समाचारदाता
दैनिक नेपालगन्ज
आगलागीबाट उद्योग, व्यवसाय क्षेत्र नोक्सानी बढ्दै गएपछि नेपालगन्जका उद्योगी, व्यवसायीहरुले थप दमकल सेवाको व्यवस्था मिलाउन माग गरेका छन् । आइतबार नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय पुगेका व्यवसायीहरुले तत्काल थप दमकलको व्यवस्था गर्न माग गरेका हुन् ।
‘आगलागीबाट उद्योग, व्यवसाय क्षेत्र प्रताडित भयो’, संघका अध्यक्ष नन्दलाल वैश्यले प्रतिनिधिमण्डलले उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा लगायतसँग त्यसबारे गम्भीर छलफल गरेको जानकारी दिंदै भने, ‘अहिले भएको दमकल पर्याप्त भएन ।’ दमकलका लागि आवश्यक स्रोत व्यवस्थापन गरी व्यवसायीहरुको मागमा कार्यान्वयनमा उपमहानगरपालिकाले प्रतिबद्धता जनाएको अध्यक्ष वैश्यले जानकारी दिए ।
संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव अजय टण्डन, सदस्यहरु टंक धामी, श्यामसुन्दर अधिकारी, रोमनाथ न्यौपाने, सलाउद्दिन जसगढ लगायत उद्योग वाणिज्य संघका कार्यसमिति सहित पुगेका विभिन्न उद्योगी, व्यवसायीहरुले व्यवसायी कर छुटका लागि पनि नगर पदाधिकारीहरुसँग छलफल गरेका छन् । ‘हाम्रो मागलाई सुनुवाई गर्दै ५० प्रतिशत छुटको म्याद जेठ ११ गतेसम्म पुर्याइएको छ’, अध्यक्ष वैश्यले भने ।
संघको प्रतिनिधिमण्डलले नगरको सरसफाईमा ध्यान दिंदै घुम्ति शौचालय व्यवस्थापनमा तत्काल गम्भीर हुन उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । ‘स्थायी व्यवस्थापन नहुञ्जेल घुम्ती शौचालयको व्यवस्था जरुरी छ’, अध्यक्ष वैश्यले दैनिक नेपालगन्जसँग भने, ‘उपमहानगरपालिकाले जग्गा उपलब्ध गराए स्थायी शौचालय हामी निर्माण गर्छौ ।’ उनले धम्बोझी र त्रिभुवन चोकमा तत्काल अस्थायी शौचालयको आवश्यकता भएको औंल्याए ।