दैनिक नेपालगन्ज
बाँके नरैनापुर गाउँपालिका क्षेत्रमा संचालित एउटा स्वास्थ्य चौकीले एक महिलाको दायाँ हात घाइते रहेको अवस्थामा बायाँ हातको स्वास्थ्य रिपोर्ट दिएको खुलेको छ । बाँके नरैनापुुुर गाउँपालिका वडा नं.४ नरैनापुर बस्ने निसरतजहाँ बेगमको दायाँ हातमा चोट लागेको र स्वास्थ्यकर्मीले जाँच र उपचार गर्दा बायाँ हात प्रयोग गरेको तथ्य बाहिर आएको हो ।
स्थानीय क्षेत्रमा सामान्य विवादमा परि घाइते भएकी बेगमको स्वास्थ्य जाँचका लागि इलाका प्रहरी कार्यालय भगवानपुरले जाँच रिपोर्ट सहित पत्राचार गरि वास्तविकता जानकारी गराउन स्वास्थ्य चौकीलाई अनुरोध गरेको थियो ।
स्वास्थ्य चौकी गंगापुरका वरिष्ठ अहेब भरतराज गोरीथोकीले लेखेको स्वास्थ्य जाँच रिपोर्टमा महिलाको बायाँ हात घाइते भएर सुन्निएको लेखिएको छ । जिल्ला प्रहरी कार्यालयमा कुटपिट सहितको सार्वजनिक अपराध मुद्दा चलाउन खोज्दा दायाँ हात घाइते रहेको र बायाँ हातको रिपोर्ट प्रहरीको हात लागेपछि पुनः अर्को घाउजाँचको फारम गराउनु पर्ने बाध्यता भयो ।
आइतवार जाँच गरिएको रिपोर्टमा बायाँ हात सुन्निएको र थप उपचारका लागि भेरी अंचल अस्पताल रेफर गरिएको भनिएको छ । पीडित महिला निसरतजहाँले दिएको जानकारी अनुसार स्वास्थ्य अहेबले केही नसोधेर आफ्नै हिसाबले रिपोर्ट तयार गरेको बताएकी छन् ।
‘प्रहरीले दिएको पत्रपछि अहेब गोराथोकीले, प्रहरीको पत्र हेर्दै सोही बमोजिम कागजातमा लेखेर फिर्ता गरेको थिए’, दैनिक नेपालगन्ज संग निसरतजहाँले भनिन्, ‘मेरो दायाँ हातमा चोट लागेको छ ।’आफ्नो लापरवाहीलाई लुकाउँदै वरिष्ठ अहेब भरतराज गोराथोेकीले भने, ‘यो कुनै गम्भिर समस्या होइन, रिपोर्ट तयार पार्ने क्रममा भएको सामान्य त्रुटि हो ।’ तर, महिलाले रिपोर्टकै कारण मुद्दा दर्ता हुन नसकेको बताएकी छन् ।
‘गाउँमा कुटपिट र सार्वजनिक अपराधको विषयमा मुद्दा गर्ने तयारी रिपोर्टकै कारण रोकियो’, निसरतजहाँले भनिन्, ‘डाक्टरको यो गम्भीर लापरवाही हो ।’ गाउँघरमा भएको सामान्य विवादमा केहि ब्यक्तिहरुले निसरतजहाँ र उनकी छोरी खुश्बु निसा खाँलाई कुटपिट गरी घाइते बनाएका थिए ।
घरेलु विवादमा बाँके नरैनापुर गाउँपालिका वडा नं.४ बस्ने वकील भन्ने अलि अहमद खाँ, मुनिर खाँ, सकील खाँ, हसीब खाँ र असफाक खाँले सामूहिक रुपमा कूटपीट गरि घाइते बनाएको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
मुद्दा दर्ता प्रक्रिया अघि बढिरहँदा स्वास्थ्यकर्मीको त्रुटिले पुनः स्वास्थ्य जाँच गराउनु पर्ने अवस्था आयो, पीडित निसरतजहाँले भनिन्, जिल्ला प्रहरी कार्यालय बाँकेमा पुनः उजुरी गरेर दोस्रो पटक स्वास्थ्य जाँच गराउने अवस्था दोहोरिएको हो । प्रत्यक्ष रुपमा दायाँ हातमा समस्या रहेको देखेर पनि त्रुटि हुनु गम्भीर विषय रहेको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।