३० रुपैयाँमा हेपाटाइटिस जाँच !

भ्रममा नपर्न जनस्वास्थ्यको सुझाव

बर्दिया/भावुक योगी
दैनिक नेपालगन्ज

बर्दियाको ठाकुरबाबा नगरपालिकाका बिभिन्न वडाहरुमा केहिदिन यता प्रति व्यतिm २० देखि ३० रुपैयाँमा हेपटाइटिस बि रोग पत्ता लगाउन रगत जाच गर्ने टोली गाउँगाउँमा पुगेको छ । कस्तो खालको रगत परिक्षण हो, यसबाट स्थानीयलाई के फाइदा पुग्छ भन्ने बारे सोधखोज नगरिकनै नगरपालिकाको स्वास्थ्य शाखाले अनुमति दिएपछि रगत जाचँ गर्ने टोली गाउँगाउँ पुगेको हो । रगत परीक्षण गराउन गाउँको बडघरलाई बोलाउन पठाएपछि गाउँवासी उर्लिएर पुग्ने गरेका छन् ।

 
‘विहान १० बजे गाउँमा पुगेको टोलीले रगत संकलन गर्ने गरेपनि रगत कुन ठाउँमा कसरी राखेको छ र कहाँ ल्याव परिक्षण गर्ने गरेको छ भन्नेबारे कसैलाई पनि थाहा छैन’, स्थानीय अर्जुन शर्माले भने । गाउँगाउँमा गएर हेपटाइटिस बी रगत परीक्षण गर्न भन्दै गाउँ पसेको टोली औचित्यहिन भएकाले यस्ता खालका भ्रामक प्रचारको पछि नलाग्न बर्दियाका जिल्ला स्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले बताएका छन् । नेपाल सरकारबाट स्वीकृत लिएर निःशुल्क रुपमा अथवा शुल्क लिएर भएपनि सेवामूखि सेवा दिनु पर्नेमा मानवको स्वास्थ्य माथि खेलवाड गर्ने हिसावले कुनै संस्थाले यसरी रगत परिक्षण गर्न नपाउने जिल्ला स्वास्थ्य प्रमुख अधिकारीले बताए । यसअघि पनि यो लगायत अन्य संस्थाहरु पनि आएको र आफुहरुले अनुमति नदिएको बताउँदै स्थानीय तहको स्वास्थ्य शाखालाई जिम्मेवारी सुम्पिसकेकाले यतिबेला आफुहरु संग कसैले पनि सल्लाह नलिएको उनले बताए । ‘जिल्ला स्वास्थ्य कार्यालयमा अनुमति लिन आएको भए आफुहरुले अनुमति दिइने थिएन,’ उनले भने ।

 

 

केही दिनअधि देखि ठाकुरबाबा नगरपालिकाका बिभिन्न वडामा कर्णाली हेल्थ फाउण्डेसन धनगढी कैलालीबाट आएको टोलीले रगत लिने काम भइरहेको पाइएपनि ठाकुरबाबा नगरपालिकाको स्वास्थ्य शाखाबाट आफुहरुले अनुगमन नगरेको स्वास्थ्य शाखा प्रमुख इन्द्र राजवंशीले स्वीकार गरे । रगत परीक्षणका क्रममा लिइएको रगत कहाँ कुन ठाँउमा राख्ने र कुन ठाउँमा लगेर परीक्षण गर्ने गरेको छ भन्नेबारे अहिलेसम्म कसैलाई पनि जानकारी नभएकाले तत्कालका लागि रोकिदिएका छौं,’ राजवंशीले भने ।

 

 

नगरपालिकाका झण्डै ६० हजार जनसंख्या मध्ये ४० हजारको रगत परिक्षण गर्ने भन्दै ५ जना सम्मको परिवारका लागि प्रति व्यक्ति ३० रुपैयाँ अर्थात १५० रुपैयाँ र ६ जनादेखि १० जना सम्मका परिवारका लागि २०० रुपैयाँ यसअघि अग्रिम बुझिसकेको स्थानीयले बताएका छन् । रगत परीक्षण गर्ने भन्दै झण्डै १० देखि १२ लाख रकम उठाइसकेको बताइएको छ । यसअघि बारबर्दिया नगरपालिका र गुलरियामा पुगेको टोलीले रगत परिक्षण नगरी फर्किएको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया