भारतको कोठीबाट जोखिम मोलेर चेलीको उद्दार

भारतको दिल्लीस्थित एक कोठीबाट एक बालिका सहित ३ जनालाई उद्दार गरिएको हो ।

दैनिक नेपालगन्ज/देवेन्द्र पौडेल

माइती नेपालले भारतको दिल्ली स्थित एक कोठीबाट एक बालिका सहित ३ जनाको उद्दार गरेको छ । नेपालमा मानव बेचबिखन विरुद्ध सक्रिय रहेको माइती नेपालले पछिल्लो समय भारतमै पुगेर चेलीहरुको उद्दारमा सक्रियता बढाएको हो ।

 

गत चैत्र अन्तिम साता भारतको आगरा स्थित कोठीमा छापा मारेर पाँच नेपाली चेलीको उद्दार गरेको माइती नेपालले बैशाख ४ गते दिल्ली स्थित जिबी रोड ६४ र ७० मा छापा मारेर थप एक नाबालिका सहित ३ जनाको उद्दार गरेको हो । माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले सात जना नेपाली चेली दिल्ली स्थित कोठीमा रहेको सूचना पाएपछि उद्दारको योजनामा गत बैशाख १ गते त्यसतर्फ लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘हामीले उद्दार गर्न गएका नेपाली चेली कोठी संचालकले भगाइसकेकाले फेला पार्न सकेनौं’, पत्रकार सम्मेलनमा उनले भने, ‘तर, त्यहाँ तीन जना युवतीलाई लुकाएर राखेको अवस्थामा फेला पार्न सफल भयौं र उद्दार गर्यौं ।’ उद्दार गरिएका १७÷१८ बर्षिया दुई युवतीलाई कोठी सञ्चालक विरुद्ध मुद्दा दायर गरिएकाले कानुनी प्रक्रियाका लागि नारी निकेतन दिल्लीको संरक्षणमा राखिएको संयोजक कोइरालाले जानकारी दिए ।

 

भारतको कोठीबाट नेपाली चेलीको उद्दार गरेर फर्काउनु कम्ती चुनौतिपूर्ण र जोखिमपूर्ण छैन । कोठी सञ्चालकको स्थानीय प्रहरीसँग हुने साँठगाँठका कारणले सुरक्षा दृष्टिकोणले पनि जोखिम रहने संयोजक कोइराला बताउँछन् । ‘सात जना नेपाली युवतीहरु रहेको कुरा पहिल्यै रेकी गरेर हाम्रो च्यानलले एकिन गरेको थियो’, संयोजक कोइरालाले भने, ‘तर, पनि छापा मार्ने क्रममा उनीहरुलाई फेला पार्न सकिएन ।’ संयोजक कोइरालाले माइती नेपालको अपरेशनबारे सूचना लिक भएको हुनसक्ने आशंका गर्दै भने, ‘हामी पुग्दा शायद उनीहरुलाई अन्तै लगिसकिएको थियो ।’ उनले खोजीमा रहेका नेपाली चेलीहरुलाई लग्न सक्ने सम्भावित ठाउँहरुमा सहयोगीमार्फत खोजी राख्ने बताएका छन् ।

उसो त माइती नेपालले सूचना चुहिने जोखिमले स्थानीय प्रहरी भन्दा माथिल्लो तहको प्रहरीसँग छापा मार्ने कार्यका लागि सहयोग लिएको थियो । संयोजक कोइराला भन्छन्, ‘छापामार्ने क्रममा पनि हामी आफै खोजीका लागि सक्रिय भयौं ।’ कोठीमा बेचिएका युवतीहरु चाहेर पनि सजिलै फर्कन सक्ने अवस्था हुँदैन । संयोजक कोइरालाले कोठीमा छापामा मार्दा उनीहरुलाई च्यानल गेट भित्र थुनेर राख्ने र प्रहरी आउने सूचना पाएमा सुरुङ्गहरु भित्र लुकाएर राख्ने गरेको पाइएको बताउँछन् । ‘कोठीमा भोगेको नारकीय जीवन र कोठी सञ्चालकको धम्कीका कारण कतिपय उद्दारलाई अस्वीकार गर्न खोज्छन्’, उनी भन्छन्, ‘त्यसैले हामी उनीहरुलाई काउन्सिलिङ, कानुनी उपचार र पुनस्र्थापनामा पनि सहयोग गछौं ।’

 

माइती नेपालले सन् २०१७ मा श्रम र यौन शोषणमा परेका ६७ जनाको उद्दार गरेको थियो । सन् २०१६ मा २६ र सन् २०१५ मा माइती नेपालले १६ जना बेचिएकाहरुको उद्दार गरेको थियो । ‘सन् २०१८ को चार महिनामा १३ जनाको उद्दार गरिसकेका छौं’, माइती नेपालका क्षेत्रीय संयोजक कोइरालाले भने । भारतमा बंगलादेश, भारतकै विभिन्न ठाउँ तथा नेपालबाट युवतीहरु लगेर बेचिने गरेको पाइन्छ । तर, त्यहाँको सरकारले मानव बेचबिखन विरुद्ध कुनै ठोस कारवाही गरेको पाइँदैन । नेपाल सरकारले पनि मानव बेचबिखन विरुद्ध र विदेशी भूमिमा बेचिएकाहरुलाई नेपाल फर्काउन उल्लेख्य काम गरेको पाइँदैन ।

 

मानव बेचबिखन विरुद्ध सक्रिय संस्थाहरु सरकारले नै भारतमा बेचिएका चेलीहरु फर्काउन र उनीहरुलाई पुनस्र्थापित गर्न बृहत अभियान चलाउनु पर्ने धारणा राख्छन् । ‘सरकारी उदासिनताले पनि बेचिएका चेलीलाई नेपाल फर्काउन सहज छैन’, उनीहरु भन्छन् ।

 

रोकिएन मानव बेचबिखन
दैनिक नेपालगन्ज

सचेतना बढ्यो । ऐन, कानुन बने । सचेतनाका फैलाइयो । मानब बेचबिखन तथा ओसारपसारमा कोही नपरुन् भनि सीमा नाकामा संघ, संस्थाहरुले कार्यालय नै स्थापना गरेर सोधपुछ, चेकजाँच बढाए । तर, मानव बेचबिखन विरुद्धका घटनामा कमी आउन सकेको छैन ।

 

मानवबेचबिखन विरुद्ध सक्रिय संस्थाहरु गाउँगाउँ सम्म पुगेको बताउँछन् । समुदाय, विद्यालयमा सचेतनाका कार्यक्रमहरु गरेका प्रतिवेदन बनाएका छन् । मानिसहरु सचेत पनि भएको तथ्यले देखाएको छ । मानव बेचबिखन विरुद्धको जोखिम बारे सर्वसाधारणले थाहा पनि पाएको देखिन्छ । बदलिंदो प्रविधिको युगमा मानव बेचबिखन विरुद्ध त्यसको भरपुर सदुपयोग गरियो । तर, प्रतिफल भने देखिएन । दलालहरु थप चलाख हुँदै गए, जुक्ति लगाउन सुरु गरे, प्रविधि दुरुपयोग गरी पनि उनै दलालका लागि सहयोगी बने ।

 

 

माइती नेपाल नेपालगन्जको पछिल्ला बर्षको तथ्यांक हेर्ने हो भने जोखिमपूर्ण रुपमा भारत जानेहरुको संख्या बढ्दो छ । सन् २०१७ मा मात्रै नेपालगन्जको रुपैडिहा नाकाबाट १ हजार ७१ जनाको उद्दार गरी आवधिक गृहमा पठाएको माइती नेपालको तथ्यांकमा उल्लेख छ । जुन अघिल्लो बर्ष सन् २०१६ मा १ हजार २ र २०१५ मा ५६६ थियो ।
माइती नेपालले सिमानाकाबाट परामर्श दिएर घर फिर्ता गराइएकाहरुको संख्या सन् २०१७ मा २२३ जना छ भने उक्त सन् २०१६ मा ५८७, सन् २०१५ मा ३५३ थियो । पछिल्ला बर्ष मानिस हराएर खोजिको आग्रह गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । माइती नेपाल नेपालगन्जको तथ्यांक अनुसार, सन् २०१७ मा ८ सय ३४ जनाले खोजीका लागि निवेदन दिएका थिए । जसमध्ये १ सय ५४ जनालाई फेला पारिएको संयोजक कोइराला बताउँछन् । सन् २०१६ मा खोजीका लागि ७ सय ३१, सन् २०१५ मा ४ सय ६१ जनाले खोजीका लागि निवेदन दिएका थिए । जसमध्ये सन् २०१६ मा १ सय १३ र सन् २०१५ मा ५१ जना फेला पारेको तथ्यांक माइती नेपाल नेपालगन्जमा छ ।

 

 

माइती नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक केशव कोइरालाले कसैले झुक्याएर बेचबिखनमा पार्न सक्छ भन्ने मूल्यांकन गर्न नसक्दा बेचबिखनको जोखिम बढेको बताउँछन् । कोइरालाका अनुसार, प्रेममा फसाएर, रोजगारीको वहाना, घरबाट भागेर भारत जानेहरु श्रम तथा यौन शोषणका लागि बेचिने गरेको पछिल्लो समय उद्दार गरिएकाहरुबाट खुल्दै आएको छ । त्यस्तै, मानव अङ्ग प्रत्यारोपरण, सर्कल लगायत अन्य कामका लागि पनि मानवबेचबिखन हुने गरेको घटनाहरु सार्वजनिक हुँदै आएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया