लायन्स क्लबलाई विश्वव्यापी सन्जाल भएको स्वयंमसेवी संस्थाको रुपमा चिनिन्छ । ‘हामी सेवा गर्छौं’ भन्ने भावनाका साथ विश्वभर लाखौ व्यक्तिहरु लायन्स क्लबमा आबद्ध छन् । सन् १९१७ मा माल्भिन जोन्सले स्थापना गरेको लायस नेपालमा पनि लायनवादको अभियानका रुपमा देशैभरि फैलिएको छ ।
भनिन्छ, लायनवाद प्रत्येक सफल व्यक्ति आफ्नो समुदायको लागि केही गर्नुपर्छ भन्ने सेवाको भाव पनि हो । लायन्स क्लब अन्र्तगत हाल नेपालमा आँखा, दाँत, मातृशिशु, रक्तसञ्चार लगायतका विभिन्न स्वास्थ्य सेवाहरुसमेत प्रदान गरिँदै आएको छ । महिला तथा युवाहरुको नेतृत्व क्षमताको विकास पनि लायन्सको उद्देश्य हो ।
आज शनिवार नेपालगन्जमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालको छैठौं राष्ट्रिय सम्मेलन हुन गइरहेको सन्दर्भमा सम्मेलनले लिएको उद्देश्य र दिने सन्देशका बारेमा जनमानसमा चासो छ । तसर्थ, लायन्स क्लबले कसरी काम गर्छ, समाज सेवामा के कस्तो योगदान दिएको छ, सम्मेलनमा के विषयहरुमा छलफल हुँदैछन् र समग्र देशको विकासमा लायन्सको यो सम्मेलनले कस्तो सन्देश प्रवाह गर्छ भनेर हामीले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका डिष्ट्रिक गभर्नर मधुसुदन शर्मा रिजाल, कन्भेनर मुकुट ढकाल, आर्थिक संयोजक सन्जय थापा, डिष्ट्रिक कोषाध्यक्ष चिन्तामणि धिताल र एनएलएफ शशि स्वाँरसँग छलफल गरेका छौं । दैनिक नेपालगन्जका लागि झलक गैरे र बिशाल रानामगरले गर्नुभएको संवादको संपेक्षित अंश आजको सम्यक संवादमाः
यो सम्मेलन नेपालगन्जमा गर्नु र यसले आम जनतालाई दिन खोजेको दिने सन्देश के हो ?
मुकुट ढकालः यो डिष्ट्रिक बि २ को छैठौं सम्मेलन हो । हाल भएका गभर्नरले आफ्नो क्षेत्रमा लायनिज्म विकासको लागि आयोजना गरिने ठुलो चाड हो । नेपालगन्जका लागि यो तेस्रो कन्भेन्सन पनि हो । हरेक कन्भेन्सनमा नेपालगन्जले एउटा इतिहास बनाएको छ । समाजमा यसले दिने सन्देश भनेको नेपालगन्ज सक्षम छ है भन्ने पनि हो ।
त्यसका लागि हामीले सम्पूर्ण तयारीहरु पुरा गरेका छौं । ऐतिहासिक नेपालगन्ज नगरीलाई यहाँको स्थायी बसोबास गरिरहेका र व्यस्त रहेको बजारलाई लायन्समा आवद्ध भएका विभिन्न जिल्लाबाट आउने २५ सय देखि ३ हजार लायन्सलाई नेपालगन्ज चिनाउने यो अवसर पनि हो ।
धम्बोझीबाट ¥याली सुरु भएर विपिचोकमा नेपालगन्ज नगरपालिकाले सम्मान ग्रहण गर्दै त्रिभुवनचोकमा उद्योग वाणिज्य संघले गर्ने सम्मान ग्रहण गरेर बागेश्वरी मन्दिर हुँदै धम्बोझी चोकमा आएर ¥यालीको समापन गर्ने कार्यक्रम छ । नेपालगन्ज नगरपालिकाको सहकार्यमा नगरका तीनवटा चोकहरु सिंगारिएका छन् । विशेषतः हामीले नगर सफा गर्नको लागि सन्देश दिने हाम्रो प्रयास हो । जसका लागि हामीले नेपालगन्ज उपमहानगरपालिकासँग पनि समन्वय भएको छ । छैठौं कन्भेन्सनले नेपालगन्जमा आजभन्दा २० वर्ष अगाडी रोपिएको लायन्सको बिउलाई उमार्ने र फलाउने काम गर्छ । नेपालगन्ज सूदुर र मध्यपश्चिमको ब्यापारिक हब हो र लायनबाद विकासको एउटा जग पनि हो ।
यति ठुलो सम्मेलनका लागि श्रोतको व्यवस्थापन कसरी गर्नुभएको छ । साथै लायन्सले गर्ने अन्य सेवामुलक गतिविधिहरुको श्रोत कसरी संकलन हुन्छ ?
संजय थापाः म यस सम्मेलनको आर्थिक व्यवस्थापनमा सहयोगीको भूमिकामा रहेको हुनाले लायन्सको यो सम्मेलनलाई सफल बनाउनका लागि हामीले खुला रुपमा आव्हान गरेका थियौं । यसमा सबैले साथ दिनुभयो र हामीले करिब दुई हप्तामै श्रोतको व्यवस्थापन गर्न सक्यौं । यसले पनि नेपालगन्जमा लायनवाद प्रतिको प्रेम छ भन्ने देखाउँछ । हामीले लायनमा आवद्ध भएका र नभएकाहरुलाई पनि समेटेका छौं । श्रोत परिचालन पनि एक खालको कला हो । श्रृजनात्मक तरिकाले श्रोत संकलनमा लाग्यो भने हामी सफल हुन सक्दो रहेछौं ।
तपाईहरु आफै पनि विभिन्न व्यवसायमा संलग्न हुनुहुन्छ, विभिन्न संघसंगठनले कुनै कार्यक्रम गर्नुपर्यो भने व्यापारीलाईनै सताउँछन्, सहयोग माग्छन् भन्ने पीडा व्याप्त छ । लायन्सले चाहीं त्यो गर्दैन भन्ने पनि छ । त्यसैले श्रोत व्यवस्थापन कत्तिको सहज भयो ?
सन्जय थापाः मैले पहिले पनि भनें सम्मेलनको श्रोत संकलनका लागि हामीले खुला आव्हान गरेका थियौं । अरुले कसरी गर्छ भन्दा पनि हामीले लायनवादलाई अघि बढाउनका लागि र हाम्रो क्षेत्रको नेतृत्वलाई नेतृत्व गर्न सहज बनाउनका लागि पनि हामीले सहयोगका लागि आव्हान गरेका थियौं ।
नेपालगन्जमा कुनै ठुला सभा सम्मेलन हुने भयो भने त्यसबाट पीडित यहाँका व्यापारी हुने गर्छन । यस्ता खालका सम्मेलनलाई श्रृजनात्मक बनाएर श्रोत संकलन गर्ने उपायहरु के हुन् ?
चिन्तामणि धितालःलायन्सले गर्ने खर्च हामी आफैले जुटाउने गरेका छौं । अन्य श्रोत भनेको समाजमा प्रभाव पार्ने कामले हामीलाई समाजसँग जोड्न मद्दत गरेको छ । सदस्यता नविकरणका लागि केही पैसा हामीले इन्टरनेशनललाई पठाउनुपर्ने हुन्छ । तर त्यसवापत हामीले यहाँका जनतालाई फाइदा पुग्ने विभिन्न कामका लागि श्रोत पनि पाउने गरेका छौं । हामीले सदस्यता शुल्क वापत बुझाउने भन्दा बढि पैसा हामीले लायन्स क्लब इन्टरनेशनलबाट पाउने पनि गरेका छौं । यो राम्रो कुरा पनि हो । यीनै श्रोतहरुले हामीलाई विभिन्न स्वास्थ्य शिविरहरु, अस्पताल चलाउन पनि सक्षम बनाएको छ । हामीले दिने मात्र होइन श्रोत लिएर पनि आएका छौं । सम्मेलनको सन्दर्भमा हामी आफैले पनि रकम संकलन गछौं । हरेक सहभागीले सम्मेलनमा भाग लिन शुल्क तिर्नु पर्छ । नपुगेको सन्दर्भमा विज्ञापन, शुभकामना माग गर्छाैं ।
लायन्स प्रवेश गर्नुअघि र अहिले लायन्सको नेतृत्व तहमा पुगीसक्दा तपाईको लायन्स प्रतिको बुझाइमा के फरक पाउनुहुन्छ ?
