बुटवल/समाचारदाता
दैनिक नेपालगन्ज
प्रदेश सभाको दोस्रो अधिवेशन सोमबारबाट सुरु भएको छ । पहिलो अधिवेशन साता दिन अघि मात्र सकिएको थियो । दोस्रो अधिवेशन सुरु हुनु पूर्व सभामुख पूर्ण बहादुर घर्तिले प्रदेश प्रमुख उमाकान्त झाले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आव्हान गरेको पत्र पढेर सुनाएका थिए । दोस्रो अधिवेशनको पहिलो बैठकबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनः विधायन समितिमा फिर्ता पठाइएको छ । विधायन समितिबाट संसोधन सहित प्रदेश सभामा छलफलका लागि उक्त विधेयक आएको थियो ।
चैत १५ गते संसदमा प्रस्तुत भएको विधेयकमाथि दुई जना सांसदले वडा अध्यक्षले पनि पारिश्रमिक पाउनु पर्ने संशोधन दर्ता गरेका थिए । मुख्यमन्त्री शंकर पोखरेलले करका स्रोतहरु पर्याप्त नभएकाले सेवा सुविधा दिन नसकिने भन्दै उक्त विधेयक पुनः छलफलका लागि विधायन समितिमा फिर्ता पठाउने प्रस्ताव गरेपछि सभामुख घर्तिले उक्त विधेयक विधायन समितिमा फिर्ता पठाएका हुन् ।
त्यस्तै सरकारले आर्थिक बर्ष २०७५/०७६ का लागि तयार गर्न बनेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयहरु मुख्यमन्त्री शंकर पोखरेलले संसदमा प्रस्तुत गरेका छन् । उनले पूर्वाधार, पर्यटन, कृषि र उद्योगलाई नै प्राथमिकतामा राखेर बजेट बनाउने बताए । चालु वर्षका लागि ल्याएको नीति कार्यक्रममा नै आधारित रहेर आगामी वर्षका लागि बजेट खर्च गर्ने उनको भनाइ थियो । सोमबार संसदमा प्रस्तुत भएको सिद्धान्त, उद्देश्य र प्राथमिकतामाथि सांसदले कम्तीमा १५ दिन छलफल गर्नेछन् । सांसदबाट प्राप्त सुझाव समेट्दै सरकारले जेठ अन्तिम साता नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ ।
मुख्यमन्त्री पोखरेलले अघि सारेको समृद्ध प्रदेश सुखी जनता नारा सार्थक बनाउन प्रदेश सभा सांसदसँग एक सातासम्म जिल्लागत छलफल समेत गरेका थिए । संसदमा आज मंगलबारदेखि सांसदहरुले विषयहरु माथि छलफल गर्ने कार्यसूचि छ ।