नेपालगन्ज उपमहानगरपालिकाद्वारा रेल, अन्तर्राष्ट्रिय विमानस्थल र महानगर बनाउन पहल गर्ने निर्णय

दोस्रो नगर सभा

समाचारदाता
दैनिक नेपालगन्ज

शुक्रबार भएको नेपालगन्ज उपमहानगरपालिकाको दोस्रो नगरसभाले तीन वटा विधेयक स्वीकृत गरेको छ । नगरसभाले विकासका लागि महत्वपूर्ण विभिन्न कार्यहरुका बजेट विनियोजन र प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता गरेको छ । नगरको समग्र विकासको लागि आवश्यक बजेट व्यवस्था गरी कार्यान्वयनका लागि नेपाल सरकार एवं प्रदेश सरकार समक्ष माग गर्ने निर्णय गरिएको हो ।

 

राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउने, ५ बर्षभित्र नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका घोषणा गरी कार्यान्वयनमा ल्याउने, रुपईडिहादेखि नेपालगन्ज क्षेत्रमा रेल्वे लाइन निर्माण गर्ने कार्यलाई यथाशिघ्र कार्यान्वयनमा ल्याउने कार्यका लागि आवश्यक बजेट विनियोजनका लागि प्रदेश र केन्द्र सरकारसँग पहल गरिने भएको छ ।

 

नेपालगन्जमा विश्वविद्यालय, पोलिटेक्निकल विश्वविद्यालय स्थापना गर्ने, भेरी अञ्चल अस्पताललाई मेडिकल कलेजको रुपमा स्थापना गर्ने, नेपालगन्ज उपमहानगरपालिकामा औद्योगिक करिडोर स्थापना गरी यथाशिघ्र कार्यान्वयनका लागि अनुरोध गर्ने र नेपालगन्ज क्षेत्रमा निर्माण हुने चक्रपथ निर्माण कार्यको लागि आवश्यक बजेट विनियोजन गरी यथाशिघ्र कार्यान्वयनमा ल्याउने पहल र प्रतिवद्धता नगरसभामा गरिएको छ ।
सभाले बजेट, योजना तथा कार्यक्रम रकमान्तर तथा संशोधन समेत गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २० र २१ बमोजिम प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक २०७५, न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र कृषि व्यवसाय प्रवद्धन विधेयक, २०७५ लगायत ७ वटा महत्वपूर्ण निर्णय नगर सभाबाट सर्वसहमतले स्वीकृत गरेको हो ।

 

नगरसभाले आर्थिक वर्ष २०७४÷७५ को प्रथम नगरसभाबाट स्वीकृत बजेट, योजना तथा कार्यक्रमहरुमध्ये जेठ ३ नगर कार्यपालिकाको बैठकबाट निर्णय भएअनुसार उपमहानगरपालिकाको विनियोजन ऐन २०७४ को दफा ३ को उपदफा २ बमोजिम बजेट, योजना तथा कार्यक्रम रकमान्तर तथा संशोधन गरिएको हो । नगर सभा सदस्यको सेवा सुविधा बारे पनि नगर सभाले पहलकदमी लिने निर्णयसहितको तयारी गरेको छ ।

 

नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरुको सेवा, सुविधा सम्वन्धमा प्रदेश ५ बाट विधेयक स्वीकृत भएको खण्डमा सोही बमोजिम हुने र पारित नभएको खण्डमा उपमहानगरपालिकाको आन्तरिक श्रोतबाट व्यवस्थापन गर्न नगरसभा सदस्यहरुको सेवा, सुविधा, मापदण्ड सम्वन्धि कार्यविधि तयार गरिने भएको हो । त्यसका लागि नगर उपप्रमुख उमाथापामगरको संयोजकत्वमा वरिष्ठ आ.ले.प.अधिकृत खिमानन्द अर्याल सदस्य सचिव रहने गरि ९ सदस्यीय समिति निर्माण गरिएको छ ।

 

समितिको प्रतिवेदनलाई जेठ मसान्तभित्र नगरकार्यपालिकाबाट निर्णय गराई कार्यान्वयन गर्ने समेत निर्णय गरिएको छ । समितिको सदस्यहरुमा वडा अध्यक्षहरु प्रमोद रिजाल, बुद्धिसागर सुवेदी, नगरकार्यपालिका सदस्य कौशल धोवी, वडा सदस्यहरु बसन्ता जोशी, धु्रव दाहाल, ओम प्रकाश चौहान र दिनेश पन्त रहेका भएको छ ।

 

प्रथम नगरसभाबाट आर्थिक ऐन २०७४ मा बैशाख मसान्तसम्म बक्यौता करसहित चालु आ.व.को व्यवसायकर बुझाउनेलाई ५० प्रतिशत छुट दिइएकोमा फेरी पनि एक हप्ता समय थप गर्ने, गाउँ नगर साझेदारी विकास कार्यक्रम अन्तर्गत यस उप–महानगरपालिकाद्वारा सर्वसाधारणमा लगानी भएको सावाँ रकम र सो को तोकिएको व्याज लामो समय सम्म असुल उपर गर्न नसकिएकाले श्रावण मसान्त भित्र सावाँ रकम बुझाउन आएमा नियम अनुसार लिनु पर्ने सबै व्याज मिनाहा गर्ने नगर सभाले निर्णय गरेको छ ।

 

नगर सभाबाट स्वीकृत विधेयक र निर्णयले उपमहानगरपालिकाको समग्र विकास र काममा सहजता ल्याउने नगर प्रमुख डा धवल शम्मश्ेर राणाले विश्वास व्यक्त गरे । नगर उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि पयाकुरेल, वडा अध्यक्ष, वडा सदस्य लगायतको सहभागिता रहेको सभामा वडा अध्यक्ष तथा सदस्यले आवश्यक सल्लाह सुझाव दिएका थिए । कार्यक्रममा प्रतिनिधिसभा सचिवमा नियुक्त अधिकारकर्मी अधिवक्ता गोपालनाथ योगीलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया