बाँकेका १४ मुद्दा सम्बोधनको माग गर्दै संघका अध्यक्ष मुख्यमन्त्री कार्यालयमा

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले विद्युत समस्यादेखि औद्योगिक करिडोर निर्माणसम्मका १४ बुंदे माग मुख्यमन्त्री समक्ष बुझाएका हुन् ।

समाचारदाता
दैनिक नेपालगन्ज

नेपालगन्ज उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायीका समस्यादेखि बाँकेको विकास निर्माणसँग जोडिएका विभिन्न १४ बुंदे माग प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल समक्ष ज्ञापनपत्र बुझाएको छन् । संघका अध्यक्ष नन्दलाल वैश्यले बिहिबार राजधानी बुटवल पुगेर मुख्यमन्त्री पोखरेललाई १४ बुंदे ज्ञापनपत्र बुझाएका हुन् ।
‘विद्युत अनियमितताले बेहाल भैरहेको नेपालगन्जको पीडादेखि औद्योगिक करिडोर निर्माणका लागि तदारुखता देखाउनेसम्मका विषयमा मुख्यमन्त्री पोखरेलसँग छलफल पनि गरिएको छ’, अध्यक्ष वैश्यले ज्ञापन पत्र बुझाइएको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘आशा छ, मुख्यमन्त्रीले हाम्रा मागहरुको सुनुवाईमा गम्भीर पहलकदमी लिनुहुनेछ ।’ अध्यक्ष वैश्यले मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाइरहँदा नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख डा. धवल समशेर राणा, प्रदेशसभा सदस्य आइपी खरेल, नेपाल कम्युनिष्ट पार्टीका नेता अशोक कोइराला सम्मिलित थिए ।

 

ज्ञापन पत्रमा नेपालगन्ज उद्योग वाणिज्य सङ्घले ५० वर्षको भोगाधिकार प्राप्त गरेको कारकाँदोस्थित सडक डिभिजन परिसरको दस विगाहा जमिनमा सिटी हल निर्माण गर्ने योजना कार्यान्वयनका लागि ध्यानाकर्षण गराइएको छ । ‘सरकारबाट हालसम्म कुनै सहयोग प्राप्त नहुँदा आर्थिक स्रोतको अभावमा निर्माण हुन सेकको छैन’, ज्ञापनपत्रमा भनिएको छ, ‘आर्थिक स्रोतको व्यवस्थापन गरी ५ नम्बर प्रदेशका ठुला सभा, सम्मेलन समेत गर्न सकिने सिटीहल निर्माण गर्न, गराउन जोडदार माग गर्दछौँ ।’

 

अध्यक्ष वैश्यले बुझाएको ज्ञापनपत्रमा नेपालगन्जको विद्युत समस्या स्थायी रुपमा समाधान गर्न पनि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । ज्ञापनपत्रमा नेपालगन्जका लागि राष्ट्रिय प्रसारण ग्रिडबाट नियमित रुपमा १५ मेगावाट विद्युत माग गरिएको छ । ‘आयात निर्यात व्यापारको मुख्य नाकाका रुपमा प्रयोग हुँदै आएको नेपालगन्ज उपमहानगर र बाँके जिल्ला ५ नम्बर प्रदेशको राजधानी बन्ने पूर्वाधार हुँदाहुँदै पनि राजनीतिक खिचातानीको शिकार बन्न पुगेको छ’, ज्ञापनपत्रमा उल्लेख छ, ‘नेपालगन्जलाई औद्योगिक करिडोरका रुपमा स्थापित गरी औद्योगिक राजधानी बनाउन मुख्यमन्त्रीज्यू समक्ष जोडदार माग गर्दछौँ ।’

 

मुख्यमन्त्री पोखरेललाई बुझाइएको ज्ञापनपत्रमा नेपालगन्ज विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन, बाँकेमा सूचना प्रविधि विश्वविद्यालय खोल्नका लागि पहल गर्न, भेरी अञ्चल अस्पातालमा विभिन्न विषयमा अध्ययनका गर्न स्नातकोत्तर कक्षाहरु सञ्चालनका लागि पहल गर्न माग गरिएको छ ।

 

‘नेपालगन्ज स्थित बागेश्वरी मन्दिरलाई संरचनागत सुधार र पुर्नानिर्माण गर्न, महेन्द्र बहुमुखी क्याम्पस संरचनागत सुधार र पुर्नानिर्माण, नेपालगन्ज विश्वविद्यालय स्थापनाका लागि संघले प्रदेश सरकारसँग माग गरेको छ । बाँकेको खजुरास्थित क्यान्सर अस्पताल आवश्यक उपकरण तथा आर्थिक अनुदान उपलब्ध गराई स्तरोन्नति गर्न पनि प्रदेश सरकारसँग अनुरोध गरिएको छ । प्रदेश नम्बर ५ मा विशेष कृषि क्षेत्र (सेज) स्पेशल एग्रिकल्चर जोन स्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन आवश्यक व्यवस्थाका लागि ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

 

‘नेपालगन्ज तथा बाँके जिल्लामा प्रदेश सरकारका मन्त्रालय र विभागहरुका सम्पर्क कार्यालयहरु स्थापना गरी प्रशासनिक सहजता कायम गराइ पाउन अनुरोध गर्दछौँ’, संघ अध्यक्ष वैश्यले बुझाएको ज्ञापनपत्र उल्लेख छ, ‘बाँके जिल्लाको कृषि क्षेत्रलाई व्यवसायिक खेती गर्न विशेष अनुदानका लागि पहल गरियोस् ।’

प्रतिक्रिया

प्रतिक्रिया