सडक सुरक्षामा केकीको ‘कोहलपुर एक्सप्रेस’

टिएस ठकुरी

विविध जातजाति र धर्मावलम्वीको बसोबास रहेको नेपालका लागि खेलकुद, सिनेमा र साहित्य देश जोड्ने विधा हुन् । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत नेपाल अटोमोबाइल स्पोटर््स एसोसियसन (नासा)ले सडक सुरक्षालाई अटोमोबाइल स्पोर्ट्स विकासको पहिलो शर्त मानेको छ । कुनै पनि विधाका सेलिब्रिटीमार्फत सन्देश फैलाउन प्रभावकारी हुने अपेक्षासहित उसले अभिनेत्री केकी अधिकारीलाई सडक दुर्घटना न्युनीकरण सम्बन्धि सचेतना अभियानसँग जोडेको छ, अर्थात केकी अधिकारीलाई ‘गुडविल एम्बेस्डर’ नियुक्त गरेको छ ।

 

नासाले प्रदेश ५ को नेपालगन्जबाट सुरु गरेको सडक दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना अभियानलाई सम्बोधन गर्न केकी नेपालगन्ज आइपुगेकी हुन् । सडक दुर्घटना न्यूनिककरण गर्न ट्राफिक नियम पुर्णरुपमा पालना गर्नुपर्ने बताउँदै गर्दा उनले यही बैशाख १४ गतेदेखि रिलिज हुन लागेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को समेत प्रवद्र्धन गरिन् । निर्मात्री केकीका अनुसार ‘कोहलपुर एक्सप्रेस’ सडक सुरक्षासम्बन्धि सन्देश दिने कमेडी जानराको फिल्म हो । दर्जनबढी फिल्ममा अभिनय गरिसकेकी केकीको निर्माणका हिसाबले यो डेब्यु फिल्म हो । त्यसैले उनी निकै आशावादी त छिन्, साथै चुनौति समेत महसुस गरिरहेकी छिन् ।

 

‘सडक सुरक्षा हुँदा हामी सबै सुरक्षित हुने हो,’ उनले नेपालगन्जको पुष्पलाल चोकमा आयोजित कार्यक्रममा भनिन्, ‘हामी सबैले ट्राफिक नियम पुर्णरुपमा पालना गरौं र कोहलपुर एक्सप्रेस पनि हेरौं ।’ फिल्मकै कामका सिलसिलामा नेपालगन्ज रहँदा कोहलपुरको नाम धेरैपटक सुनेपछि आफु त्यसै नामबाट फिल्म बनाउने निस्कर्षमा पुगेको उनले कार्यक्रममा सुनाइन् । ‘धेरैले नाम चलेका ठाउँको नामबाट फिल्म बनाउनुपर्ने सुझाएका थिए, तर मलाई कोहलपुर नाम युनिक लाग्यो,’ उनले सुनाइन्, ‘अनि सुरु भयो कोहलपुर एक्सप्रेस ।’

 

कोहलपुर सडक यातायातका हिसाबले महत्वपूर्ण ट्रान्जिट प्वाइन्ट हो । पूर्व मेचीदेखि पश्चिम महाकाली तथा उत्तरतर्फ मुगुको रारादेखि दक्षिणमा भारतीय सवारीसम्मको मिलन बिन्दु रहेको कोहलपुर नेपालकै पुराना मध्येको एक सहर नेपालगन्जदेखि १६ किलोमिटर उत्तरमा पर्छ । जहाँ प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणाधिन अवस्थामा छ । जुन मैदानमा यतिबेला पहिलो पटक टिम अक्सन प्रणालीमा यात्रा तय गरेको नेपालगन्ज कप क्रिकेट चलिरहेको छ ।
नासाको सडक सुरक्षा सम्बन्धि अभियानलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नेपाल क्रिकेट संघका बरिष्ठ उपाध्यक्ष विनोद मैनालीले कुनै पनि विधाका सेलिब्रिटीमार्फत जाने सन्देश प्रभावकारी रहने भएकाले नासाको अभियान पूर्ण सफल हुनेमा बिश्वास व्यक्त गरे ।

 

‘यातायातका साधनहरु दिनानुदिन बढ्दो छ, आममानिसलाई ट्राफिक नियम सिकाउन सकिएन भने दुर्घटना झन् बढ्ने र अकालमै मृत्यु हुने देखिन्छ,’ आठौं राष्ट्रिय खेलकुद तयारी समितिका संयोजक समेत रहेका राखेप सदस्य मैनालीले भने,‘सेलिब्रिटीमार्फत भनाउँदा त्यो सन्देश प्रभावकारी हुने भएकाले नासाको पात्र छनोट एकदम सही छ ।’ चलचित्र ‘स्वर’ डेब्यु नायिका केकीले नेपाली रजतपटमा बौद्धिक नायिकाको छवि बनाएकी छिन् । उनले मानवश्रोत व्यवस्थापनमा एमबीए गरेकी छिन् ।

 

 

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले यही बर्ष मंसिरमा हुने आठौं राष्ट्रिय खेलकुदलाई सफल पार्न यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘हामी आठौं राष्ट्रिय खेलकुदको तयारीमा युद्धस्तरमा जुटेका छौं, अब सात महिना मात्र बाँकी छ ।’ उनले भने, ‘सडक सुरक्षा हाम्रो खेलकुदका बेला पनि जरुरी हुने भएकाले यो अभियानले व्यापकता पाओस ।’

 

 

नासाका केन्द्रीय अध्यक्ष गोविन्द भट्टराईले आठौं राष्ट्रिय खेलकुद नेपालगन्जमा नै हुने भएकाले यो अभियान नेपालगन्जबाटै प्रारम्भ गरिएको जानकारी दिए । हरेक प्रदेशका मुख्य सहरमा यो अभियान सञ्चालन गर्ने उनले बताए । बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले सडक सुरक्षा अब पुलिसको मात्र नभइ आम मानिसको चासोको बिषय हुनपर्नेमा जोड दिए । आम मानिस विशेषगरी किशोर किशोरीले सेलिब्रिटीको सिको गर्ने भएकाले हरेक सामाजिक कामसँग सेलिब्रिटी जोडिनु सुखद पक्ष रहेको बताए ।

 

 

नासा प्रदेश ५ का अध्यक्ष निरञ्जन राजभण्डारीले सडक सुरक्षाको अभियानलाई व्यापकता दिइने बताए । ‘यो सुरुवात मात्र हो ।’ उनले भने, ‘गोरटो खनिएको छ, अब सडक बिस्तार हुँदैछ । हामी समाजको भलाइका निम्ति धेरै काम गर्न चाहन्छौं र यो अभियानमा सबैलाई जोड्दै लैजान चाहन्छौं ।’ पछिल्लो एक बर्षयता नेपालगन्ज र कोहलपुरलाई चारलेन सडकले जोडेको छ । बढ्दो सडक दुर्घटनालाई न्यूनिकरण गर्न भन्दै नेपालगन्ज उपमहानगरपालिकाले सडक नियमानुसार राखिएका डिभाइडर हटाउँदै आवागमन बन्द गर्दा देखिएको कुरुपताप्रति त्यत्तिकै आलोचना खेप्दै आएको छ ।

 

तर सचेतना र्यालीमा उपस्थित सयौं खेलाडी तथा बिभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरुले भने सन्देशमुलक चलचित्र कोहलपुर एक्सप्रेस हेर्न आफुहरु आतुर रहेको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया