विशालले फेरि सुरु गरे, ‘टक विद माई फोटोज्’

दैनिक नेपालगन्ज

कक्षा ८ की छात्रा सुमिना केसीले पहिलो पटक आइतबार डिएसएलआर क्यामेरा समाउने र फोटो खिच्ने अवसर पाइन् । ‘पहिलो पटक क्यामेरा चलाउन पाउँदा साँच्चिकै रमाइलो लाग्यो’, क्यामेरा समाएर देब्रे आँखा चिम्लेर दाहिने आँखाले क्यामेराको भ्यूफान्डरमा हेर्दे केसीले भनिन्, ‘म पनि अब फोटो खिच्न सक्छु ।’

नेपालगन्जमा रहेर फोटोग्राफी गर्दै आएका बिशाल रानामगरले आइतबार ब्रिटिस इंगलिस बोर्डिंग स्कुलमा गरेको ‘टक विद माई फोटोस्’ कार्यक्रममा सहभागी भएपछि केसीले आफु पनि फोटोग्राफर हुन सक्ने आत्मविश्वास व्यक्त गरेकी हुन् ।
कार्यक्रममा फोटोग्राफर रानामगरले आफुले खिचेका विभिन्न फोटोहरुको प्रदर्शनीका साथै फोटोग्राफीका आधारभूत विषयमा आफ्नो अनुभव साटेका थिए । कार्यक्रममा सहभागी भएकी अर्का विद्यार्थी सुविक्षा स्नेहीले भनिन्, ‘फोटो खिच्ने मात्र होइन यसले कुनै सन्देश पनि दिन सक्नुपर्दो रहेछ भन्ने थाहा भयो ।’

करिब तीन घण्टा चलेको फोटोग्राफीबारे छलफलका क्रममा सहभागी विद्यालयका ५० जना भन्दा बढि विद्यार्थीहरुले मगरसँग फोटोग्राफीको बारेमा अन्तक्र्रिया गरेका थिए । ‘टक विद माई फोटोज्’ अभियानमा मगरले आफुले विभिन्न ठाउँमा खिचेका फोटोहरुको प्रदर्शनी, फोटो खिच्दाको अनुभव, कठिनाई तथा फोटोसँग जोडिएको रोचक जानकारी तथा प्राविधिक कुराहरुको बारेमा जानकारी गराएका थिए ।

‘फोटोग्राफीको माध्यमबाट मानिसको दैनिक जिवनसँग जोडिएका क्षण तथा बालबालिकाहरुलाई समाजका विभिन्न सवालहरुलाई बुझ्न मद्दत गर्ने उद्देश्यले यो अभियान सुरु गरेको हुँ’ मगरले दैकिन नेपालगन्ज सँग भने, ‘फोटोको माध्यमबाट समाजमा रहेको गरिबि तथा असमानताहरुलाई विद्यार्थीमाझ छलफल गर्न उनिहरुलाई सकारात्मक व्यवहारतर्फ उन्मुख गर्न प्रेरित गर्ने प्रयास हो ।’

 

कार्यक्रममा फोटोग्राफी सम्बन्धी आधारभुत ज्ञानका साथै प्रदर्शन गरिएको फोटोहरुको बारेमा छलफल गरिएको थियो । जसका क्रममा विद्यार्थीहरुले फोटो एकपटक हेर्दामात्र सबै थाहा नहुने र यसले एउटा गहन कथा बोकेको हुने थाहा भएको बताए । कक्षा आठमै पढ्ने सुविक्षा स्नेही, संगमबाबु पौडेल र मो. रहिस शेष पनि कार्यक्रमपछि उत्साहित देखिए । उनिहरुले मगरसँग फोटोग्राफी यात्रा, फोटोग्राफीका प्राविधिक पक्ष तथा क्यामेराको बारेमा जिज्ञासा राखेका थिए ।

 

ब्रिटिस इंगलिस बोर्डिंग स्कुलका प्रिन्सिपल हेमन्त राज काफलेले मगरको अभियानले विद्यार्थीहरुलाई फोटोग्राफीको ज्ञान र सकारात्मक बाटोमा अगाडि बढ्न प्रेरित गरेको बताए । ‘यो अभियानले विद्यार्थीहरुलाई आफ्नो वरपर भएका घटनाहरुलाई फोटोमा उतार्न र अन्यलाई जानकारी दिन पनि मद्दत गर्नेछ’, काफ्लेले भने । रानामगरले सन् २०१६ बाट सुरु गरेको ‘टक विथ माई फोटोस्’ नेपालगन्जका समावेशी स्कुल, खजुराको ज्ञानोदय स्कुल लगायत चार ठाउँमा आयोजना भइसकेको छ । अभियानमा केही समय रोकिएका मगरले ‘टक विद माई फोटोज्’लाई नियमित गर्दै अगाडी बढ्ने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया