जुद्ध समशेर महाराज भएपछि नेपालमा ठूलो दुर्घटना भयो । १९७० सालको भुकम्पले देशभरी ठूलो क्षति भयो । गजुर र झिंगटीले छाएको बागेश्वरी मन्दिरको छत भत्कियो । रानी तलाउको लोक भक्तेश्वर महादेवको पगौडा शैलीको मन्दिर भत्कियो । बागेश्वरी मन्दिर नजिकको जेलको पर्खाल चर्किएका थिए । यी सबैको पुनर्निर्माण गर्नका लागि बनाउने अड्डामा डिठ्ठा विश्वजङ्ग विष्ट खटिएर नेपालगन्ज आए । उनले बागेश्वरी मन्दिरलाई पुनर्निर्माण गराएर गुम्बद शैलीको छत निर्माण गराए । लोक भक्तेश्वर महादेव मन्दिर पनि गुम्बद शैलीमै निर्माण भयो । यसो हुनाको कारण तराईतिरका डकर्मीहरुलाई पगौडा शैलीको अभ्यास थिएन र उनीहरुले हिन्दुस्थानमा चलेको गुम्बद शैलीमै त्यसको पुनर्निर्माण गरेका हुन् ।
१९९० सालपछि नेपालगन्ज बजारको आवश्यकता अनुसार, विभिन्न जाति समूहका मानिसहरुको आगमन र स्थायी बसोबास बढ्न थाल्यो । बाँके जिल्ला थारुहरुको बस्ती थियो । चौधरी र जिमिदारहरुमा एक दुई जना थारु बाहेक बाँकेका गाउँहरुमा कुर्मीहरु नै थिए । अधिकांस थारु र अवधि मान्ने समुदायहरु लाख र गिलटका गहनाहरु लगाउँथे । हुने खाने ठूला जमिन्दार र चौधरीहरु मात्र सुन चाँदीको प्रयोग गर्दथे । तिनीहरुको आवश्यकता पूर्ति गर्न केही लखेर परिवारहरु पाटन प्रिटिङ प्रेसबाट उत्तर तर्फ एकलैनीको मोडसम्ममा फाटफुट बसोबास गर्न थाले र त्यस टोलको नाम लखेरन टोल भयो ।
अहिलेको दुर्गा मन्दिरको सामुदेखि एकलैनी कौवाखानी टोल, हालको नाम देवीगन्जसम्म दुई चार घर कुमालहरु बसोबास गरेर आँवा लगाउने र माटोका भाँडा बनाउने काम गर्न थाले र त्यो कुम्हारन टोल (कुमाल टोल) कहिन थाल्यो ।
त्यस समय संयुक्त परिवारको प्रचलन थियो । प्रत्येक घरमा पितल, काँस मिसिएको ढलोटको कसौडी, काँसको थाल र पितलको लोटा र गिलास, ठूलाठूला बाटा र परातहरुको प्रचलन थियो । यी भाँडाहरु टुटेर, फुटेर वा प्वाल पारेर काम नलाग्ने भएपछि तिनीहरुलाई गलाई पुनः नयाँ भाँडा बनाउने सीप भएका कसेराहरु, त्रिभुवन चौकको पश्चिमपट्टिको नीमको बोटदेखि उत्तरतर्फको खाली ठाउँमा मुस्लिम कसगर र हिन्दु ठठेरहरु बसोबास गर्ने र काँस र पितलको भाँडा बनाउन थालेपछि त्यहाँ बसेको आठ दश घरहरुलाई ठठेरहरु बसोबास गरेको तिर ठठेरुटोल र मुस्लिम कसेराहरु बसोबास गरेको तिर कसगर टोल बस्यो । यसरी नेपालगन्जमा भित्रि खाली ठाउँमा जातीय टोलहरुको निर्माण हुँदै गयो । १९९० सालसम्म नेपालगन्जमा मुस्लिम आवादी पनि बढिसकेको थियो ।
अधिकांस मुस्लिम परिवारहरु एकलाइनीबाट गगनगन्ज जाने बाटोमा बस्ती बसाई बसाबास गर्न थाले । सुरुमा त्यहाँका मुस्लिमहरु प्रति असहिष्णु भएका हिन्दुहरुले कौवा खानेहरुको बस्ती भनेर त्यसको नामाकरण कौवा खानी टोल गरेका थिए । अल्पसंख्यक मुस्लिमहरु आफुलाई हिन्दुहरुको संरक्षक भन्ने राणाहरुका समयमा विरोध गर्न सकेनन् र त्यो कौवाखानी टोल भनिन थालियो पछि उनीहरुले हिन्दुहरुलाई भाइचारा र सद्भावको पाठ सिकाउँदै त्यस टोलको नाम देवीगन्ज गरिदिए ।
वि.सं. १९९० चैत्र ५ गते जुद्ध समशेरले, रुद्र समशेर, महावीर समशेर आदी सी क्लासका राणाहरुलाई काठमाडौं उपत्यकाबाट बाहिर धपाएपछि जनरल रुद्र समशेरलाई पाल्पा धपाए । रुद्र समशेर पाल्पा आएपछि उनलाई आफ्नो छोराहरुको चिन्ता भयो र उनले नेपालको पुरानो सहर नेपालगन्जलाई आफ्नो नातीका लागि रोजे र उनले फुल्टेक्रा गाउँभन्दा पूर्व तर्फ प्रशस्त जग्गा लिएर आफ्नो दरबार बनाए । त्यो दरबार पहेंलो रंगले रंगाइएकाले पिलीकोठीको नामले प्रसिद्ध भयो । त्यसमा मेघराज समशेर, राज समशेर आदी उनका छोराहरु बस्दथे । मेघराज समशेर पनि जनरल भैसकेका थिए ।
मेघराज समशेरले आफ्ना जुवाईलाई पनि अभिप्रेरित फुल्टेक्रा भन्दा पश्चिम तिर दरबार बनाउन लगाए । उनका जुवाई जाजरकोटका प्रतिष्ठित शाह परिवारका फत्तेजंग शाहले पनि दरबार बनाएर बसे । जो अहिले फत्तबाल आँखा अस्पतालको नामले प्रसिद्ध छ । पिलिकोठी मेघराज समशेरको निजी नाममा दर्ता भएको र उनी बडाहाकिम पनि भएको हुनाले राज समशेर पिलीकोठीको ठिक पश्चिम पट्टि अर्को दरबार बनाए । जसमा उनी र गोपाल समशेर आदी भाईहरु बस्दथे । दुई वटा कोठीहरुको बीचमा भएको हुनाले यस दरबारको नाम बीचकोठी हुन पुग्यो ।
सल्यानीबागबाट निर्जन खाली राप्तीरोड वरिपरि खेतहरु थिए । त्यसपछि कप्तान साहेबको कोठी अनि फेरि खेतखेत र फुल्टेक्रा गाउँ राप्तीपारी रोडको दुवैपट्टि थियो । यो गाउँ ठूलै थियो । फुल्टेक्रा गाउँ छिचोले पछि ‘राज भवन’ (बीच कोठी) र मेघालय (पीलीकोठी) थियो । १९९१ सालका आसपाससम्म बिस्तारित नेपालगन्जको आकारप्रकार यस्तो थियो । बीचकोठी (राजभवन) बाट दुई वटा बाटो राप्ती जान्थे । एउटा पुरैनी, शाहपूर्वा हुँदै बाटो राप्ती तर्फ जान्थे । एउटा पुरैनी, शाहपूर्वा हुँदै कम्दी वालापुर भएर राप्ती पुग्थ्यो । अर्को पुरैना बेतहनी हुँदै राप्ती पुग्थ्यो ।
वि.सं. १९९० सालमा मंसिर महिनामा जुद्ध समशेर सर फेडरिक ओटनरका साथ शिकारका क्रममा बाँकेमा टुर मुकाम रहेका बेलामा मुस्लिमहरुले जुद्ध समशेर सँग आफ्नो कुल परम्परा अनुसार अन्त्येष्ठी कर्म गर्ने थलो ‘साहवा’को सारै अभाव भएकाले व्यवस्था गरीपाउँ भनेर निवेदन टक्रयाए पछि हाल माचाकुसी (फासि पाएका अपराधीहरु काट्ने ठाउँ) भएको जेल पछाडि र हाल साहवा भएको ठाउँ मध्ये एउटा ठाउँ दिने विचार गरेछन् ।
जेल पछाडि शक्तिपिठ बागेश्वरी माताको छायाँ पर्ने ठाउँ भएकाले हाल साहवा भएको ठाउँ नै उनीहरुलाई मसान स्थल बनाउन दिने निर्णय गरेछन् । त्यस ठाउँमा भएको भाचाकुसी स्थल, हाल नर्सिङ होम भएको ठाउँ भन्दा पश्चिम तिर पेडवा भन्ने ठाउँमा सारिएको रहेछ ।
त्यतिबेला राणाहरुले नेपालगन्जमा दुई वटा भाचाकुसी स्थल राखेका थिए । हिन्दुहरुलाई बागेश्वरी पश्चिम पट्टि बालदा तलाउ निर फाँसीको सजाए पाएकाहरुलाई काटिने गरिन्थ्यो भने मुस्लिमहरुलाई हाल साहवा भएको ठाउँ निर काटिन्थ्यो । १९९१ साल पछि साहवामा भएको भाचाकुसी तीन पेडवामा सारियो ।
१९९५ सालमा भोग्य समशेर बडाहाकिम भएर नेपालगन्ज आएपछि उनले आफ्नो साथमा लिई आएका पं. चुडामणि रेग्मीलाई शिक्षक नियुक्त गरी तुलसीपुर स्टेट अन्तरगत रहेको बेलामा बाँकी किल्लामा काम गर्ने कर्मचारीका छोराछोरी पढाउन बनाएको ४ कोठो पाठशाला भएको बागेश्वरी मन्दिर नजिकैको भवनमा भाषा पाठशाला, पहिले सरकारी मान्यता प्राप्त विद्यालय खोलियो । यसभन्दा पूर्व मंगलप्रसाद साहूँले १९८१ सालमा आफ्ना निवासमै निजी तवरमा मंगल स्कुल खोल्नु भएको थियो भने १९९१ सालमा औतारदेयी चौधराइन (कसौधन)ले आफ्ना पतिका नाममा नारायण स्कुका लागि ५ कोठाको नारायण विद्यालय भवन निर्माण गरी पठनपाठन प्रारम्भ गराएकी थिइन् । तर, हेडमास्टर नियुक्ति सम्बन्धी सरकारसँग विवाद पर्न गएकाले सो सार्वजनिक विद्यालय बन्द गरिएको थियो । मंगलप्रसाद साहूले आफ्नै घरमा पठनपाठन गराउने र विद्यालयलाई सार्वजनिक विद्यालय घोषणा नगरेकाले बन्द गरिएन ।
नेपालगन्जमा त्यतिबेला सवारी साधन भनेको हात्ती र घोडा मात्रै थिए । गाउँघर तिर भने वयलगाडा र लढु (मान्छे बोक्ने सानो बयल गाडा) मात्र थियो । कि म्याना (डोली) प्रयोग हुन्थ्यो । लोग्ने मान्छेहरु घोडा, टाँगामा हिड्थे भने महिलाहरु म्यानामा कहारहरुले बोकेर हिड्थ्ये । कहारहरु छालाको भिस्तीमा पानी बोकेर राणाहरुको दरबार र ठूलो साहु महाजनहरु कहाँ पानी छिडकाव गरेर धुलो साम्य पार्ने काम गर्दथे । तिनीहरु पनि जातिगत टोल बनाएर एकै ठाउँमा बस्थे । घाँस काट्ने र त्यही घाँस बेच्ने गरेको घसियारहरु तत्कालीन सरायको बाहिर उत्तरपट्टि घसियारन टोल बनाएर बसे । डोले र पानीका काम गर्नेहरु नारायण विद्यालयको पछाडि पट्टि कहार टोल बसाएर बसे । डसना, सिरक बनाउने, रुवा फटकारने आदी काम गर्ने मुस्लिम जो लाहाहरु सरायको पछाडिपट्टि जोलाहनपुर टोल बनाएर बसे ।
तराईमा त्यति बेला राँगा, सुगुर, बंगुर सार्वजनिक रुपमा पसल राखेर बेच्ने चलन थिएन । मात्र खसीबोकाको प्रचलन थियो । केही मुस्लिमहरु दुईचार घरमात्र खसिबोका काट्ने बेच्ने काम गर्दथे । तिनीहरुको जात, थर था छैन शायद कुरैशीहरु हुन् कि ? तिनीहरुलाई स्थानीय भाषामा चिकुवा भनिन्थ्यो । बगरे शब्द त सभ्रान्त राणाहरु र काठमाडौंबाट आएका हाकिमहरुलाई मात्र थाहा थियो । उनीहरुलाई चिकुवा भनिने हुँदा मंगल माष्टर साहबको घरदेखि चौक पूर्वलाइनमा जोडिने गरी बसेको भुभागलाई चिकुवन टोल (बगरे टोल) भनिन्थ्यो ।
बाँकी गाउँको दक्षिणतिर ठूलो बगैचा भएको मैदान थियो । त्यस ठाउँलाई बाँकेबगिया भनिन्थ्यो । बाँके बगियामा दशैंको दश दिन दशहरा मेला र रामलिला लाग्थ्यो । राम लिलाको प्रारम्भ वि.सं. १९२५ देखि प्रारम्भ भएको हो । बलदेव हलवाईको प्रेरणा र निर्देशनमा नेपालगन्जकै नागरिकहरुले रामलीला मण्डली बनाई खेल्थे । पहिला पहिला यो सराय भित्र देखाइथ्इो र रावण बध बाँके बगिया दशहरा मेलामा गरिन्थ्यो ।
सम्वत् २००१ सालमा जुद्ध समशेरका नाममा जुद्ध मिडिल स्कुल खोलियो र पी.पीर अस्पतालको छेउमा स्कुल भवन बनाइयो । ९० सालमा भुकम्पले भत्केको चोकको भन्सारलाई पानी ट्यांकी नजिक सारिएको र निकासी पैठारीको अन्तिम नाका भएकाले त्यस टोललाई नाका टोल भनिन्थ्यो । भक्तिएको भन्सार भएको ठाउँमा जुद्ध समशेरको राजसी कल्की भएको अर्धकदको शालिक बनाइयो ।
२००१ सालसम्ममा बिस्तारित नेपालगन्ज बजारको पुनः विस्तार भने २०३० सालपछि दु्रत गतिले बढेको हो । २००१ सालसम्म नेपालगन्ज पूर्वमा मेघालय (पीलीकोठी)देखि बागेश्वरी मन्दिर हुँदै धम्बोझी सम्म । उत्तरमा महाकाली मिलदेखि दक्षिण त्रिवेणीमोड सम्म बिस्तारित भैसकेको थियो । आजको उपमहानगरपालिकाका कतिपय बस्तीहरु बसेकै थिएनन् । वि.सं. १९१७ देखि बस्न थालेको नेपालगन्ज २००१ सालमा आएर जुन रुपमा तयार भयो । मेरो सम्झनाले सम्झेसम्म त्यही रुपमा नै २०३० सालसम्म कायम थियो । हो बीचमा खाली भएका जग्गाहरुमा घरहरु बन्दै गए । जनसंख्या बढ्दै गयो । स–साना टोलहरु बिस्तारित हुँदै गए । नेपालगन्जको पहिलो चरणको विकास २००१ सालमा पूरा भएको हो । त्यस बखतको नेपालगन्ज बजारको तस्वीर टोनी हेगेनको ‘नेपाल’ पुस्तकमा छापिएको छ ।