नेपालगन्ज : विद्युत ‘छिनछिनमै कटौती’

बिहिबारबाट विद्युत नियमित हुने आश्वासन

समाचारदाता
दैनिक नेपालगन्ज

तीन वर्ष अघि प्राविधिक कारण बाहेक लोडसेडिङ गर्न नपाउने गरि तत्कालीन पुनरावेदन अदालत नेपालगन्जले गरेको आदेशलाई नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जले दिनहुँ लत्याउँदै आएको छ । एक घण्टामा चार पटकसम्म विद्युत कटौती हुन थालेपछि बाँकेका बासिन्दा अचेल चौतर्फी रुपमा तनावमा छन् । उद्योग, ब्यवसाय र विद्युतबाट हुने कारोबारहरु धराशयी अवस्थामा छन् ।

 

सरकारले देशैलाई लोडसेडिङ मुक्त घोषणा गरिरहेका बेला नेपालगन्ज सहित बाँकेमा विद्युतको सकस किन ? विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुखका राम दुलार यादव भन्छन्, ‘नेपालगन्जमा विद्युत कटौती हुनुमा प्राविधिक कारण नै मुख्य हो ।’ ‘हावाहुरिका कारण नेपाल र भारत दुबै मुख्य प्रशारण लाइनमा समस्या हुन जान्छ’, यादव भन्छन्, ‘नियतवस विद्युत आपूर्तिमा बाधा गरिएको होइन ।’ बढ्दो गर्मीले सास्ती खेप्दै आएका बाँकेका बासिन्दा विद्युत अपूर्ति असहज हुँदा झन अक्रोशमा छन् ।

 

भारतीय क्षेत्रबाट ११ मेगावाट र नेपालको राष्ट्रिय प्रसारण लाइनबाट ३ देखि ८ मेगावाटसम्म विद्युत आपूर्ति भइरहेको प्राधिकरण कार्यालयले जनाएको छ । ‘भारतीय क्षेत्रबाट सप्लाईमा समस्या छैन’, वितरण केन्द्र प्रमुख यादवले भने, ‘नेपाली क्षेत्रबाट नै विद्युत अनियमित गर्दा समस्या उत्पन्न हुने गरेको हो ।’
आइतबारदेखि मंगलवार तीन दिनको बीचमा भारतीय क्षेत्रबाट भइरहेको सप्लाई दुई पटक पूर्ण रुपमा अवरुद्ध भएको थियो । प्राधिकरणका अनुसार, भारत उत्तर प्रदेशमा आएको हावाहुरिका कारण तार चुडिएपछि नेपालगन्जको सप्लाई बाधित हुन गएको हो । ‘नेपालको सप्लाईबाटै छिनछिनमा सबैतिर सप्लाई दिनु परेको थियो’, प्राविधिक कर्मचारी भन्छन्, ‘जटिलता हावा हुरीको मौसमका कारण पनि भइरहेको छ ।’

 

त्यसबाहेक नेपालगन्जमा सडक विस्तारको क्रममा पनि चुनौती थपिएको यादवले बताए । घर भत्काउने ब्यक्तिले विद्युतको पोल र तार माथि नै संरचना खसाएका कारण त्रिभुवन चोकदेखि त्रिवेणीमोडसम्मको लाइन पटक पटक अवरुद्ध हुने गरेको उनले बताए । ‘नेपालगन्जमा विद्युत लोडसेडिङ तालिका छैन’, यादव भन्छन्, ‘तीन दिन भित्र नेपाली क्षेत्रको विद्युत दर्जन बढी पटक अनियमित भएको हो ।’ ‘नेपालगन्जका लागि अझै विद्युत अपुग नै छ’, उनले भने, ‘कम्तिमा पनि २५ मेगावाट गर्मीमा आवश्यक पर्छ ।’

 

 

‘माग बमोजिम सप्लाई दिन सक्ने वातावरण नभएका कारण कुनै नकुनै स्थानमा कटौती गर्नु पर्ने बाध्यता पनि छ’, यादव भन्छन्, ‘नेपालगन्जका लागि भारतीय क्षेत्रबाट वा नेपाली विद्युत अपूर्ति नबढाएसम्म दीर्घकालीन रुपमा समस्या समाधान हुन सक्दैन ।’