शशि स्वाँरःम लायन्समा आवद्ध भएको भनेको हामी सेवा गर्छौं भन्ने भावनाबाट प्रेरित भएर हो । लायन्समा आवद्ध भएपछि म नेतृत्व तहमा पुगीसकेको छु । मैले लायन्सबाट धेरै कुरा सिक्न पाएको छु जस्तै ममा आएको नेतृत्व विकासको क्षमता, कसैसँग बोल्न छलफल गर्दा आउने असहजता हराएको छ । बास्तवमा मलाई नेतृत्वकर्ता बनाउन लायन्सले धेरै सहयोग गरेको छ । लायन्सबाट मैले धेरे चिज पाएको छु । कन्भेन्सनको सन्दर्भमा कुरा गर्दा म आर्थिक व्यवस्थापनको जिम्मेवारीमा रहेर काम गरिरहेको छु । विशेष गरी यसमा सहभागी हुन आउने लायन्सहरुले तिर्ने दर्ता शुल्क मुख्य आर्थिक श्रोत हो । नपुग कुराहरुमा हामीले विज्ञापन र शुभकामना संकलन गरेका छौं । तालिम केन्द्रको छेउमा लायन्सको तीन कठ्ठा जग्गा छ । त्यसलाई लायन्स सर्भिस सेन्टर खोल्ने भनेर यो सम्मेलन गर्दै छौं । सम्मेलनकै बेला हामीले सर्भिस सेन्टरको सिलन्यास गर्ने योजना पनि छ ।
तपाईजस्तै महिला लायन्समा आकर्षण कस्तो छ ?
शशि स्वाँरः म सुरुमा लायन्समा आवद्ध हुँदा धेरै कम महिलाहरु हुनुहुन्थ्यो । अहिले हामी डिष्ट्रिकमा हेर्ने हो भने २२–२३ प्रतिशत महिलाहरु छौं । महिला सहभागिता अपेक्षित रुपमा रहेको छ । यसमा हाल हाम्रा गभर्नर मधुसुदन शर्मा रिजाल ज्यूको ठुलो हात छ । उहाँ गभर्नर भैसकेपछिनै महिलाको उपस्थितिको लागि महिलालाई प्राथमिकतामा राख्नु भएको छ ।
समाजको लागि लायन्स किन जरुरी छ ?
सन्जय थापाःमानिस जन्मजात दया र करुणा लिएर आउने प्राणी हो । सेवा गर्छु भनेर नेपालमा मात्र होइन संसारभरी फैलिएको लायन्स एउटा चौतारी हो । संस्थागत रुपमा सेवा भाव लिएर जानका लागि लायन्स एक उत्कृष्ठ संस्था हो । हाम्रो आर्थिक व्यवस्थापनको बारेमा मलाई थप्न मन लागेको कुरा भनेको हामीले हाम्रा सदस्यहरुसँग नेै सहयोग माग्छौं । कुनै खालको करकाप, जबर्जस्ती भन्ने शब्द लायनिज्ममा हुँदैन । हामीले गर्ने भनेको अनुरोध हो । अर्को कुरा हाम्रा अग्रजहरुले लायन्स क्लबलाई अगाडी बढाउनु भएको छ, यसले ठुलो लायन्सप्रति ठुलो आकर्षण पैदा गरेको छ । जसले महिला नेतृत्व पनि तयार गरेको छ । सेवा भावको संस्कारलाई लायन्सले अगाडि बढाएको छ । हामी के आव्हान गर्छौं भने यदि तपाई समाजसेवामा जान चाहनुहुन्छ भने तपाईको योगदानलाई लायनिज्मबाट अगाडि बढाउन सक्नुहुन्छ । हामी सेवा भाव गछौं तर प्रचार त्यति गर्दैनौं । सेवा प्रचारमुखी हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।
गभर्नरज्यू, तपाई आफै नेतृत्वमा हुनुहुन्छ, आफ्नो कार्यकालको एक वर्षमा तपाईले केके गर्न सक्नु भयो ?, केके योजनाहरु पुरा हुन सकेनन् या आउने नेतृत्वलाई त्यो जिम्मेवारी हस्तान्तरण गर्नुहुन्छ ?
मधुसुदनः कन्भेन्सनको तयारीमा साथी पूर्ण रुपमा खट्नु भएको छ । कन्भेन्सनमा सहभागी हुन आउने साथीहरुलाई नेपालगन्जको रियालिटिसँग जोड्ने वातावरण बनाएका छौं । यहाँको साँस्कृतिक पक्ष, विकासको पक्ष र यहाँका जनताहरुसँग लायनिज्म कसरी गइरहेको छ भन्ने बारेमा देखाउन खोजेका छौं । यसमा नेपालगन्ज उपमहानगरपालिका पनि हामीसँग जोडिएर गएको छ । लायनिज्मलाई समुदायसँग जोडेर अगाडि जानुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न हामी यो सम्मेलन गर्दैछौं । यो मान्यता स्थापित हुन्छ भन्नेमा म विश्वस्त छु ।
मेरो गभर्नरशीपको पालामा मैले बनाएको योजना मध्येमा आपतकाल कोषको स्थापना थियो । यसलाई मैले एक लायन, एक रुपैया प्रतिदिन नारा दिएर अगाडि बढाएको थिए । हामीले दान दिने संस्कृतिको विकास गर्यौं भने त्यो धनराशीले आपत् विपत्मा परेका जनतालाई सहयोग गर्न सक्छौं भन्ने मान्यताको आधारमा कोषको स्थापना गरेको थिएँ । जसका लागि डिष्ट्रिक टिमले सुरुवातमैे दुई लाख रुपैयाँ राखेको थियो । अरुबाट लिने भन्दा पनि सुरुवात आफैबाट गर्नुपर्छ भनेर हामीले सुरु गरेका हौं । आजको दिनसम्म करिब १९ लाख रुपैया त्यो कोषमा जम्मा भएको छ । त्यो पैसा स्थायी कोषको रुपमा रहन्छ र त्यसको ब्याजबाट आवश्यकता अनुसार सहयोग गरिन्छ । यो कामले लायन्सलाई ब्राण्डिङ्ग गर्ने काम पनि गर्छ । मैले सुरु गरेपछि अन्य डिष्ट्रिकले पनि यस्तै कोषको स्थापना गरेका छन् । हालै विराटनगरमा भएको डिष्ट्रिक ३२५ ए १ ले पनि यस्तो कोष गर्ने निर्णय गरेको छ ।
अहिले नेपालमा २९ हजार भन्दा बढि लायन्सहरु छन् । यो एउटा ठुलो सामाजिक संगठन हो । संख्याको हिसाबले पनि लायन्स मजबुत संस्था हो जसमा चार वटा डिस्ट्रिकहरु सक्रिय छन् । त्यसमध्ये भूगोलको हिसाबले करिब ४० प्रतिशत भूभाग हामीले ओगटेका छौं । डिस्ट्रिक हिसाबले हामी दोस्रो ठुलो हौं । अहिले हामीसँग ९ हजार भन्दा बढि सदस्यहरु छन् ।
तपाई गभर्नर भएपछि विदेश भ्रमण पनि गर्नुभएको छ । बाहिरको अभ्यास, काम गर्ने शैली र समाजको स्वीकृत कत्तिको फरक छ ?
