प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले तीनै तहका सरकार बीच आपसी तालमेल
र समन्वयमा जोड दिंदै स्थानीय सरकारलाई एकिकृत बस्ती, विकास, सेवा केन्द्र
योजना बनाउन सुझाव दिएका छन्
दैनिक नेपालगन्ज
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहका पदाधिकारीहरुले दीर्घकालीन सोंच राखेर योजना बनाउन सुझाव दिएका छन् । सोमबार नेपालगन्ज स्थानीय तहका प्रमुख÷उपप्रमुख, वडाध्यक्ष लगायत जनप्रतिनिधिलाई प्रशिक्षित गर्दै मुख्यमन्त्री पोखरेलले प्रत्येक पालिकालाई स्थानीय सरकारको केन्द्रका रुपमा मानेर योजना बनाउन सुझाव दिएका हुन् ।
विकासका लागि दीर्घकालीन भिजन तयार गर्न आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले एकिकृत बस्ती विकासको सोंचको आवश्यकता औंल्याए । ‘गाउँगाउँमा सिंह दरबारको अर्थ संविधानको पूर्ण कार्यान्वयनका क्रममा अनुभूत गराउन सक्नुपर्छ’, नेकपा एमाले बाँकेले आयोजना गरेको प्रशिक्षणमा मुख्यमन्त्री पोखरेलले भने, ‘त्यसका लागि नगरमा कम्तिमा एक विगाहसम्म र गाउँपालिकामा वडा स्तरसम्मै पर्याप्त जमिन जोहो गर्नुस् ।’ मुख्य मन्त्री पोखरेलले स्थानीय सरकारको केन्द्रमा वस्तु सेवा प्रवाहलाई जोड्दै सेवा केन्द्रका रुपमा पूर्वाधारहरु निर्माण गर्दै अगाडि बढ्नु पर्ने बताए ।
जिल्ला स्थित खारेजीमा परेका सबै कार्यालयहरुको सेवा स्थानीय तहका कार्यालयहरुबाट प्रवाह हुने भएकाले त्यसका लागि पूर्वाधार तयार गर्न मुख्यमन्त्री पोखरेलले ध्यानाकर्षण गराए । ‘कर्मचारी समायोजन भएर छिट्टै आउँदैछन्, त्यतिबेला तपाईले अहिले गरेको व्यवस्थापनमा कति सम्भव छ ?’, मुख्यमन्त्री पोखरेलले भने, ‘अलि दुरगामी सोंचेर योजना बनाउनुस् ।’
नेपालले संघीयताको प्रयोग मौलिक प्रकारको शासकीय व्यवस्थाको अभ्यासमा गरिरहेकाले यसको सफलता सामूहिक र साझा प्रयासले मात्र सम्भव हुने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । ‘तर, हामी यतिबेला पुरानै विरासत र लिगेसीका आधारमा शासन व्यवस्था चलाइरहेकाले त्यो परिवर्तनको अनुभूति गराउन सकिरहेका छैनौं’, मुख्यमन्त्री पोखरेलले भने, ‘संविधान दिएको असाधारण जिम्मेवारी निर्वाह गर्ने दायित्व तपाईहरु माझ भएकाले चुनावका समयमा जनतासँग गरेको प्रतिबद्धता र त्यतिबेलाको उत्साह जीवत राखेर काम गर्नुपर्नेछ ।’ पोखरेलले पाँच बर्षभित्रै ती जिम्मेवारीहरु निर्वाह गरिछाड्नु पर्ने भएकाले दीर्घकालीन योजना बनाएर अगाडि बढ्न पटकपटक जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराए ।
त्यसअघि सोमबार नै नेपालगन्जमा अर्को एउटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय राज्य व्यवस्था सफल बनाउन राजनीति तालमेल आवश्यक भएको बताएका छन् । नेपालगन्ज रंगशालामा निर्माण हुन लागेको खेलाडी सुटिङ रेन्जको शिलन्यास गर्दै उनले भने, ‘खेल प्रतियोगिमा सफलता पाउन खेलाडीबीचको तालमेल जसरी अपरिहार्य मानिन्छ, मुलुकको राजनीतिक व्यवस्थालाई सफल बनाउन त्यसैखाले आपसी तालमेल चाहिन्छ ।’
मुख्यमन्त्री पोखरेलले संघीय, प्रदेश र स्थानीय तहबीचको आपसी समन्वयबाट मात्र जनताको विकास तथा मुलुकको समृद्धिको मार्ग प्रशस्त हुनेमा जोड दिए । ‘राजनीतिमा प्रतिस्पर्धा हुनुपर्छ, तर त्यो प्रतिस्पर्धा लोकहित र देशहितका लागि हुनुपर्छ, प्रतिस्पर्धाको आधार हामीले राजनीतिको स्थायित्व, सुशासन र विकासलाई बनाउनुपर्छ’, उनको भनाइ थियो ।