 

केही स्थानमा नयाँ ट्रान्सफर्मर जडान गरेर नै समस्या समाधान हुने खालको देखिएकोले एयरपोर्ट फिडरमा ३ एमभीए ट्रान्सफर्मर जडान कार्य अघि बढाइएको यादवले जानकारी दिए । ‘मुस्लिमहरुको पर्व चलिरहेपनि भारतीय पक्षले विद्युत कटौती गरेको छैन’, यादव भन्छन्, ‘नेपाली क्षेत्रबाट कुनै बेला ८ र कुनै बेला ३ मेगावाट विद्युत दिने गरेका कारण सोही अनुसार कार्यतालिका प्रभावित हुने गरेको छ ।’ यद्यपि केन्द्रीयस्तरसम्म समस्या बारे जानकारी गराइएको बताउँदै यादवले भोलि विहिवारबाट नेपालगन्जमा विद्युत सहज हुने सम्भावना रहेको बताए । ‘विहिवारबाट समस्या ८० प्रतिशत सम्म समाधान हुने सम्भावना देखिएको छ’, उनले भने, ‘नेपालको सप्लाई नियमित र नेपालगन्जको केहि स्थानमा नयाँ ट्रान्सफर्मरले गर्दा अवस्था सामान्य हुन सक्ने अनुमान छ ।’

 

 

विद्युत अनियमित र अत्यधिक भोल्टेजका कारण नेपालगन्जका बासिन्दाको थुप्रै विद्युतीय उपकरणहरु ध्वस्त भएको गुनासो समेत आएको छ । गर्मीका बेला हरेक वर्ष नेपालगन्जको विद्युत आपूर्तिले चर्चा लिएपनि दीर्घकालीन निकास हुन सकेको छैन ।

कसरी छल्ने गर्मी ?

गर्मी मौसम अन्य मौसम भन्दा जटिल हुने भएकोले यस बेला सतर्कताका उपायहरु पनि धेरै भएको चिकित्सकले बताएका छन् । ‘गर्मीका कारण झाडा पखालाको प्रकोप हुने सम्भावना पनि हुन्छ’, डा.संकेत रिसाल भन्छन्, ‘यस्तो मौसममा शुद्ध र तरल पदार्थको सेवन अत्यधिक गर्नु पर्छ ।’ ‘गर्मीका कारण स्वास्थ्यमा समस्याहरु उत्पन्न हुने सम्भावना देखिए तत्काल चिकित्सकको राय लिनु हितकारी हुन्छ’, उनले भने, ‘यस्तो मौसममा घाममा बाहिर ननिस्कने हिसाबका कामहरु गर्नु पर्छ ।’

 

‘बाहिर निस्कनु पर्ने भए छाताको प्रयोग वा गर्मी कम लाग्ने खालका लुगाहरुको प्रयोग उत्तिकै आवश्यक हुन्छ’, डा.रिसाल भन्छन्, ‘शितल हुने खालका खाना र पानी पिउने प्रयास गर्नु पर्छ ।’ ‘सडक छेउमा बिक्री भइरहेको विभिन्न दूषित पदार्थ खानबाट बच्नु पर्छ’, डा.रिसालले भने, ‘हातको सरसफाईमा स्वास्थ्यका लागि महत्वपूर्ण पक्ष हो ।’ ‘गर्मीमा पसिनाका कारण बैक्टेरिया सर्ने सम्भावना प्रबल हुन्छ’, उनले भने, ‘सफा पानीले हात धुने र त्यसपछि मात्र खाने कुराहरु सेवन गर्नु पर्छ ।’ ‘वातावरणको तापक्रमका अनुसार आफुलाई परिमार्जित गर्ने तर्फ पनि ध्यान दिन जरुरी हुन्छ’, डा.रिसालले भने, ‘एकै पटक चिसो र एकै पटक गर्मी भएको स्थानमा आवत जावत गर्न हुँदैन ।’ गर्मी मौसममा लामखुट्टेको टोकाईबाट हुन सक्ने प्रकोप, परजीवी, सर्प लगायतको जोखिमहरुलाई ध्यानमा राखी सुत्ने ब्यवस्था पनि सुरक्षित हुनु पर्ने डा. रिसालले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया