सम्मेलनको सार्थकता

प्रत्येक ३/३ बर्षमा हुने नेपाल बार एशोसिएसनको राष्ट्रिय सम्मेलन आगामी चैत्र ९ देखि ११ गते सम्म नेपालगन्जमा हँुदैछ । नेपाल बार एशोसिएसनको ६१ बर्षको इतिहासमा नारायणी नदि पारी पश्चिम नेपालमै पहिलो पटक ऐतिहासिक नगरि नेपालगन्जमा हुन लागेको हो । यस हिसावले हेर्दा नेपालगन्जका मात्रै नभएर यस क्षेत्रका कानून व्यवसायीहरु सम्मेलन सफल पार्न जोड तोडले लागि परेका छन् । बारको सम्मेलन कानून व्यवसायीमा मात्र सीमित नभई कानून, न्यायका साथै अन्य क्षेत्र, वर्गका र आम जनसमुदायसंग पनि अप्रत्यक्ष सरोकार राख्ने भएकाले सबैको ध्यान विस्तारै बार सम्मेलन तिर जाँदैछ । कानून र न्याय भन्ने यस्तो चिज हो जसको राज्यको हरेक अंग र समाजसंग प्रत्यक्ष, अप्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । देशमा कानूनी शासन भए मात्रै समृद्धि र विकास हुन सक्दछ । दण्डहिनता अन्त्यमा सहज हुन्छ र सुशासन र मानव अधिकारको संरक्षणमा मद्दत पुग्न सक्दछ ।

 
२०१३ साल पौष ७ गते स्थापना भएको नेपाल बार एशोसिएसन आफ्नो स्थापना काल देखि नै कानूनको शासन, मानव अधिकारको संरक्षण, स्वतन्त्र न्यायापालिका र व्यवसायिक प्रतिवद्धताका लागि कार्य गर्दै आइरहेको छ । नेपाल बार एशोसिएसन कानूनको शासन, मानव अधिकारको संरक्षण, स्वतन्त्र न्यायापालिका माथि जुनसुकै पक्षबाट हुने आक्रमणमा आफुलाई खरो रुपमा उत्रार्दै आएको बताउदै आएता पछि पछिल्लो समय यसको कार्य र भुमिकालाई लिएर विभिन्न टिका टिप्पणीहरु हुन थालेका छन् । बारको भूमिका प्रभावकारी भएन, यसले आफ्नो ब्यवशायिकता प्रदर्शन गर्न सकेन भनेर आलोचना पनि हुने गरेका छन् । १७ हजार कानून ब्यवशायीहरुको विशाल छाता संगठन नेपाल बार एशोसिएसनमा बिषयगत विशिष्टता हासिल गरेका कानून ब्यवशायीहरुको उल्लेख्य सहभागिता भएता पनि उनीहरुको क्षमताको राज्यले भरपुर उपभोग गर्न नसकेको कुराहरु पनि उठिरहेका छन् ।

 
संवैधानिक सर्वोच्चताको रक्षा र स्वतन्त्र न्यायपालिकाको रक्षाको विषयलाई नेपाल बार एशोसिएसनले सदैव महत्व दिने विषय हुन । लोकतन्त्रमा कानून भन्दा माथी कोही पनि हुदैन सबैले कानून अनुसार चल्नु पर्ने हुन्छ । तर नेपालमा एउटै संविधानको धारा र कानूनका दफाको आफु अनुकुल ब्याख्या गर्ने नराम्रो परिपाटी पनि देखिने गरेको छ । यस्तो अवस्थामा नेपाल बार एकदमै ब्यवसायी भएर संवैधानिक सर्वाेच्चताको रक्षा र स्वतन्त्र न्यायपालिकाको पक्षमा आफुलाई खरो रुपमा उतार्नु चुक्नु हँुदैन । आफ्नो स्थापना काल देखि नै विभिन्न आरोह अवरोह पार गर्दै १४ औ सम्मलेलन सम्म आइपुग्दा नेपाल बार एशोसिएसनलाई कस्तो बनाउने भन्ने विषयमा सम्मेलनमा गम्भीर छलफल र बहस चलाई बारलाई सहि दिशा निर्देश दिनका लागि बारमा आवद्ध सबै कानून ब्यवसायीहरु लाग्नु पर्दछ ।

 
नेपाल बार एशोसिएनलाई आत्मनिर्भर बनाउने, ब्यवसायिक दक्षताका हिसावले अन्तराष्ट्रिय स्तरका कानून ब्यवसायीहरु तयार गर्ने बिषयहरु सम्मेलनमा बहस केन्द्रित हुनु पर्दछ । संविधानका आधारभुत सिद्धान्त, मौलिक हकको कार्यान्वयन, संघियताको कार्यान्वयन, समावेशी र समानुपातिक सिद्धान्तहरु, कानूनको शासनको पालनाका लागि बार एशोशिएसनले आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउनु पर्दछ । वडा कार्यालय देखि सिंहदरवारसम्म विधित कार्यान्वयन गर्ने सवालमा ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई नेपाल बार एशोसिएसनले विगतका दिनहरुमा जस्तै भोलिका दिनहरुमा पनि आपसी समन्वय र सहकार्यको वातावरण बनाउनु पर्दछ । बारको १४ औ सम्मलेनमा अव नेपालको स्वतन्त्र, सक्षम र जवाफदेहि न्यायपालिका कसरी बनाउने भन्ने बिषयलाई पनि सम्मेलनमा महत्वपूर्ण बहसको बिषय बनाइनु पर्दछ ।

 
नेपाल बारको सम्मेलनमा वरिष्ठ अधिवक्ताको संयोजनमा कानून र न्यायका विभिन्न १२ वटा बिषयमा प्यानलगत छलफल हुने कार्यक्रम रहेको छ । संविधान र यसका कार्यान्वयन पक्ष, मानव अधिकार र शान्ति प्रक्रिया, संक्रमणकालिन न्याय र दण्डहिनता, न्यायपालिका, कानून ब्यवसाय र कानूनी सहायता, सुशासन र भ्रष्टाचार, आर्थिक विकास र वाणिज्य कानून, महिला बालबालिका तथा सिमान्तकृत वर्ग समुदाय सम्बन्धि कानून, देवानी संहिता र कार्यविधि, फौजदारी संहिता, दण्डसंहिता र कार्यबिधि, वातावरण र प्राकृतिक श्रोत, स्थानीय तहमा न्यायिक समिति, मेलमिलाप र मध्यस्तकर्ता, साइबर कानून, प्रावोनो (स्वेच्छिक निशुल्क कानूनी सेवा), कम्पनी तथा कर सम्बन्धि कानूनका बिषयमा ब्यापक छलफल गरि ठोस निष्कर्ष निकालेर कार्यान्वयन तहमा लैजान वकालतको रणनीति नै बनाउनु पर्दछ ।

नेपाल बारको १४ औ राष्ट्रिय सम्मेलनमा कानून ब्यवसायलाई आत्मनिर्भर, ब्यवसायिक, दक्ष र मर्यादित एवं विश्वसनीय बनाउने, स्वतन्त्र न्यायापालिका भित्र र बाहिरका संवैधानिक संस्थाहरुले गर्ने आक्रमणबाट न्यायपालिकालाई कसरी जोगाउने, संघियता, गणतन्त्र कार्यान्वयनका निम्ति जनप्रतिनिधिमूलक संस्थाहरुलाई कानूनी अनुशिक्षण गर्ने, कानूनको मस्यौदा गर्ने, वर्तमान अवस्थामा के कस्ता कानून बनाउँदा राष्ट्रलाई सहि दिशामा अघि बढाउन सकिन्छ भन्ने बिषयमा प्रभावकारी छलफल चलाइनु पर्दछ । कार्यपालिका र ब्यवस्थापिकासंग उल्लेखित बिषयहरुमा कसरी मिलेर कार्य गर्न सकिन्छ भन्ने बिषयलाई पनि सम्मेलनमा छलफलको बिषय बनाइनु पर्दछ ।

