाट बाँकेका आर्थिक इकाइको प्रकृति, रोजगारीको अवस्था स्पष्ट हुने बताएका छन् । उनले पूँजी तथा आयव्यायका तथ्यांक भने स्पष्ट हुन्छ÷हुँदैन भन्ने तथ्यांक फिल्टर पनि मात्र भन्न सकिने बताएका छन् । ‘आर्थिक गणनाको मुख्य लक्ष्य आर्थिक इकाइको प्रकृति पहिचान, रोजगारीको अवस्था पत्ता लगाउनु हो’, उनले भने, ‘लक्ष्य अनुसार काम भएकोमा हामी विश्वस्त छौं ।’ प्रमुख पौडेलले हालको आर्थिक गणनाले भविष्यमा कुनै खास क्षेत्रको अध्ययन तथा गणनाका लागि मद्दत पुग्ने जानकारी दिए । जिल्ला आर्थिक गणना कार्यालय बाँके मार्फत बाँकेमा ७७ गणक र ११ जना सुपरिवेक्षक गणना कार्यका लागि खटिएका छन् ।
यसैबीच सरकारले आगामी आर्थिक बर्षमा उत्पादनमूलक क्षेत्रको गणना गर्ने भएको छ । ‘उत्पादनमूलक उद्योगहरुको गणना गर्न सरकारले बजेट समेत छुट्याइसकेको छ’, आर्थिक गणना कार्यालयका प्रमुख पौडेलले भने, ‘१० वा १० भन्दा बढीलाई रोजगारी दिएका सञ्चालनमा रहेका उत्पादनमूलक उद्योगको गणना हुने भएको हो ।’
जिल्ला आर्थिक गणना कार्यालय तथ्यांक संकलनको काम सकिए लगत्तै जिल्ला तथ्यांक कार्यालय मातहत रहने बताइएको छ । तथ्यांक कार्यालयले गत बर्ष उद्योगमा कार्यरत कामदारहरुको अवस्था, समस्याका बारेमा अध्ययन गरेको थियो ।