बाँकेको उज्यालो विगत, मधुरो वर्तमान र चम्किलो भविष्य

वि.सं. १८७३ को सुगौली सन्धीमा नेपालले गुमाएको भूभाग मध्य वि.सं. १९१७ मा लखनउको सिपाही विद्रोह दवाउन इष्ट इन्डिया कम्पनीलाई जंगबहादुरले सहयोग गरेको कारण सोको पुरस्कार स्वरुप इष्ट इन्डिया कम्पनीबाट नेपालले बाँके, बर्दिया, कैलाली तथा कञ्चनपुर प्राप्त गरेको थियो । मध्य तथा सुदुर पश्चिमको प्रमुख ब्यापारिक केन्द्र बिन्दुको रुपमा बाँकेको नेपालगन्जले पहिचान बनाएको छ ।

 

यस जिल्लाको सरदर पूर्व पश्चिम लम्बाई ८४ कि.मि. र उत्तर दक्षिण चौडाई ४० कि.मि. रहेको छ । यस जिल्लामा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी, नरैनापुर, डुडुवा, जानकी, खजुरा तथा बैजनाथ गाउँपालिका रहेका छन् । यस जिल्लामा तीन वटा संसदीय निर्वाचन क्षेत्र तथा छ वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन् भने यस जिल्लाको जनसंख्या ४ लाख ९१ हजार ३ सय १३ रहेको छ । यस जिल्लामा जमुनाह, नेपालगन्ज, राजा, हवल्ल्दारपुर पिपरी, खजुरा, सम्झना, मदन चोक, कोहलपुर, बानियाभार, चिसापानी, चप्परगौडी, रोहिणी खोला, ढकेरी, समशेरगन्ज, कुसुम, बिनौना, बैजापुर, फत्तेपुर, मटैहिया, नरैनापुर, लक्ष्मणपुर, होलिया, बेतहनी जस्ता दर्जनौ बजार रहेका छन् ।

 

उज्यालो विगत

विगतमा मध्य तथा सुदुर पश्चिमका जनताको प्रमुख ब्यापारिक तथा औद्योगिक केन्द्रको पहिचान बनाएको यस जिल्लामा नेपालगन्ज, कोहलपुर तथा खजुरामा ब्यापारिक गतिविधि हुने गरेको थियो भने नेपालगन्ज औद्योगिक क्षेत्र तथा पार्वतीपुर र खजुरामा केही उद्योगहरु रहेका थिए । मध्य तथा सुदुर पश्चिमका दाङ्ग, रोल्पा, रुकुम, सल्यान, जाजरकोट, सुर्खेत दैलेख, बर्दिया, कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा, बझाङ्ग, अछाम जिल्लाका मानिसहरुको मुख्य हाट बजार तथा औषधी उपचार गर्ने थलोको रुपमा बाँकेको नेपालगन्जले पहिचान बनाएको थियो । विगतमा मध्य तथा सुदुर पश्चिमका पहाडी जिल्लाका मानिसहरु हाट बजार गर्न नेपालगन्ज आउँदा प्रायः एकै ठाउमा बस्ने भएकोले नेपालगन्ज गणेशपुरमा सल्यानी बगिया तथा घरवारीटोलमा दैखेखी बगिया जस्ता ठाउँहरु समेत रहेका छन् ।

 

नेपालगन्जमा पहाडबाट घिउ, जडीबुटी आउने गर्दथ्यो भने नेपालगन्जबाट कपडा, नुन, तेल, औषधी मुलो, भाँडाकँुडाहरु पहाडी जिल्लामा जाने गर्दथ्यो । नेपालगन्जका ब्यापारी घरानामा टण्डन, गुप्ता, कसौधन, अग्रवाल लगायत हलवाई, अन्सारी, शेष जस्ता मुस्लीम समुदायहरु रहेका थिए ।

 