 
बारको सम्मेलनमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उद्घाटनसत्रमा कामु प्रधानन्यायाधीश दिपकराज जोशी, कानून मन्त्री शेर बहादुर तामाङ्ग, महान्यायाधीवक्ता अग्नी प्रसाद खरेल लगायत विदेशी बार एशोसिएसनका प्रीतनिधिहरु, विदेशी राजदुतावास, लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय विशिष्ट पाहुनाहरुको उपस्थिति रहने भएकाले कार्यक्रमलाई मर्यादित र शालिन बनाउनका लागि सबैले सकारात्मक सहयोग रहनुपर्दछ ।
बारको १४ औ राष्ट्रिय सम्मेलनलाई भब्य रुपमा सम्पन्न गर्नका लागि नेपाल बारका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटाको संयोजकत्वमा ३०२ जना कानून ब्यवसायीहरु रहेको सम्मेलन मुल ब्यवस्थापन समिति गठन गरि सम्मेलनको तयारीको कार्यलाई तिव्रताका साथ अगाडि बढाइएको छ । सम्मेलनलाई भब्य र सभ्य रुपमा सफल पार्नका लागि विभिन्न उपसमितिहरु गठन गरि तयारी गरिएको छ ।

 

जस अनुसार अधिवक्ता प्रहलाद बहादुर कार्कीको संयोजकत्वमा भोजन तथा खाद्य व्यवस्थापन, वरिष्ठ अधिवक्ता भोला सिंह हमालको संयोजकत्वमा आर्थिक संकलन, अधिवक्ता वसन्त गौतमको संयोजकत्वमा प्रचार प्रसार, अधिवक्ता लोक बहादुर शाहको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन, अधिवक्ता सुनिल कुमार श्रेष्ठको संयोजकत्वमा अतिथि स्वागत तथा सत्कार, अधिवक्ता कौशल कुमार बर्माको संयोजकत्वमा स्वास्थ्य, अधिवक्ता धु्रव बस्यालको संयोजकत्वमा यातायात व्यवस्थापन, अधिवक्ता जनक बहादुर शाहीको संयोजकत्वमा रजिष्ट्रेशन नाम दर्ता, अधिवक्ता बासुदेव ज्ञवालीको संयोजकत्वमा सास्कृतिक कार्यक्रम, अधिवक्ता ईश्वरी प्रसाद ज्ञवालीको संयोजकत्वमा आवास तथा होटल ब्यवस्थापन समिति, कृष्ण प्रसाद जैसीको संयोजकत्वमा सचिवालय समिति गठन गरि सम्मेलन तयारीको कार्यलाई तिब्रता दिइएको छ ।

 
यसैगरि वरिष्ठ अधिवक्ता गिरिवर प्रसाद अग्रवालको संयोजकत्वमा गठित सल्लाहकार समितिले पनि सम्मेलन तयारीमा सल्लाह सुझाव दिइहरेको छ । आफ्नो गाउँ ठाउँमा सम्पन्न हुन लागेको बारको सम्मेलनलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्ने कार्यमा सबैले सहयोग पु¥याउनु सम्बन्धित सबैको दायित्व र कर्तब्य पनि हो ।

