अदालत बाहिरै तुहियो आदेश

धूलोका कारण अदालतका सेवाग्राही, कर्मचारीदेखि न्यायाधीशसम्म प्रभावित

दैनिक नेपालगन्ज/विनय दीक्षित

बाँके जिल्लामा विकास निर्माणको कुनैपनि काम गर्दा त्यसबाट उत्पन्न हुने धुलो नियन्त्रण गर्न र धुलो नउडाएर काम गर्न हालै भएको अदालतको अन्तरिम आदेशलाई सोमवार उच्च अदालत आफैले थेग्न सकेन । नेपालगन्जको चारबाहिनी चोकदेखि त्रिवेणी मोडसम्म निर्माण भइरहेको सडकलाई कालो पत्रे गर्नु अघि प्रेसर मेसिनबाट सडकको धुलो सफा गरिएपछि अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म धुलाम्मे अवस्थाबाट प्रभावित भए । सडकको पूर्व तर्फ बाँके जिल्ला अदालत र पश्चिम तर्फ उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास स्थापित छ । निर्माण कम्पनीले ग्राभेल गरि लेभल मिलाइएको सडक सफा गरि कालो पत्रे गर्ने कार्य आइबारबाट सुरु गरेको छ ।

 

सडक कालोपत्रे गर्नु अघि प्रेसर मेसिनले धुलो हटाउँदा दुईवटा अदालत, मालपोत कार्यालय, भेरी अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, नेपाल टेलिकम, सहित ३ दर्जन बढि सरकारी र निजी कार्यालयका कर्मचारी प्रभावित भएका छन् । अस्पताल आसपास क्षेत्रका होटलदेखि मेडिकलसम्म धुलोका कारण दिउँसो ११ देखि २ बजे सम्म बन्द अवस्थामा थिए । अस्पताल क्षेत्रमा धूलोले गर्दा विरामीलाई सास्ती भयो । अदालतले नेपालगन्ज सहित बाँकेमा विकास निर्माण गर्दा धूलो निषेध रहने गरि काम गर्न हालै मात्र आदेश दिएको थियो ।

 

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका रजिष्ट्रार भुवन गिरीले धुलोबाट चौतर्फी समस्या भएको जानकारी आएको तर आफु मिटिङमा भएका कारण प्रत्यक्ष समस्या अवलोकन गर्न नपाएको बताएका छन् । अदालतले विकास निर्माणको काम गर्दा धुलो नउड्ने गरि गर्नु पर्ने र निर्माण स्थलमा पानी लगायतको वैकपिल्वक ब्यवस्था गरेर मात्र विकास निर्माणको काम गर्नु पर्ने आदेश जारी भएको रजिष्ट्रार गिरीले बताए ।

 

‘आदेशको अपहेलना भएको सन्दर्भमा निवेदक वा सोही बमोजिमको पक्ष आएर अदालतमा पुनः जानकारी दिने हो भने आदेश विरुद्ध काम गर्ने निकाय उपर कानून अनुसार कारवाही अदालतले गर्छ’, गिरीले भने, ‘अदालतले आफ्नो आदेशमा आफै उलंघन जाँच गर्ने होइन ।’ फैसला कार्यान्वयन सम्बन्धी काम बाँके जिल्ला अदालतले गर्दै आएको छ । धूलो सम्बन्धी मुद्दामा रिट निवेदक अधिवक्ता विश्वजीत तिवारीले धूलोका कारण अदालत आफैपनि प्रभावित भएको बताए ।
पानी हालेर धूलो हटाउने ब्यवस्था भएपनि निर्माण कम्पनीले अदालतको आदेशको अवज्ञा गर्दै धूलोबाट पूरै अदालत र अस्पताल क्षेत्र दूषित बनाएको तिवारीले बताए । धूलो कारण भेरी अंचल अस्पतालका विरामी, एम्बुलेन्स सेवा र आवत जावत गर्ने बटुवालाई समेत सास्ती खेप्नु परेको हो, उनले भने, प्रत्यक्ष रुपमा यो आदेशको मजाक हो ।

 

अधिवक्ता विश्वजित तिवारी र अधिवक्ता सुनिल कुमार श्रेष्ठले मुद्दामा क्षेत्रीय ट्राफिक कार्यालय बाँके, भेरी अञ्चल यातायात कार्यालय, नेपालगन्ज उपमहानगरपालिका कार्यालय र वातावरण विभाग, जिल्ला प्रशासन कार्यालय बाँके, क्षेत्रीय सडक तथा डिभिजन कार्यालय, हुलाकी राजमार्ग कार्यालय, जिल्ला ट्राफिक कार्यालय, मुख्य मन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय, ५ नं. प्रदेश, वुटवल, उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रालय प्रदेश नं.५ बुटवल, एकीकृत शहरी विकास परियोजना आयोजना ईकाई कार्यालय नेपालगन्जलाई विपक्षी बनाइएको थियो ।

 

रिटमा धुलोका कारण स्वास्थ्यमा परिरहेको असर र त्यसबाट हुने क्षति बारे विश्लेषण गर्दै सुधारको माँग गरिएकोमा अदालतले सुविधा सन्तुलनको हिसाबले धुलो धुँवा नियन्त्रणका लागि प्रभावकारी रुपमा ब्यवस्था मिलाई स्प्रे समेतको प्रयोग गरि धुलो उड्नबाट रोक्न विपक्षी कार्यालयहरुलाई २०७४ चैत्र १४ गते अन्तरिम आदेश दिएको थियो ।
न्यायाधीश शारंगा सुवेदी र खुसीराम थारुको इजलासले विपक्षी कार्यालयलाई धुलो छेक्ने कार्यका लागि आवश्यक पर्ने उपकरण लगायतको ब्यवस्था मिलाउन आदेश दिएको थियो । तर, आइतबार अदालत समेत प्रभावित हुने गरि उडाइएको धुलोले अदालतको आदेश र औचित्य माथि पनि प्रश्न खडा गरेको छ ।

 

रिट निवेदक अधिवक्ता सुनिल श्रेष्ठ भन्छन्, ‘यसरी उडाइएको धुलोले अदालतको आदेशलाई नै चुनौती दिएको छ ।’ ‘अदालतको कार्य समेत प्रभावित हुने हिसाबले भएको विकास निर्माणको काम स्वास्थ्यमा पनि चुनौती भयो’, उनले भने, ‘धूलो बारे अदालतलाई भोलि (आज सोमवार) हामीले जानकारी गराउने तयारी गरेका छौं । यो आदेशको सिधा उल्लंघन हो ।’

प्रतिक्रिया

प्रतिक्रिया