समाचारदाता
दैनिक नेपालगन्ज
आगामी मंसिरमा पूर्व घोषणा गरिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जनसहभागिता पहल थालिएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले त्यसका लागि मंगलबार नेपालगन्जका विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रियात्मक छलफल गर्यो ।
मंसिर २१ गतेदेखि आयोजना हुने पूर्व घोषित आठांै राष्ट्रिय खेलकुद आयोजनाको मुख्य केन्द्र घोषित नेपालगन्जमा व्यापक जनसहभागिताका लागि खेलकुद विकास समितिले अन्तरक्रियात्मक छलफल गरेको हो । ‘आठौंको चर्चा बाँके, बर्दियाका प्रत्येक जनताका घर दैलोमा पुग्नुपर्छ’, समितिका अध्यक्ष भीम ओलीले प्रतिनिधिमूलक सहभागिता बीच गरिएको अन्तरक्रियामा भने, ‘खेलकुद प्रत्येक नागरिकको जीवन र स्वास्थ्यसँग जोडिएको विषयवस्तु हो भन्ने कुराको सचेतना पनि यसै माध्यमबाट हुनेछ ।’
धार्मिक क्षेत्रका अगुवादेखि सामाजिक क्षेत्रको नेतृत्व गरिरहेका व्यक्तित्वसम्म सहभागी गराइएको छलफलमा व्यवसायिकदेखि साहित्यिक क्षेत्र समेतको सहभागिता थियो । ‘यो विषय परम्परागत रुपमा खेल, खेलकर्मी र खेलाडी बीचमात्रै सीमित रहनु हुँदैन’, नेपालगन्जलाई खेलकुदको राजधानीको रुपमा विकास गर्न आठौं राष्ट्रिय खेलकुद आयोजना र यसको सेरोफेरोमा महत्वपूर्ण भूमिका खेल्न सकिने तर्क गर्दै अध्यक्ष ओलीले भने, ‘त्यसका लागि सिंगो बाँके जिल्ला एक हुनुपर्छ ।’ बाँके, बर्दियालाई केन्द्रमा राखेर अधिकांस खेलकुदका प्रतियोगिताहरु आयोजना हुने जानकारी दिंदै अध्यक्ष ओलीले भौतिक पूर्वाधार निर्माणका लागि पनि त्यसरी नै बजेट विनियोजन भैरहेको र धमाधम निर्माण कार्य पनि गरिएको बताए ।
अन्तरधार्मिक सञ्जालका अध्यक्ष, प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले खेलकुदको विकास र बिस्तारका लागि धार्मिक क्षेत्रका अगुवाहरुले साथ दिने प्रतिबद्धता जनाए । उनीसँगै मुस्लिम धर्मगुरु मौलाना जब्बार, बौद्ध धर्मगुरु लगायत अन्तरक्रियामा सहभागी थिए । ‘खेलकुदलाई सही ढंगले विकास र बिस्तार गर्ने हो भने त्यसका लागि विद्यार्थी बालबालिका नै सबैभन्दा महत्वपूर्ण आधार हुनसक्छन्’, हिसानका वरिष्ठ केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेलले भने । सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गरिरहेको अग्रणी संस्था लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का पूर्व गभर्नर सेम शाक्यले आठौं राष्ट्रिय खेलकुदका लागि यथासम्भव सहयोगको प्रतिबद्धता जनाए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, होटल व्यवसायी संघ बाँके नेपालगन्जका महासचिव भीम कंडेल, उद्यमी मिना ढकाल, बार्दली फाउण्डेशनका महासचिव ऋचा लुइटेल, बारका पूर्व अध्यक्ष उदयराज बर्मा, प्याब्सन बाँकेका कोषाध्यक्ष दिनेश शर्मा, नेपालगन्ज साइक्लिङ क्लबका सचिव गगन थापा लगायतले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यापकताका लागि साथ, सहयोग र सहभागिताको प्रतिबद्धता जनाए । क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक जयन्त शर्माले आयोजनाका प्राविधिक पक्षहरुबारे प्रकाश पारेका थिए ।
आठौं राष्ट्रिय खेलकुदको तयारीका क्रममा नेपालगन्ज रंगशालाको पुनर्निर्माणदेखि भौतिक पूर्वाधारका विभिन्न संरचनाहरु धमाधम निर्माण भैरहेको अध्यक्ष ओलीले सहभागीहरुलाई जानकारी दिए । ‘झण्डै १ अर्बका भौतिक पूर्वाधारहरु आठौंको सेरोफेरोमा निर्माण भैरहेका छन्’, अध्यक्ष ओलीले भने, ‘त्यसको अधिकांस लगानी बाँकेमा छ ।’
छलफलमा सहभागीहरुले राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहास केलाउँदै विभिन्न बहानामा प्रतियोगिता सारिने सम्भावनाहरुलाई कुनै हालतमा पनि स्वीकार गर्न नसकिने भन्दै समयमै निर्मार्णाधिन पूर्वाधारहरु सक्न सम्बद्धहरुको ध्यानाकर्षण पनि गरेका थिए । अन्तरक्रियामा आगामी शुक्रबारदेखि आयोजना हुने प्रादेशिक स्तरीय राष्ट्रपति कप रनिङ शिल्ड बारे अध्यक्ष ओलीले जानकारी गराएका थिए । ‘खेलकुद मन्त्रीको सहभागितामा हुने उद्घाटन सत्रलाई भव्यता दिने तयारीमा जुटेका छौं’, राष्ट्रपति रनिङ शिल्डबारे ओलीले भने ।