सकिँदै राप्तीपारिको सकस

एक वर्ष भित्रै कालोपत्रे योजना सहित हुलाकी सडक निर्माणमा तीब्रता, वर्षाअघि नै ग्राभेल
समाचारदाता
दैनिक नेपालगन्ज
बहुप्रतिक्षित सडक हुलाकी राजमार्ग विस्तारै निर्माणको अन्तिम चरणमा छ । अधिकांश स्थानमा पुल, कल्भर्ट र ग्राभेल बाटो निर्माण भइसकेपछि राप्तीपारिका बासिन्दा सडक निर्माण हुने प्रति आशावादी हुन थालेका छन् । ‘सडक नहुँदा त्यसक्षेत्रको उत्पादन नेपालगन्जसम्म पुर्याउन निकै सकस थियो’, नरैनापुरका गुल्जार खाँ भन्छन्, ‘सडक ग्राभेल नै भएपनि अहिले नेपालगन्जबाट घर पुग्न डेढ घण्टा मात्र लाग्छ ।’ यसो आवत जावत मात्रै हैन, गाउँमा उत्पादन भएको गहुँ, मकै, धान र अन्य बाली संग दूध पनि नेपालगन्ज पुर्याएर आम्दानी गर्न सजिलो भएको खाँले बताए । ‘सडकले रोजगार श्रृजना गर्न थालेको छ’, उनले भने, ‘सडकको चोकहरुमा पसल निर्माण हुने र खुल्ने क्रम तीब्र रुपमा अघि बढेको छ ।’

 

 

वर्षायाम अघि पूरै सडक ग्राभेल गर्ने योजनाका साथ अहिले राप्तीसोनारी गाउँपालिकाको मेहमानपुर र फत्तेपुर क्षेत्रमा ग्राभेलको काम भइरहेको निर्माण कम्पनी गणपति गु्रप अफ कन्ट्रक्सन प्रालि साइट इन्चार्ज इन्द्र केसीले बताए ।
‘आगामी वर्ष भित्र कालोपत्रे पूरा गर्ने लक्ष्यका साथ काम अघि बढेको हो’, दैनिक नेपालगन्ज संग केसीले भने, ‘राप्तीपारिको जनताले यो सडक जसरी भएपनि पूरा गरेर मात्र छाड्न दबाव दिँदै आएका छन् ।’
पटक पटक आश्वासन र धोकामा मात्र परेको राप्तीपारिको सडक विभिन्न चुनावमा एजेण्डा बनेपनि निर्माण सुरुवात हुन सकेको थिएन । सरकारले हुलाकी राजमार्ग भारतको आश्वासनमा नभई नेपाल सरकारले आफै बनाउने अडान लिएपछि अहिले देशैभरि हुलाकी राजमार्ग निर्माणको काम भइरहेको छ ।

 
नेपालगन्जको पुष्पलाल चोक देखि नरैनापुर गाउँपालिकाको सुईया नाका सम्म ४४.६ किलोमिटर सडक निर्माणको काम भइरहेको हो । ‘सडकले गाउँमै रोजगारको सम्भावना बढाएको छ’, राप्तीसोनारी स्थित फत्तेपुरका बासिन्दा लक्ष्मण चौधरी भन्छन्, ‘बाहिरी मान्छे आउने जाने क्रम बढेकोले ब्यवसायिक कारोबार पनि बृद्धि भएको छ ।’ ‘गाउँमा उत्पादन हुने दूध अहिले विहानै नेपालगन्ज पुग्छ’, चौधरीले भने, ‘बाटो जीर्ण भएका बेला ढिलो भएर धेरै दिन दूध बाटोमै खराब हुन्थ्यो । अहिले सडक छेउमा सटर, घर र ब्यवसायिक प्रतिष्ठानहरु निर्माण गर्ने सिलसिला बढेको छ ।’ हुलाकी राजमार्ग छेउमा भवन निर्माण गरी भाडामा दिने योजनाका साथ घर निर्माण गरिरहेका लक्ष्मणपुरका हनीफ अन्सारी भन्छन्, ‘स्थानीय क्षेत्रमा काम भए बाहिर जानु कसैको रहर हुँदैन ।’

 
४ वर्ष सउदी अरबमा बसेका अन्सारी भन्छन्, ‘सडकले आर्थिक सुधारको पक्षमा काम हुने देखिएको भवन निर्माण गरेर भाडामा दिने योजना छ ।’ सडक निर्माण सुरु भएपछि योजनामा बसेका स्थानीयले रोजगारका विभिन्न विकल्पमा काम गरिरहेका छन् । राप्तीपारिको विकासका लागि हुलाकी सडक मेरुदण्ड सरह छ । स्थानीय तहले गाउँका भित्री सडक निर्माण सुरु गरेका बेला हुलाकी राजमार्ग आगामी वर्ष भित्र कालोपत्र बन्ने योजनाले स्थानीयहरु खुसी छन् ।

 

 

‘सडक र वत्तीका नाममा धेरै पटक भोट दियौं’, स्थानीय दिर्घ बहादुर खड्का भन्छन्, ‘तर, अहिले सरकारले सडक निर्माण गरेर विभिन्न बुढा र विरामीलाई सजिलो बनाएको छ । विहान र बेलुका बस सेवा पनि ग्राभेल सडकमै संचालित छ ।’
‘नेपालगन्ज आउन बृद्धबृद्धालाई खासै समस्या हुँदैन’, खड्का भन्छन्, ‘एक वर्ष अघिसम्म विरामी परेकाहरुलाई भारत लैजानु पर्ने बाध्यता अझै ताजा नै छ । बाँकेको दुर्गमको रुपमा पनि राप्तीपारिलाई हेरिन्छ ।’ हालै मात्रै प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेल राप्तीपारि पुगेर त्यस क्षेत्रको अवस्था प्रति चिन्ता ब्यक्त गरेका थिए । उनले त्यहाँ विकासको गति सुरुनै हुन नसकेको प्रति आपत्ती जनाउँदै छिट्टै राप्तीपारिको अवस्था परिवर्तन हुने आश्वासन दिएका थिए ।
त्यसअघि विभिन्न निर्वाचनमा उम्मेदवारले राप्तीपारिको सडकलाई मुख्य एजेण्डा बनाएर चुनाव जित्ने चलन थियो । फत्तेसिंह थारु, ज्ञानु केसी, प्रेम बहादुर भण्डारी, मो.ईस्तियाक राई, रिजवान शाह, दिनेशचन्द्र यादव लगायतले सो क्षेत्रमा सडक र विद्युत पुर्याउने नाममा भोट लिँदै आएका थिए । सडक निर्माण संगै नेताहरुको एउटा ठूलो र चुनावी मुद्दाले विश्राम लिँदैछ ।

प्रतिक्रिया

प्रतिक्रिया