लायन्सको छैठौं नेशनल कन्भेन्सन उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेल । (तस्वीर : विशाल रानामगर/दैनिक नेपालगन्ज)
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले युग परिवर्तनको जिम्मेवारी काँधमा आएको बताएका छन् ।
शनिबार नेपालगन्जमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ को छैठौं नेशनल कन्भेन्सनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राजनीतिक संघर्षको दुष्चक्रलाई तोडेर मुलुकलाई विकास र समृद्धिको बाटो लग्नुपर्ने धारणा राखेका हुन् ।
मुख्यमन्त्री पोखरेलले पटक–पटकका राजनीतिक क्रान्तिले पनि मुलुकको अवस्था परिवर्तन हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । दुनियाँमा एउटा राजनीतिक क्रान्ति सफल हुँदा युग नै परिवर्तन हुने गरेको सुनाउँदै मुख्यमन्त्री पोखरेलले नेपालमा तीन वटा राजनीतिक क्रान्ति भएपनि त्यसले युग परिवर्तन गर्न नसकेको बताए ।
‘यो युग बदल्ने समय हो’, मुख्य मन्त्री पोखरेलले भने, ‘त्यसका लागि राजनीतिककर्मीहरुको प्रयासले मात्र सम्भव हुँदैन । देशलाई विकास र समृद्धि तर्फ अगाडि बढाउन नागरिक समाज, नागरिक समाजका अगुवाहरु, सामाजिक संघ, संस्थाहरु, निजी क्षेत्र सबैको सहभागिता र हातेमालोको आवश्यक छ ।’
देशको अर्थ व्यवस्थाप्रति टिप्पणी गर्दै मुख्यमन्त्री पोखरेलले विगतका अभ्यासले अर्थतन्त्रले बाटो बिराएको उल्ल्ेख गरे । ‘अर्थनीति सही नहुँद राष्ट्रको ढुकुटी खाली भएको छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘तर त्यसलाई ट्रयाकमा ल्याउन सकिन्छ ।’ उनले अर्थव्यवस्थालाई ट्रयाकमा ल्याउन केन्द्र सरकारले श्वेत पत्र ल्याएको उल्लेख गरे ।
संघीयतालाई सफल बनाउने प्रदेशको जिम्मेवारी लिएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनले जनताको समृद्धिको चाहना पूरा गर्ने यात्रा सजिलो भने नभएको उल्लेख गर्दै भने, ‘राज्य संयन्त्रमा उत्साह छैन, डियुटी मात्रै निर्वाह गर्ने मनोवृत्ति हाबी छ, राजनीतिक अस्थिरताबाट आक्रान्त भएको समाजको मनोविज्ञान छ ।’ मन्त्री पोखरेलले त्यसलाई फेरि सकारात्मकता तर्फ फर्काउने कुरा चुनौतिपूर्ण भएपनि असम्भव भने नभएको बताए ।
‘म मा के विश्वास छ भने आञ्चलिक मनोविज्ञानलाई साझा विज्ञानमा बदल्न सकिन्छ, जनतामा रहेको निराशालाई आशामा बदल्न सकिन्छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘तर, त्यसका लागि प्रशासन र राजनीतिक नेतृत्व आत्मविश्वासका साथ हिड्नका लागि तयार हुनुपर्छ ।’ उनले परिवर्तका लागि आफुले संकल्प गरेको बताए ।
समाजमा व्याप्त प्रतिष्ठाको होडबाजी विकासको बाधक भएको बताउँदै मुख्यमन्त्री पोखरेलले जीवनमा गरेको आर्जन फजुल खर्च नगर्न आग्रह गरे । ‘यदी राष्ट्र बनाउने हो भने होडबाजीको मानसिकतालाई त्याग्नुस्, उद्यमशीलतामा लगानी गर्नुस्’, मुख्यमन्त्री पोखरेलले भने । ‘व्यापारिहरुले बाहिरबाट सामान भित्र्याएर आफ्नो जीवन निर्वाह गरिरहनु भएको छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘राष्ट्र त्यसैमाथिको करबा बाँचिरहेको छ ।’ ‘तर, यो प्रकारको आर्थिक सम्बन्धबाट राष्ट्रको निर्माण हुन सक्दैन’, उनले भने, ‘समृद्धिका लागि उत्पादनशीलता बढाउनु पर्छ ।’
परम्परागत कृषिको व्यवसायिकरण आवश्यकता औंल्याउँदै मुख्यमन्त्री पोखरेलले भने, ‘यूरोपियन देशमा १० प्रतिशतले कृषि गर्दा बाँझो खेत भटिदैन तर, हाम्रो यहाँ ७० प्रतिशत जनसंख्या कृषिमा लाग्दा पनि खेतहरु बाँझै छन् ।’
कन्भेन्सनमा बोल्दै मुख्यमन्त्री पोखरेलले लायन्स अभियानले आत्मविश्वास वृद्धि र समाजसेवाप्रति अभिप्रेरित गरेको पाएको बताए । ‘त्यसले जीवनमा सन्तुष्टि प्राप्त हुन्छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘सेवाबाट प्राप्त हुने सन्तुष्टि मूल्यवान हुन्छ ।’ अधिवेशनमा लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी–२ का गभर्नर मधुसुदन शर्माले लायन्स क्लबले नेतृत्व विकासका साथसाथै समाजसेवामा उदाहरणीय काम गरेको बताउँदै आफ्नो कार्यकालमा भएका प्रगतिबारे जानकारी गराएका थिए ।
कार्यक्रममा लायन्सवादको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने पूर्वडिष्ट्रिक्ट गभर्नर सेम शाक्य, डिके ढुंगाना, घनश्याम भट्टराईलाई सम्मान गरिएको थियो । कन्भेन्सन सुरु हुनु अघि साँस्कृतिक झाँकीसहित वृहद् प्रभातफेरि निकालिएको थियो ।
बर्दियामा मुख्यमन्त्री
मुख्यमन्त्रीले स्थानीय सरकारलाई भने, ‘कम्तिमा २० बर्षका लागि सोचेर योजना बनाउनुस् ।’
दैनिक नेपालगन्ज
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुलाई सबैभन्दा नजिकको सरकारको अनुभूति दिन आग्रह गरेका छन् । मुख्यमन्त्री निर्वाचित भएपछि पहिलो पटक प्रदेश ५ को केन्द्रबाट सबैभन्दा किनारको जिल्ला बर्दिया पुगेका पोखरेलले शनिबार जिल्ला समन्वय समितिको आयोजना स्वागत, सम्मान ग्रहण गर्दै भने, ‘नयाँ नेपालको जग तपाईहरुले हाल्नुपर्नेछ ।’
स्थानीय तहलाई जिम्मेवार जवाफदेही बन्न जोड दिंदै मुख्यमन्त्री पोखरेलले अबका योजनाहरु दीर्घकालीन हुनुपर्ने बताए । ‘कम्तिमा २० बर्षका लागि योजना बनाउनुस्’, मुख्यमन्त्री पोखरेलले स्थानीय सरकारका प्रतिनिधिहरुसँग भने, ‘आफ्ना कार्यालयहरु व्यवस्थापन गर्दा पनि गाउँमा सिंह दरबार भन्ने भावनालाई अनुभूत गर्ने गरी तयारी थाल्नुस् ।’
संविधानले पर्याप्त अधिकार दिएको औंल्याउँदै मुख्यमन्त्री पोखरेलले जिल्ला तहका धेरै कार्यालयहरु खारेज भई स्थानीय तह मार्फत सञ्चालनमा आउने भएकाले आफ्ना कार्यालयहरुमा ती कर्मचारी र सेवाग्राही थेग्ने व्यवस्थापन बारे अहिलेदेखि सोच्न ध्यानाकर्षण गराए ।
प्रदेश राजधानीको विवाद चलिरहेको बर्दियामा त्यसतर्फ संकेत गर्दै मुख्यमन्त्री पोखरेलले राप्ती र बबई सभ्यता अटुट आस्था बीच निरन्तरता रहेको बताए । उनको भनाइ थियो, ‘राप्ती र बबई सभ्यताले बाँके, बर्दिया र दाङलाई जोडेको छ ।’ मुख्यमन्त्री पोखरेललाई बर्दियामा सांसद संजय गौतम, जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर प्रसाद थारु लगायतले स्वागत, सम्मान गरेका थिए । त्यसक्रममा मुक्त कमैया समाज बर्दियाका तर्फबाट ज्ञापनपत्र समेत बुझाइएको थियो ।