नेपालगन्ज भन्नासाथ नेपालगन्ज चिनाउने पीठ बाँकेश्वरी र खसियारी यी दुई झट्ट सम्झना हुँछ । खसियारी र बाटोघाटोको निर्माणका साथै बिस्तारै हराइसकेको छ । बाँकेश्वरी (बागेश्वरी) मन्दिर नेपालगन्जको प्रतिक हो । यो बागेश्वरीको इतिहास र परम्परा पनि चाखलाग्दो छ ।
बागेश्वरीको नाममै पनि घोत्लिनु पर्ने अवस्था छ । किनभने, वाक् भनेको सरस्वती हुन् र वाक् ं इश्वरी संचि, समासद्वारा ‘बागेश्वरी’ हुन्छ । तर, यो मन्दिर भने शक्तिपिठ माता दुर्गाको मन्दिर हो । कसैकसैले, यस मन्दिर भएका ठाउँमा परापूर्वकालमा सधै बाघ बस्ने अथवा यहाँ बाघ आइ रहने भएकाले यस ठाउँलाई बागेश्वरी भनिन्थ्यो र पछि शब्द संस्कारित भएर बागेश्वरी भयो पनि भन्ने गरेका छन् । बागेश्वरी मन्दिरका विषयमा विभिन्न कोणबाट यसका विषयमा अनुश्रुतिहरु निर्माण भएका छन् । धार्मिक लोकवार्ता, साधु सन्यासी, ऐतिहासिक सबै कोणबाट बेग्लाबेग्लै अनुश्रुतिहरु प्रचलित छन् ।
योगी नरहरी नाथले बागेश्वरीको उत्पत्ति सम्बन्धी अनुश्रुति लेख्नु भएको छ । उहाँका अनुसार, डोल्पा जिल्लाका कोट गाउँमा अवस्थित त्रिपुरा सुन्दरी भगवति र बागेश्वरी भगवतिको अन्तर सम्बन्ध रहेको छ । उहाँको भनाइ अनुसार, वि.सं. १४११ सम्म कोटगढीको टाकुरामा एउटा ढुंगाको ओखल थियो । गाउँलेहरु आफ्नो धान, कोदो त्यही ओखलमा गएर कुट्ने, निफन्ने गर्दथे । भन्दछन्, त्यस ओखलको विशेषता के थियो भने जति धानको घान हाल्यो त्यति नै चामल निस्कन्थ्यो । तर, त्यही धान घरको ओखलमा वा अरु ढुंगाको ओखलमा कुट्ने गर्दा भने आधा मात्र चामल आउँथ्यो । यसको के रहस्य रहने भन्ने उत्सुकता मेटाउने क्रममा कुमाइ विष्टको अगुवाईमा गाउँलेहरुले त्यो ओखल भएको ढुंगा खन्न थाले । त्यसको पींधसम्म पुग्न गाउँलेहरुलाई निकै दिन लाग्यो । गाउँलेहरु पालोपालो गरेर रातदिन ओखलको पींध भेट्टाउन खन्याखन्यै गर्न थाले । एक दिन विहानको मिरमिरे उज्यालोमा त्यो ओखलको पींध भेट्टाए र त्यो ओखललाई त्यहाँबाट लडाएपछि त्यसको पींध तल त्रिपुरा सुन्दरीको नौ वटा मूर्ति दर्शन पाए । ती मूर्तिको टाउकोमा घृतपूर्ण घडा थियो । गाउँलेका नाइके कुमार विष्टले ती मूर्तिहरुको टाउकाबाट घडा झिकेर पर सारे । उनले यसो गर्ना साथ ती मूर्तिहरु पुतलीको रुप धारण गरेर उडेर गए । यसरी पुतलीहरु उडेर जान लाग्दा निकै प्रयत्न गरेर कुमाइ विष्टले तीन वटा पुतलीलाई छोप्न भ्याए । तीन वटा पुतली छोपेपछि कुमार विष्ट बेहोस भए र त्यही बेहोसीका तन्द्रामा उनले सुने, हामी नौ बहिनी देवी थियौं । हाम्रा अरु बहिनीहरु त उडेर गए । हामी ३ बहिनीलाई तिमीहरुले छापेर राख्यौ तिमी कुमाइ विष्टले हामीलाई छोपी राखेकाले अब उप्रान्त हाम्रो राम्रोसँग देखरेख संसार गरी राख्नु भने । हामी बाल, त्रिपुरा र सुन्दरी भगवति हौं तिमी कुमाई विष्टले नै हाम्रो पुजाआजा गर्नु भनि पुनः मूर्ति भए । तिनै तीन बहिनी भगवति एक रुप भै डोल्पामा बाल त्रिपुरा सुन्दरीको नामले प्रसिद्ध भए । अरु पुतलीहरुमा एउटी उडेर बाजुरा जिल्लामा पुगिन् र बडिमालिकाका नामले प्रसिद्ध भइन् । अर्की जुम्ला जिल्लाको हाट सिंजा गाउँमा पुगेर कनका सुन्दरी भगवति भएर प्रसिद्ध भइन् । अर्की उडेर अर्घाखाँचीमा बसिन र सुपा देउराली भगवति भएर बसिन् । एवंंं क्रमले एउटी जाजरकोट तल्लुमा, अर्की सल्यानमा खैरावाग भगवति भइन् र त्यसै मध्येकी एउटी पुतली बाँके जिल्लाको हाल बागेश्वरी मन्दिर भएको ठाउँमा आएर बसिन् । एउटै पुतली धेरै टाढासम्म उडेर गइन् र दोलखामा माथि पहरामा गएर बसिन् र कालिन्चोक भगवति भएर रहिन् ।
अनुश्रुतिकै कुरा गर्ने हो भने बाँकेको भुँवरभवानीमा एउटी पुतली बसिन् भन्ने पनि छ र ती भ्रामेश्वरी देवी हुन् भनेर नरहरीनाथ योगी भन्नुहुन्छ । यसरी यसरी गन्दा त एघार पुतली हुन्छन् र एघार देवी पनि । अनुश्रुति न हो ? सबै सत्य त होइन नि ! भारतको पटनादेवीसँग बागेश्वरीको सम्बन्ध जोड्ने अर्को पनि अनुश्रुति छ । भारतको तुलीपुरमा रहेको पाटनदेवीको मन्दिर छेउमा एउटा बाघ देखिएछ । त्यस बाघसित भयभित भएका मानिसहरुले त्यो बाघ खेद्दै त्यो बाघ भाग्दै भाग्दै बागेश्वरी मन्दिर भएको ठाउँमा तत्कालीन अवस्थामा एउटा गुफा थियो रे त्यो गुफा भित्र बाघ पसेछ । मानिसहरु गुफा भित्र पस्दा बाघ छिर्न सक्ने एउटा प्वाल देखेछन् । त्यस प्वालमा बाघ पसेछ कि भनेर त्यहाँ एउटा लामो बाँस घुसारे । तर, त्यहाँ बाघको पत्ता लागेन । बाँस झिकेर हेर्दा त बाँसको टुप्पोमा रगत पो देखियो । पाटनदवीबाट आएको बाघ त्यस गुफामा पसेर त्यस प्वालमा अलप भएको हुनाले पक्कै पनि त्यस बाघमा अदृश्य देवी सवार रहेको थिइन् भन्ने ठानी ती मानिसहरु त्यही देवीको पुजाआजा भजनकिर्तन गरी बस्ती बसाएर बसे रे । तिनै बाघेश्वरी देवीको मन्दिर नै आधुनिक बागेश्वरी हो रे !
अर्को एक अनुश्रुति अनुसार, प्राचिन समयमा बागेश्वरी मन्दिर भएको ठाउँमा वन जंगल थियो र त्यहाँ एउटा सिमसार पनि थियो । तत्कालीन त्यहाँका बासिन्दाहरु थिए । उनीहरु त्यही सिमसारका नजिक गाइगोरु चराउने र नजिकको पहाडबाट ल्याएका बाबियोले डोरी बाँध्ने गर्दथे । एकदिन एकजना मानिसले डोरी बाट्ने बाँध्ने गरेको ढुंगा उखालेर घर लान खोज्यो । तर, त्यो ढुंगा उखाल्न सकेन । अनि अरु साथीहरुलाई मद्दत मागेर ढुंगा उखेल्न खोज्यो त्यति गर्दा पनि ढुंगा उखाल्न नसकेपछि उक्त ढुंगामा अलौकिक शक्ति रहेको ठानी त्यसको पुजाआजा गर्न थाले । कालान्तरमा पछि मन्दिर स्थापना भई बागेश्वरी नामले पुजिन थालिन् ।
धार्मिक मान्यता अनुसारको एउटा अनुश्रुति अनुसार, महादेवले सति देवीको लाश बोकी हिडेको अवस्थामा हाल बागेश्वरी मन्दिर भएको ठाउँमा उनको जिब्रो पतन भयो । त्यस अनुसार यस ठाउँको नाम वाक्येश्वरी भयो र क्रमशः बाग्येश्वरी हुँदै वागेश्वरी हुन गयो । यस अनुश्रुतिको पनि कुनै प्रामाणिकता छैन । पुराणहरुमा सतिदेवीको अंग पतन भएको वर्णन रहेको हुनाले बागेश्वरीको नामलाई औचित्यता प्रदान गर्न यो अनुश्रुति जन्मिएको हुनसक्छ ।
एउटा ऐतिहासिक अनुश्रुतिका अनुसार, इशाको १४औं शताब्दी तिर जुम्लाबाट भारत तिर्थयात्रा गर्न दुई जना नाथ पंथी तीर्थयात्रीहरु यस ठाउँमा गुफा देखि त्यही बास बस्न पुगेछन् । त्यही ठाउँमा सुतेको अवस्थामा गुरु महाराजलाई सपना भयो । माता जगदम्बाले सपनामा साक्षात दर्शन दिएर भनिन्, यस ठाउँको नजिक नै मेरो स्थान छ । गुरु महाराज उढेर अर्का तीर्थयात्री जो उनको चेलो थियो उसलाई उठाए । उनले आफ्नो चेलालाई भने हेर आजराती माता जगदम्बाले साक्षात् मलाई दर्शन दिनुभएको छ यही कतै देवी स्थान छ लौ खोजौं । दिनभरी दुवै गुरु चेला भएर देवी स्थान खोज्न थाले । साँझपख त्यस गुफाको माझमा खाडल भेटे त्यो गहिरो खाडल पक्कै देवी स्थान हुनुपर्छ भनेर तिनीहरुले त्यस ठाउँमा मन्दिर बनाउने निधो गरे । सामुन्नेको सिमसारबाट खनेर ल्याउने । जंगलका स्याउला र काठपातबाट मन्दिर तयार गर्दथे तर राती कुन बेला त्यो मन्दिर भत्किथ्यो लगातार छ दिनको प्रयत्न गर्दा पनि प्रत्येक दिन राती मन्दिर भत्किन थाल्यो । छैठौं दिन राती गुरुलाई पुनः स्वप्त आयो यस ठाउँमा बलिदान नदिकन मन्दिर निर्माण हुन सक्दैन । नाथपंथी गिरी गुरु महाराजले माता जगदम्बालाई आत्मबली दिएर खुसपार्ने विचार गरे । उनले आफ्नो चेलालाई भने म यहाँ आफ्नो जीवित समाधि सहित बलिदान दिन्छु । तिमीले त्यसपछि मन्दिर निर्माण गराइ माताको नित्य पूजा अर्चना गरि बस्नु । निकै बेरको दहलफसल पछि गुरुले एउटा खाडल खन्न लगाए र आफु पद्यासन लगाएर त्यस खाडमा बसे । चेलाले गुरु आदेश बमोजिम रुँदै गुरुलाई त्यसमा माटोले पुरिदिए । अर्को दिन चेलाले गाउँलेहरुलाई ल्याई सबैको सहयोगले एउटा माटोको भित्ता र खरको छानो छाई मन्दिर निर्माण गरे । ती गिरी गुरुको जीवित समाधी आजपनि पीपलको बोट नजिक रहेको छ र त्यही अर्का चेला गिरीका चौबिसौं पुस्ताका महन्त हरिहरनाथ बागेश्वरी मन्दिरका पुजारी छन् ।
बाँके जिल्लाको ऐतिहासिक अनुश्रुति अनुसार, चौधौं शताब्दीमा नै कर्णसिंह रावलका छोरा, बाँके रावलले त्यही खरले छाएको गुफालाई घेरेर माटोको पर्खालहरु घेरी एउटा किल्ला निर्माण गरे र त्यहीबाट आफ्नो नयाँ रजौटा कायम गरी राज्य गर्न थाले । यस अनुश्रुति अनुसार, सुगौली सन्धी सम्पन्न नहुञ्जेलसम्म उनै बाँके रावलका सन्तानहरुको रजौटाका रुपमा दैलेख राज्यको करद राज्य रहेको थियो । बाँके जिल्ला र यही बाँके किल्ला, नेपालगन्ज बजारको निर्माण नहुञ्जेलसम्म यहाँको राजकाज चलाउने प्रमुख स्थान थियो ।
बागेश्वरी मन्दिर निर्माणको जतिसुकै अनुभूतिहरु भएतापनि बाँके रावलले बनाएको किल्लाकि देवी भएको हुनाले लोकमा यिनी बागेश्वरी नामले प्रख्यात छिन् । बाँगेश्वरीलाई संस्कृतबाट संस्कारित गर्ने क्रममा यसको नाम परिवर्तन भई बागेश्वरी भनिएपनि भारत र नेपालका गाउँघरमा अझै पनि यिनलाई बाँकिश्वरी नै भनिन्छ ।
सन् १८१५ मा सुगौली सन्धी भई १८१६ मा विधिवत यो भुगाग ब्रिटिश इन्डियालाई सुम्पिएपछि यो भुभाग र यो बाँके किल्ला पनि ब्रिटिश इन्डियामा नै गाभियो । बाँके रावलका सन्तानहरुको के भयो थाह छैन । तर, बाँके किल्ला भने खडा रहेको थियो पुनः यो क्षेत्र बाँके जिल्लामा आउन्जेलसम्म । सन् १८६० देखि नेपालगन्ज बजार निर्माण भैसकेपछि घरबारीटोल र बजारलाई जोड्नलाई बाँके किल्लाको दक्षिणी ढोका जो फिद्दन मिश्रीको घरनेर भट्टीटोलको पर्खालले जोडिएको थियो भत्काइयो र त्यहाँबाट बागेश्वरी मन्दिरको छेउ हुँदै कालिमाटी किनारको खन्दकसम्म बाटो बनाइयो । त्यतिबेलासम्म त्यहाँ पुलिस थिएन । काठका मोटामोटा फल्याक जोडेर बनाएको ठूलो पुलजस्तो थियो । जसबाट मान्छो ओहोरदोहोर गर्दथे, पहिले देखि बनेको त्यो दिनभरी खाइमाथि ओच्छाइन्थ्यो र रात परेपछि हटाइन्थ्यो । यो परम्परा महाराज जुद्ध समशेरको पालासम्म थियो ।
महाराज जुद्ध समशेरको पालामा त्यहाँ काठको पुल हालिएको हो । हिजरी सम्वत् १२६७ भाद्र सुदि ५ का दिन तुलसीपुर स्टेटका राजा दिग्विजय सिंह बाँकीश्वरी माताको दर्शन गर्न बाँकेमा आएका बखत उनले खरले छाएको काठ र माटोको भित्ता भएको यस मन्दिरको जीर्णोद्वार गरेका थिए । त्यस बखत यो क्षेत्र ब्रिटिश इन्डिया अन्तरगत तुलसीपुर स्टेट भित्र पर्दथ्यो । जुद्ध स्टेटका राजा दिग्विजय सिंह । उनले पक्की इट्टा, चुना, सुर्खी मिलाएर गुम्बद्ध शैलीको मन्दिर बनाइ त्यसमा सुनको गजुर लगाएका थिए । पुरानो गुफालाई स्मरण गराउँदै बीचमा मन्दिर बाहिर पट्टि चारैतिर गुफा जस्तै परिक्रमा पथ बनाउन लगाएका थिए ।
नेपालगन्ज बजार बनाउने बखत यस मन्दिरको छानामा सामान्य परिवर्तन गरी मन्दिर बाहिर नेपालको झण्डा र हनुमत झण्डाहरुका आकारमा काठका प्रतिरुपहरु झुन्डाइएको थियो । राजा दिग्विजय सिंहले वि.सं. १२६७ भाद्र सुदी ५ मा नै उनले कर्मोहना मौजाको ८ आना बागेश्वरी मन्दिरको पुजाआजा व्यवस्था गर्न तत्कालीन पुजारीलाई जिम्मा दिएको सनद रहेको पुजारीहरु बताउँछन् ।
बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा घाटहरु बनाइएको थियो । २००४ सालमा प्रकाश समशेरले काठको पुल र काठकै खुल्ला डबली बनाउन लगाई त्यहाँ जुंगे महादेवको मन्दिर निर्माण गरेका थिए । वि.सं. १९३५ मा एकलैनी निवासी रामप्रसाद श्रेष्ठले काठको ठूलो ढोका ७ फिटको बनाएका थिए । उसको एउटा खापा साढे ३ फिटको थियो । सो खापा खोल्नलाई उनले ६ फिटको गेट बनाएका थिए र सो गेटमाथि बाँके किल्लाको ठूलो नगाडा राख्ने कोठा बनाएका थिए । त्यो नगाडा धेरैपछिसम्म २०२०÷२०२१ सालसम्म बागेश्वरीको आरतीका लागि डंका बजाउन प्रयोग गरिन्थ्यो । बागेश्वरीको डंका बज्नासाथ नेपालगन्ज उठ्थ्यो । बागेश्वरी सहित नेपालगन्जका मन्दिरहरुका ढोका खोलिन्थे ।
झण्डै १४ औं शताब्दीदेखि चर्चा र प्रसिद्धि प्राप्त गर्दै बागेश्वरी मन्दिर नेपालगन्जको प्रतिष्ठा बन्न पुगेको छ । नेपाल मात्र होइन यो समग्र अवध प्रान्तको शक्ति पिठमध्यको प्रसिद्ध शक्तिपिठ हो । भारतको गोन्डा, बलरामपुर, श्रावस्ती बहराइच बारावंकी र लखनउ सम्मका श्रद्धालु भक्तजनहरु चैते अष्टमीमा नेपालगन्जमा बागेश्वरी दर्शन गर्न आउने गर्दछन् ।
बागेश्वरी वृहत विकास परियोजना बनाएर अहिलको गगनगन्ज र अव्यवस्थित बागेश्वरीको व्यवस्थित र सफा सुग्घर मन्दिर परिसरको रुपमा विकास गर्ने हो भने यो प्रदेश ५ को प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा यसको विकास हुनसक्छ ।