२२ लाख ७८ हजार लागतमा रानीतलाउन पुनर्निर्माण गर्न लागिएको हो
दैनिक नेपालगन्ज
बर्षौदेखि प्रयोगविहीन जीर्ण अवस्थामा रहेको नेपालगन्ज–८ स्थित राती तलाउ पुनः सञ्चालनमा आउने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले २२ लाख ७८ हजार लागतमा रानी तलाउ पुनर्निर्माण गरी सञ्चालनमा ल्याउने भएको हो । त्यसका लागि उपमहानगरपालिकाले पन्त कन्सट्रक्सन सँग सम्झौता गरी निर्माण कार्य अघि बढेको छ ।
आगामी असार १५ सम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएको राती तलाउ पुनर्निर्माणको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल समशेर राणाले मंगलवार शुभारम्भ गरेका छन् । ‘रानी तलाउ बोटीङ विहार’का रुपमा आनन्द लिइने रमणीय स्थानका रुपमा परिचित रानी तलाउ डेढ दशकदेखि सरोकारवालाका वेवास्ताका कारण जीर्ण भएको थियो ।
तलाउको माटो सम्याउने, देवाल, क्यान्टीन निर्माण÷मर्मत गरिने, दक्षिण तर्फ ३ वटा कटेज बनाइनुका साथै डिप वोरिङमार्फत नियमित पानीको व्यवस्था गरेर डुंगामार्फत बोटिङ व्यवस्था गरिने तयारी गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।
खानेपानी संस्थानको प्राविधिक सहयोगमा डाडीएको डिप वोरिङमार्फत नियमित पानीको व्यवस्था गरिने, पूर्व र पश्चिमतर्फ रमणीय पार्क बनाई बालबालिकाका लागि चिप्लेटी, ढिकीच्याउँ आदिको व्यवस्था गरिने उपमहानगरपालिकाका प्राविधिक तथा योजना शाखाका प्रमुख एवं इन्जिनियर सुरज गुप्ताले जानकारी दिएका छन् ।
निर्माणको शुभारम्भ गर्दै नगर प्रमुख डा. राणाले ठेकेदार कम्पनीलाई तदारुकताका साथ काम अघि बढाउन निर्देशन दिएका छन् । रानी तलाउ पुनःनिर्माणसँगै रानी तलाउको रौनकता फेरिने र आयश्रोतको भरपर्दो माध्यम बन्ने उपमहानगरपालिकाले जनाएको छ ।