नेपालगन्जमा रहेको भेरी अञ्चल अस्पताल तथा फत्तेवाल आँखा अस्पताल यस क्षेत्रका गहनाका रुपमा विगतदेखि रहेका थिए । भेरी अञ्चल अस्पताल तथा महेन्द्र बहुमुखी क्याम्पस स्थापनाका गर्न स्थानीय समाजसेवी अवतारदेइन तथा फत्तेवाल आँखा अस्पताल स्थापना गर्न फत्तेजङ्ग शाह तथा वाल कुमारी शाहले जग्गा र भवन दान गरेर ठुलो नमूना योग्य काम गर्नु भएको थियो । यी दुई ठुला अस्पतालमा राप्ती, भेरी, कर्णाली तथा सेती अञ्चलका प्राय सबै जिल्लाका मानिसहरुले उपचार गर्ने गर्दथे भने फत्तेवाल आँखा अस्पतालमा भारतको उत्तर प्रदेशका बहराइच, श्रावस्ती जिल्लाका बिमारी समेतले उपचार सुबिधा लिने गरेका छन् । नेपालमा उपचार हुन नसकेका बिरामीहरुलाई नेपालगन्ज हँुदै लखनउ लिएर उपचार गर्ने गरिन्थ्यो ।

 

विगतमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज पनि यस क्षेत्रको गहनाको रुपमा रहेको थियो । यस क्याम्पसमा राप्ती, भेरी, कर्णाली तथा सेती अञ्चलका प्राय सबै जिल्लाका बिद्यार्थीहरु पढने गर्दथे जसले गर्दा पनि नेपालगन्जको महिमा बढेको थियो । हाल राप्ती, कर्णाली भेरी तथा सेती अञ्चलका बिभिन्न जिल्लाबाट राजनैतिक रुपमा ठुला पदमा पुगेका प्राय ब्यक्तिहरुले यस क्याम्पसमा विद्यार्थी राजनीति गर्दै उच्च शिक्षा लिएको इतिहास छ ।

 

विगतमा बाँके जिल्लाको खजुरामा एयरपोर्ट रहेको थियो । बर्दियाबाट खजुरा रोडका मिलहरुमा गल्लाको रुपमा अन्न आउने गर्दथ्यो । यसरी जम्मा भएको अन्न यस क्षेत्रका पहाडी जिल्लामा पठाउने गरिन्थ्यो । रत्न राजमार्ग (जमुनाहा सुर्खेत), नेपालगन्ज गुलरिया सडक, महेन्द्र राजमार्गको निर्माण पछि बाँकेकोे विकासले थप गति लिएको पाइन्छ । यस हिसाबले बाँकेको बिगत निकै उज्यालो थियो भन्न सकिन्छ ।

 

मधुरो वर्तमान
सडक सञ्जालको बिकास र मानिसको बसाई सराईले बाँकेको बिकासले आधुनिक गति लिएको पाइन्छ । बिकासको गति संगै खजुरामा रहेको बिमान स्थल राँझामा सारेर क्षत्रीय स्तरको नेपालगन्ज विमानस्थल बनाइयो । खजुरा तथा कोहलपुरमा पनि बस्ती तथा बजार बिस्तार भयो । बाँकेमा पहाडी जिल्लाबाट बसाई सराई गरेर मानिसहरु आउने क्रम बढ्यो । बढेको जनसंख्यालाई सहरी सुविधा ब्यबस्थापन गर्न नसकेर नेपालगन्ज कोहलपुर तथा खजुरा जस्ता बजारको सडक, ढल तथा सरसफाईको अवस्था दयनीय भयो ।

 

 

बाँकेको लक्ष्मणपुर देखि उढरापुर तथा चिसापानीदेखि जमुनाहासम्म उर्बर भूमी रहेको छ । यो भूमी अन्न बाली, नगदे बाली, तरकारी खेती गरेर सदुपयोग हुन सकेन । विगतमा चामल मसुरो तोरी भारत तथा बंगलादेशमा निर्यात गर्ने बाँके जिल्ला आज सिमापारीबाट ल्याएका चामलहरु आफ्नो लेबल लगाएका बोरामा राखेर नेपालका पहाडी क्षेत्रमा पठाउने मध्यस्थ जिल्लाको रुपमा खुम्चिन पुगेको कटु सत्य हामीसंग छ ।

 

विगतमा राप्ती, भेरी, कर्णाली तथा सेतीका मानिसको प्रमुख ब्यापारिक केन्द्रको रुपमा माल सामान किनबेच हुने बाँके जिल्ला आज पहाडी क्षेत्रमा सडक सुविधा पुगेपछि परम्परागत ब्यापार ब्यबसायमा खडेरी परेको अवस्थामा छ । बाँकेको विकासका बारेमा बौद्विक स्तरमा बहस नहुनु, विकासका बारेमा साझा धारणा नबन्नु, परम्परागत ब्यवसायबाट नविनता तिर फड्को नमार्नु, परिवर्तन भन्दा यथा अवस्थामा रमाउने प्रवृत्तिको कारण यस जिल्लाको बिकासमा समस्या सृजना भएको पाइन्छ ।

 

बाँकेमा विगतमा माथि उल्लेखित धेरै राम्रा कामहरुको सुरुवात भएको भए पनि देश संघीयतामा गए संगै पश्चिम नेपालको हवको रुपमा रहेको नेपालगँजले आफ्नो पुरानो पहिचानलाई कायम राख्न सकेन नेपालको संघीय पुर्नसंरचनामा कैलाली कञ्चनपुर सहितको अखण्ड सुदुर पश्चिमको नारा लागे पछि बाँकेको ओझेल पर्ने क्रम सुरु भयो ।

 

अखण्ड मध्यपश्चिमको नारा लगाएर भेरी कर्णाली र राप्तीको एक प्रदेश भएको भए वा कैलाली कञ्चनपुर, बाँके, बर्दियादेखि दाङ्ग सम्मको भूगोललाई मिलएर प्रदेश बनाएको भए नेपालगन्जमा प्रदेश राजधानी हुने सम्भावना थियो त्यसो हुन सकेन जसले गर्दा कर्णाली कर्णाली तिर भेरी भेरी तिर, म एक्लो तराईको हात्ती कोही नाई मेरी तिरको अवस्था सृजना भयो । यसले गर्दा बाँके बर्दियाका आम जनतामा नैराश्यता पैदा भएको छ । यस अवस्थालाई विकास र प्रगतिको क्रमको मधुरो अवस्था भन्न सकिन्छ । देशमा विभिन्न प्रकारका फ्यूजन भए पनि बाँकेमा भने कन्फ्यूजन अवस्था छ ।

 

चम्किलो भविष्य
एकातिर कोहलपुर नेपालगन्ज सडक छ लेनको बनेको र अर्को तिर एसियाली विकास बैंक तथा नेपाल सरकारको संयुक्त लगानीमा एकिकृत शहरी विकास कार्यक्रम अन्तरगत नेपालगन्जका भित्री सडक बिस्तार, कालो पत्र गर्ने तथा नाली निर्माणको कामले तिब्रता पाउनुले गर्दा बाँकेको विकासले थप गति लिएको छ । बाँकेको दक्षिणी क्षेत्रका खजुरा, नेपालगन्ज, फुल्टेक्रा, बनकट्टी फत्तेपुरकाबस्तीलाई समेटने गरी हुलाकी राजमार्ग निर्माणको सुरुवात भएको छ यसले पनि बिहानीले दिनको झलक दिन्छ भने जस्तै आस पलाएको छ ।

 

अन्न भण्डारको रुपमा चिनिने बाँके जिल्लाको कृषि उत्पादनलाई बढाउन महेन्द्रराजमार्ग दक्षिणका प्रायः सबै बस्तीलाई सिचाई सुविधा पुग्ने गरी राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिचाई सम्पन्न हुने चरणमा छ । यस सिचाई आयोजना सम्पन्न भएपछि बाँकेको उत्पादन हालको तुलनामा दोब्बर बढ्ने देखिन्छ जस्ले गर्दा बाँकेमा कृषि जन्य औद्योगिकरण बढ्ने छ ।

 

नेपालगन्ज उपमहानगरपालिकाका राझा, मनापुर, इन्द्रपुर, परस्पुर, चौलिक्का, हिरमिनिया, फूल्टेक्रा, पुरैना, पुरैनी, बासुदेवपुर, कारकाँदो हँुदै राझासम्मको भूभागलाई समेटेर कुमुबोधु नेपालगन्ज चक्रपथ निर्माण सुरुवात तथा कोहलपुरको हवल्दारपुर, मदन चोक, कौसिल्यानगर, चप्परगौडी, बन्धा, पिपरी हुँदै हवल्दारपुरसम्म कोहलपुर चक्रपथ निर्माणको सुरुवात गरिएको छ । नेपालगन्जको जयसपुर तथा साईगाउँको बीचमा एकिकृत भन्सार बिन्दु निर्माणको लागि जग्गा अधिकरण र मुहब्जा बितरणको काम अन्तिम चरणमा पुगेको छ ।

 

अहिले आएर नेपालगन्जमा भेरी अञ्चल अस्पताल तथा फत्तेबाल आँखा अस्पतालको सेवा बिस्तार, नेपालगन्ज नरसिङ्ग होम लगायत दर्जनौ निजी अस्पताल खुलेका छन् । विगतमा समुदायबाट सुरु गरिएको खजुरा प्रखर क्यान्सर अस्पताललाई नेपाल सरकारले आफ्नो स्वामित्वमा लिई सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको रुपमा नामाकरण गरेर थप निर्माणको निर्माण कार्य अगाडि बढाएको छ । जुन अस्पतालबाट आउँदा दिनमा ल्याव, रेडियोलोजी, स्टाफ नर्स, एच.ए, एम बि बि एस तथा एम डी जस्ता प्राविधिक विषयमा उच्च शिक्षा प्रदान गर्न सकिने सम्भावना छ । केही राष्ट्रिय दैनिकले पश्चिम नेपालको बेस नेपालगन्ज र कोहलपुरलाई बनाएर यहीबाट पत्रिका प्रकाशन र वितरणको काम सुरु गरेका छन् । गोरखापत्र दैनिकले समेत कोहलपुरबाट पत्रिका प्रशाशन र वितरणको काम गर्ने निर्णय गरी तयारी गर्दै गरेको छ । बिगतमा बन्द रहेको नेपाल टेलिभिजनको कोहलपुर क्षेत्रीय प्रसारण सुरु भएको छ भने नेपालगन्जमा भिजन तथा बागेश्वरी नामक निजी टेलिभिजनले प्रसारण सुरु गरेका छन् । नेपालगन्ज तथा कोहलपुरबाट दर्जनौ पत्र पत्रिका प्रकाशन तथा एफ एम स्थापना गरेर नागरिकलाई सूसूचित गरि राखेको पाइन्छ ।

 

शिक्षाको क्षेत्रमा नारायण, मंगलप्रसाद, महेन्द्र, सरस्वती, ज्ञानोदय, त्रिभुवन, कुसुमेश्व, माध्यामिक बिद्यालय जस्ता पचासौ सरकारी सामुदायिक बिद्यालय नेपालगन्ज, कोहलपुर तथा खजुरामा रहेका छन् भने सयौ संख्यामा संस्थागत विद्यालय यस जिल्लामा रहेका छन् । गुणस्तरिय शिक्षाको कुरा गर्दा नेपालगन्ज तथा कोहलपुरलाई पश्चिम नेपालको हवको रुपमा लिने गरिएको छ ।

 

प्राविधिक शिक्षा तर्फ भेरी प्राविधिक शिक्षालय, स्वस्थ्य शिक्षा दिने नेपालगन्ज नर्सिङ्ग क्याम्पस, वेष्र्टन, भेरी नर्सिङ्ग क्याम्पस गरी दर्जनौ शिक्षालय खुलेका छन् । अर्को तिर नेपालगन्ज मेडिकल कलेजले डक्टर तथा एम.डी. तहको अध्ययन अध्यापनको सुरुवात गरेको छ भने नेपालगन्जमा इन्जिनियरको समेत अध्ययन अध्यापन गर्ने कलेजहरु स्थापना भएका छन् ।

 

वर्तमान संघीय संरचना अनुसार ५ नं प्रदेशमा परेको बाँके जिल्लाको विकासका लागि ५ नं प्रदेश सरकारले विगतमा काठमाडौंले गरे जस्तो विभेद मुलक नीति नलिई ५ नं प्रदेशका ठुला सहर नेपालगन्ज, दाङ्ग तथा बुटवलको बिकास त्रिकोणात्मक तथा समानुपातिक रुपमा गर्नु पर्ने देखिन्छ । अर्को तिर नवोदित बजारहरु खजुरा, कोहलपुर तथा फत्तेपुरको विकासमा समेत ध्यान दिनु पर्ने देखिन्छ । सर्वप्रथम प्रदेश सरकारले बाँकेको कोहलपुरमा रहेका सिटिइभीटी क्षेत्रीय कार्यालय, परिक्षा बोर्डको क्षेत्रीय कार्यालय तथा नेपाल टेलिभिजनको क्षेत्रीय कार्यालयहरुलाई प्रदेश राजधनीको नाममा बुटवल सार्ने दुष्प्रयास गर्नु हँुदैन । अर्को तिर प्रदेशमा स्थापना गरिने संरचना मध्य केही संरचना बाँकेको नेपालगन्ज, खजुरा, कोहलपुर तथा फत्तेपुरमा स्थापना गरिनु पर्ने देखिन्छ ।

 

 

केन्द्र तथा प्रदेश सरकारले सहकार्य गरेर यस प्रदेशमा स्थापना गरिने उद्योग तथा ब्यापार सम्बन्धी संरचना तथा एग्रो बेस उद्योगहरु बाँके, बर्दियामा राख्ने, हुलाकी, खजुरा कृषि अनुसन्धान केन्द्रलाई कृषि तथा पशुपालन विश्व विद्यालयको रुपमा विकास गर्ने, नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने, महेन्द्र बहुमुखी क्याम्पसलाई नेपालगन्ज विश्वविद्यालय बनाउने, राप्ती नदीमा भरपर्दो तटबन्धको ब्यवस्था, बाँकेमा ब्यवसायिक उखु खेतीको सुरुवात, फत्तेपुरमा चिनी मिल स्थापना, ब्यवसायिक कपास खेतीको सुरुवात तथा खजुरामा कपडा उद्योग स्थापना गर्न सकेको खण्डमा यस जिल्लाको मुहार फेरिने कुरामा दुई मत छैन ।

 

 

बाँके जिल्लाका नेपालगन्ज, खजुरा, कोहलपुर हँुदै फत्तेपुर जोड्ने बाँके चक्रपथ निर्माण गरि यी सबै भूगोलको समानुपातिक विकास गर्न सकेको खण्डमा बाँकेको विकासले काँचुली फेर्ने देखिन्छ । अर्को तिर बाँके जिल्लामा एकिकृत भन्सार बिन्दु स्थापना हुनुले गर्दा यो क्षेत्र ५ नं प्रदेश तथा कर्णाली प्रदेशको ट्राजिट बिन्दुको रुपमा विकास हुने देखिन्छ । यसलाई बल पुर्याउन यस क्षेत्रलाई विशेष आर्थिक क्षेत्रको रुपमा विकास गरिनु पर्ने देखिन्छ ।

 

 

सिक्टा सिचाई, कोहलपुर मेडिकल कलेज, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगन्ज कोहलपुर छ लेन सडक, हुलाकी राजमार्ग, एकिकृत सहरी विकास आयोजना मार्फत सडक तथा नाली बिस्तार, एकिकृत भन्सार बिन्दु, रेल्वेको सर्भे, नेपालगन्ज कुमबोधु चक्रपथ वा कोहलपुर चक्रपथ, बाँके राष्ट्रि«य निकुञ्ज, वाटरपार्क, नौबस्तामा औद्योगिक क्षेत्र स्थापना जस्ता पूर्वाधरको सुरुवातले बाँकेको भविष्य चम्किलो छ भन्न सकिन्छ । (नेपालगन्ज–१ चन्दननाथ टोल धम्बोझी निवासी लेखक पाण्डेले यसअभि कोहलपुर नगरपालिकाको कार्यकारी अधिकृत, वाणिज्य कार्यालय नेपालगन्जको कार्यालय प्रमुखका साथै सरकारी सेवामा रही बाँके जिल्लामा करिव बीस बर्ष काम गरिसकेका छन् ।)

प्रतिक्रिया

प्रतिक्रिया