बाँके अवैध हतियारको ‘ट्रान्जिट प्वाइन्ट’

खुल्ला सिमाना र बढ्दो हतियारको कारोबारबाट सुरक्षा चुनौती

दैनिक नेपालगन्ज

कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक सहर हुने कानूनी प्रावधान विपरीत बाँकेमा पटक पटक अवैध हतियार बरामद हुँदै आएको छ । खुल्ला सिमाना, असुरक्षाको अवस्था र वन जंगलमा भइरहेकोको चोरी शिकारीले बाँकेमा अवैध हतियारको अवस्था भयावह रहेको देखाएको हो । भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हतियार चुनौती भइरहेको प्रहरी भनाइ बीच गत वर्ष प्रहरीले ६ वटा हात हतियार खर खजाना मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार गत वर्ष भरुवा बन्दुक २, कटुवा पेस्तोल १, एयर गन २, विदेशी पेस्तोल १ थान, गोली १४ र अभियुक्त ८ जना नियन्त्रणमा लिएको हो ।

 
अहिले चालु आर्थिक वर्षमा प्रहरीले १५ वटा हात हतियार खर खजानाका मुद्दा चलाएको छ । जसमा ३ वटा भरुवा बन्दुक, १० वटा कटुवा पेस्तोल, एयर गन २ र छर्रा, २ नाले बाराबोर १ थान, इटालियन पेस्तोल १ थान, एसलएलआरको गोली ६, राइफल गोली थान १, ३८ बोर रिवाल्वर र १ थान गोली, तथा अभियुक्तहरु २० जना फन्दामा परेको बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामांगले बताए ।

 
सो क्रममा संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले नेपालगन्ज वडा नं.२० कोहलपुर नेपालगन्ज सडक खण्ड अन्तर्गत जानकी गाउँपालिका वडा नं.६ वस्ने वर्ष ३६ को प्रमोद कुमार चमारलाई अवैध हतियार सहित नियन्त्रणमा लिएको हो ।
भे.३ प.४३४ नम्वरको पल्सर मोटर साईकलमा लुकाई छिपाई हात हतियार ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी सहायक निरीक्षक राज कुमार सिंह लगायतको टोलीले चेकजाँचको क्रममा चमारलाई हतियार सहित नियन्त्रणमा लिएको हो ।

 
चमारबाट कटुवा पेस्तोल १ र ३ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान र सोधपूछमा चमारले जानकी गाँउपालीका वडा नं.६ बस्ने शोभाराम यादबबाट हतियार खरीद गरेको जानकारी दिएपछि प्रहरीले यादवलाई समेत फन्दामा लिएको छ ।

 
भारतीय क्षेत्रबाट हतियार खरीद बिक्री कारोबार गर्दै आएका यादव बारे थप अनुसन्धान सुरु गरिएको प्रहरी भनाइ छ । ‘जिल्लामा यति अवैध हतियार भनेर सहजै अनुमान गर्न सक्ने अवस्था नभएतापनि बाँके हतियारको ट्रान्जिट प्वाइन्ट नै हो’, संघीय प्रहरी इकाइ नेपालगन्जका प्रमुख, बरिष्ठ प्रहरी उपरीक्षक महेश बिक्रम शाहले भने, ‘यसका विरुद्ध हामी सक्रिय छौं ।’ ‘बाँकेमा बरामद भएको हतियार यहाँ प्रयोग भएको, पड्किएको पाइएन’, शाहले भने, ‘तर यहाँबाट अन्य जिल्लामा सप्लाई भइरहेको बारे हाम्रो अनुसन्धान सक्रिय रहेको छ ।’ बाँके खुल्ला सिमाना भएका कारण भारतीय क्षेत्रबाट यता र यताबाट भारत तिर हतियार बिक्री हुने सिलसिला चली रहेको आधारमा कारवाही हुँदै आएको हो ।

 
पछिल्लो दुई वर्ष यता २५ बढि हतियार बाँकेको राप्तीपारि क्षेत्रमा नामसारी भएर गएको विषयमा प्रहरीले अनुसन्धान गर्दै आएको छ । राप्तीपारि क्षेत्रमा सुरक्षा थ्रेट बढेर हतियार गएको हो वा कुनै योजनाका लागि सो बारे जाँच चलि रहेको छ ।
‘सुरक्षा थ्रेट भएकाहरुले खरीद गरेको विषय गम्भीर हुँदैन’, एसएसपी शाहले भने, ‘तर अवैध हतियार राख्नेहरुले चन्दा असूली, धम्की, शिकार र त्रासका लागि राख्ने गरेको पाइएको छ ।’ हतियार राख्ने ब्यक्तिले पनि आफ्नो समय सुविधा अनुसार हतियार पड्काउन पाउँदैन, शाहले भने, ‘देखाउनका लागि मात्र राख्ने गरिएको हो ।’

प्रतिक्रिया

प्रतिक्रिया