बुटवल÷/समाचारदाता
दैनिक नेपालगन्ज
प्रदेश सभा बैठकमा सरकारले आगामी बर्षका लागि पेश गरेको विनियोजन विधेयकका सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति माथिको छलफल सकिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रस्तुत गरेको विधेयकमाथि दोस्रो दिनको छलफलमा २५ जनाले भाग लिएका थिए ।
विधेयक माथि संसदमा बोल्दै सांसदहरुले कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा सरकारले बजेट प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । अधिकांश सांसदहरुले कृषि र पर्यटन क्षेत्रको विकास विना सरकारले अघि सारेको ‘समृद्ध प्रदेशः खुसी जनता’ अभियान पुरा नहुने बताए । संसदमा बोल्दै सांसद धर्म बहादुर लाल श्रीवास्तवले संसदीय कोषको अवधारणा प्रदेश सरकारले ल्याउनुपर्ने बताए । उनले हुलाकी राजमार्गको परिकल्पना समेत यस प्रदेशमा हुनुपर्ने धारणा राखे । त्यसैगरी युवराज खनाले निर्वाचन क्षेत्र विकास कार्यक्रम आवश्यक रहेको बताए ।
स्थानीय तह र केन्द्रीय तहबाट अब उक्त कार्यक्रम नआउने भएकाले प्रदेशले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई ल्याउनुपर्ने बताए । सांसद बैठकमा राजधानी कहाँ राख्ने भन्ने विषयमा पनि सांसदले भनाई राखेका थिए । संसदमा बोल्दै सांसद लौटी थारुले बर्दियाको राजापुर र बुटवलको बीचमा प्रदेशको राजधानी हुनुपर्ने भन्दै अब सरकारले राजधानीको विषयलाई पनि अगाडि सार्नुपर्ने बताइन् । उनले सुकुमबासी समस्यालाई व्यवस्थित गर्नुको विकल्प नभएको समेत प्रष्ट पारिन् ।
त्यस्तै सांसद तारा जिसीले गरिव जिल्लाहरुलाई माथि उठाउन सरकारले महत्वपूर्ण योजनाहरु अगाडि सार्नुपर्ने बताइन् । कपिलवस्तु, प्युठान जिल्ला अझै पनि गरिबीको क्षेत्र भित्र पर्ने भएकाले गरिबीलाई माथि उठाउन सरकारले योजनाहरु ल्याउनुपर्ने बताइन् । तुल्सी चौधरीले प्राविधिक शिक्षा सामुदायिक विद्यालयहरुमा समेत अध्ययापन गराउनका लागि नितीगत रुपमै राख्नुपर्ने र प्रदेशलाई शिक्षाको हव बनाउनुपर्नेमा जोड दिए ।
बैठकमा उठेका सुझावहरुको जवाफ दिदै मुख्यमन्त्री शंकर पोखरेलले अधिकतम भन्दा अधिकतम बजेट प्राथमिकताका आधारमा छुटाइने बताए । सांसदले राखेका सवै विषयहरु उत्तिकै महत्वपूर्ण रहेको भन्दै पहिलो चरणमा मुख्य–मुख्य विषयहरु कृषि, पर्यटन, उर्जा, पूर्वाधारको निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताए । सुरुवाती चरणमा सवै विषय समेट्न बजेटले पनि नसकिने भएकाले सवैको सुझावका आधारमा बजेटलाई विनियोजन गर्ने उनको भनाइ थियो । बैठकमा राजधानी र प्रदेशको नामका बारेमा विषय उठेपनि मुख्यमन्त्री पोखरेलले भने उक्त विषयलाई प्राथमिकतामा राखेनन् ।
बुधबारको बैठकमा गिता थापा, रामजि प्रसाद घिमिरे, भोज प्रसाद श्रेष्ठ, भुमिश्वर ढकाल, चेतनारायण आचार्य, भुमिश्वरी चौधरी लगायतले बोलेका थिए ।