मधुसुदनः विदेशमा जाँदा तपाई लायन्सको पिन लगाएर कुनै सार्वजनिक स्थलमा जाँदा मानिसहरुले झट्ट चिन्ने गर्छन । किनभने १९१७ मा विश्वयुद्ध भैसकेको र क्षतविक्षत रहेको अवस्थामा एकले अर्कोसँग कुरा गर्ने वातावरण थिएन । एकले अर्कोलाई शंकाको दृष्टिकोणले हेर्ने गर्थे । त्यो अवस्थामा सेवाको कार्य मार्फत मानिसको मानसिक तनावलाई कम गरी सहज वातावरण बनाउन लायन्सले काम गरेको थियो । लायन्सलाई मानिसले सम्मानको रुपमा हेर्ने गर्छन । लायन्सको पिन लगाएकाहरुलाई बाहिर देशमा पनि यो राम्रो व्यक्तित्व भएको सम्मानित व्यक्तिको रुपमा हेर्ने गरिन्छ ।
के अझैपनि हामीले लायन्स सेवाभाव लिएर काम गर्ने संस्था हो भनेर बुझाउन नसकेका हौं ? अहिल लायन्सले समाजमा पारेको प्रभावसँग तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
मधुसुदनः केही कुरामा हामी ब्राण्डिंग गरेर जानुपर्छ भनेर लागेका छौं । नेपालको सन्दर्भमा अहिले पनि लायन्स भनेपछि आँखा अस्पतालसँग जोडिएको संस्था हो भनेर जो कोहीले अनुभूति गर्न सक्छ । पछिल्लो समयमा भुकम्प जाँदा लायन्सहरु पनि पीडित भएका थिए । यद्यपी आफ्नो पीडाका बिच पनि लायन्सहरु अरुलाई सहयोग गर्न अघि सरेका थिए । यसमा लायन्स इन्टरनेशनलले पनि तत्कालै एक लाख डलर दिएर हामीहरु तत्कालै सेवाको काममा लागेका थियौं । हामी नेपाल सरकार पुग्न नसकेको ठाउँमा पनि पुगेका थियौं । भूकम्प पछिको सहयोगमा नेपालका लायन मात्र होइन, भारत तथा अन्य देशका लायनहरुले पनि हामीलाई सहयोग गरेका थिए । हामी ५० करोडको लागतमा विद्यालयहरु निर्माण गरिरहेका छौं ।
तपाईको नेतृत्वमा बि २ ले बनाएका र निरन्तरता पाउनुपर्ने योजनाहरु के के छन् ?
मधुसुदनः लायनिज्ममा लिडरसिप, फेलोसिप र सर्भिस तीन कुराहरु महत्वपूर्ण छन् । जस अन्तर्गत युवा, मध्यम र अनुभवी जमात छन् । ती सबैलाई सँगै लिएर जानुपर्ने आवश्यकता छ । त्यसका लागि एउटा लिडरशिप एकेडेमी गठन गरेर जानुपर्छ भनेर लक्षित गरेको छु । जसले तीनै तहलाई जोड्ने काम गर्छ । जसले समाजमा परिवर्तन ल्याउन सक्छौं । अबको दुई महिनामा मैले यो कामलाई पुरा गर्नुपर्ने छ । त्यसैले अधुरो रहने हो कि भन्ने डर पनि छ । यसको विधान बनाउने काम पनि मुकुटजीले गर्दै हुनुहुन्छ ।
अहिले ठुलो सम्मेलन नेपालगन्जमा हुँदैछ यसबाट नेपालगन्जले के लिन सकोस् भन्ने चाहनुभएको छ ?
मधुसुदनः हामी लायन्समा लागेकाहरु आफ्नै पैसा खर्च गरेर हरेक काम गर्छांै । बेलायतबाट निस्कँने आर्थिक पत्रिकाले पनि संसारको सबैभन्दा आर्थिक पारदर्शी संस्थाको रुपमा राखेको छ । हामीले गाभरमा पनि पार्क बनाएका छौं जुन अघिल्लो कन्भेन्सको बेला गरिएको हो । त्यो भन्दा अगाडि सोसाइटीबाट उठाएको केही पैसाले अस्पताल बनायौं । हामीले समाजलाई केही दिइरहेका छौं त्यसैले यिनीहरुले आर्थिक अनियमितता गर्दैनन् है भन्ने विश्वास छ । अहिले पनि हामीले सम्मेलनबाट बचेको पैसाले लायन्स सर्भिस सेन्टर बनाउने योजनामा छौं । त्यसैले हाम्रो पारदर्शितानै हामीलाई आर्थिक सहयोग आउने आधार हो ।
लायन्समा धेरै व्यपार व्यवसायमा संलग्न हुनुहुन्छ । लायनवाद अभियानमा जोडिँदा यसले लायन्स अभियानलाई प्रवद्र्धन गर्न कस्तो सहयोग गर्छ ?
मुकुटः यहाँ हामी विभिन्न व्यापार व्यवसाय गर्नेहरु छौं । एकजनाको व्यपार अर्कोसँग मिल्दैन । यदि लायन्समा नभएको भए एक अर्कासँग चिनजान नहुन पनि सक्थ्यो । विभिन्न विधामा रहेका व्यवसायीहरुलाई एक ठाउँमा ल्याउन लायन्सको सेवा भावले मद्दत गरेको छ । लायन्सको सुन्दरता भनेको पनि त्यही हो । व्यवसाय भित्र पनि सामाजिक भाव ल्याउनलाई लायन्सले मद्दत गरेको छ । लायन्स जन्मघुटी हो ।लायन्सहरु थाक्दैनन । किनकि हरेकको एक वर्षको कार्यकाल हुन्छ र आफुलाई सक्रिय राख्न केही न केही गरिराख्नु पर्छ । यो यस्तो संस्था हो जसले हामीलाई केही गर्नुपर्छ भन्ने तागत दिन्छ । यो एउटा ओपन युनिभर्सिटी हो ।
शशि स्वाँर ः हाम्रो एक वर्ष मात्र कार्यकाल हुने भएकोले हरेक दिन केही न केही गर्नुपर्छ । यो अध्यक्षमुखी संस्था भएकाले कोरम नपुगेपनि फरक पर्दैन । किनकी हामी एक्सन ओरियन्टेड छौं । एक पटक एउटा पदमा लिएको व्यक्ति अर्कोमा पटक फेरी त्यो पदमा बस्छु भनेर भन्न पाउँदैन । किनकी नेतृत्व हामी भित्रैबाट जन्मिन्छ ।
लायन्सले सन्चालन गर्ने अन्य अभियानहरु केके छन् ?
शशि स्वारः हामीले आँखा, दाँत, मधुमेहको बारेमा काम गरिरहेका छौं । यसका साथै निरन्तर रुपमा रक्तदान गर्दै आएका छौं । स्वास्थ्य शिविरका साथै, महिलाहरुको पाटेघर सम्बन्धि स्वास्थय शिविर पनि चलाइरहेका छौं ।
सम्मेलनले के के गर्छ ?
शशि स्वाँरः हाम्रो रिति अनुसार जुन ठाउँमा गर्भनर हुनुहुन्छ उहाँकै होमटाउनमा कन्भेन्सन हुने गरेको छ । सम्मेलनमा संस्थाको नयाँ नेतृत्व चयन गर्छ । यसका साथै विगतमा गरेका कामको अनुमोदन गरिन्छ र संस्थालाई राम्रो र मजबुत गराएर जानुपर्ने केही नीतिहरु पारित गर्नेछ ।
मधुसुदनःहामीलाई त्रिभुवन विश्वविद्यालयले तीन रोपनी जग्गा दिएको छ । त्यसमा हामीले ब्लड बैंक बनाउँदै छौं । अहिलेसम्म नेपाल सरकारले अन्य संस्थालाई ब्लड बैंक बनाउन दिएको छैन । पहिलो पटक नेपालमा लायन्सले पनि ब्लड बैंक सन्चालन गर्दैछ । हाम्रो संस्थाको संरचनाले हामीलाई के विश्वास छ भने हामी ४ देखी ५ वर्ष भित्रमा यसलाई देशव्यापी बनाउन सक्छौं । यसमा हामीलाई सबैभन्दा फाइदाजनक कुरा भनेको हामी त्रिभुवन विश्वविद्यालयसँग जोडिएका छौं । हामीले यसलाई टियु लायन्स ब्लडट्रान्सफ्युजन एण्ड रिसर्च सेन्टर नाम दिएका छौं । भोली यसलाई रिसर्च सेन्टरको रुपमा बृहत रुपमा लैजाने तयारीमा छौं ।
हामी वातावरण, भोक विरुद्ध, युवा र महिलाको बारेमा काम गरिरहेका छौं । युवाहरुलाई लियो क्लवको माध्यमबाट युवाहरुको नेतृत्व विकासमा जोड दिएका छौं । बच्चाको क्षेत्रमा Sight first Kid भनेर कामगरिरहेका छौं । हामीलाई यसका लागि १९ हजार डलर आएको छ यसलाई पनि सम्पन्न गर्ने मेरो योजना छ । मैले महिला नेतृत्वलाई जोड दिएको छु । जसमा मैले खोलेको ५४ क्लबमा १६ वटामा महिला नेतृत्व छ । बदलिंदो परिस्थिति अनुसार लायनिज्म पनि परिवर्तन र परिष्कृत भएर जाँदैछ ।