स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायापालिका प्रति प्रतिवद्धता ः कानून ब्यवसायीको पेशागत दक्षता एवं सुनिश्चितता भन्ने मुल नाराका गर्न लागिएको नेपाल बार एशोसिएसनको १४ औं राष्ट्रिय सम्मेलन सार्थक बनाउन बार सम्मेलनमा उसले आफ्नो उद्देश्य अनुसारको कार्य गर्न जरुरी छ । अहिले न्यायालयको बारेमा धेरै टिकाटिप्पणीहरु उठिरहेका छन् । न्यायपालिका, त्यसमा पनि न्यायाधीशका भुमिका, उनीहरुको ब्यक्तिगत र कार्यशैलीका बारेमा पनि धेरै चर्चाहरु सुनिन थालेका छन् । यस्तो सन्दर्भमा नेपाल बार एशोसिएसनले आफ्नो भूमिकालाई अझै प्रभावकारी बनाउन जरुरी छ । बारले कसैको अन्धभक्त वा विरोधका लागि विरोध गर्ने मात्र नभएर आफुलाई ब्यवसायिकताको कसिता खरो उत्रर्दै स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायापालिका लागी सदैव आफ्नो ढृढ आस्था र ब्यवसायिक आचरण देखाउनु पर्दछ । बारले कसै प्रति आग्रह र पूर्वाग्रह राखेर होइन कि कानूनी शासनको मुल्य, मान्यता र शिद्धान्तका आधारमा स्वतन्त्र, निश्पक्ष, सक्षम न्यायापालिका प्रति प्रतिवद्धता जाहेर गरि सोहि अनुसार प्रभावकारी कार्ययोजनाका साथ एकतावद्ध भएर अगाडी बढ्नु पर्दछ ।

बिगतमा नेपाल लामो समयसम्म सशस्त्र द्धन्द्धको चपेटामा प¥यो । देशमा गठतन्त्रको स्थापना भई संक्रमणकालको अन्त्यका लागी देशमा संक्रमणकालिन न्यायका संयन्त्रहरु निमार्ण गरि देशमा दिगो शान्ति स्थापना गर्ने, दण्डहिनताको अन्त्य गर्ने, कानूनी शासनको स्थापना गर्ने र मानव अधिकारको संरक्षण गर्ने लक्ष्य देशले राखेको भएता पनि हालसम्म पनि यि कार्यले पूर्णता पाएको छैन । तीन बर्ष पहिले गठन भएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगले अपेक्षाकृत काम गर्न नसक्दा द्वन्द्व पीडितहरुले न्याय पाउने नपाउने कुरामा द्विविधामा रहेका छन् ।

 

कानून ब्यवसायी भनेको न्याय सम्पादनको आँखा मानिन्छ । बार र यसमा आवद्ध कानून ब्यवसायीहरु जति ब्यवसायिक र दक्ष भए त्यति न्याय सम्पादनको कार्यमा न्यायालयलाई मद्दत पुग्दछ । यसो भएको हुनाले बार सम्मेलनलाई औपचारिकतामा मात्र सीमित नगरि सम्मेलनले उल्लेखित कुरामा ध्यान पु¥याउनै पर्दछ ।

 

अन्तमा नेपाल बार एशोसिएसनको ६१ बर्षको इतिहासमा नारायणी नदि पारी पश्चिम नेपालमै पहिलो पटक ऐतिहासिक सम्मेलन नेपालगन्जमा आयोजना हुनु आफैमा यस क्षेत्रको गौरवको बिषय बनेको छ । राष्ट्रिय सम्मेलनमा सहभागी हुन कानून ब्यवसायी तथा विशिष्ट ब्यक्तित्वहरुको नेपालगन्ज आगमनले कानून र न्यायका विभिन्न विधामा ब्यापक छलफल भै नेपालगन्ज घोषणापत्र जारी हुनुका साथै यस क्षेत्रको साँस्कृतिक, धार्मिक, सामाजिक परिवेशका साथै उद्योग, ब्यापार ब्यवसाय, पर्यटन र आद्योगिक विकासमा समेत सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने भएकाले उद्देश्य अनुरुप सम्मेलनलाई सार्थक बनाउन सम्बन्धित सबैको सकारात्मक भूमिका हुन जरुरी छ । (लेखक गौतम अधिवक्ता हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया