खजुरा विकासको एउटा बाटो, खानेपानी र सरसफाइ

हाम्रो खजुरा, हाम्रो गौरव

नेपालगन्ज सहरमात्र होइन । नेपाली सहरी सभ्यता मध्येको एक हो । २०१६ सालमा नगरपालिका घोषित शहर । २००७,

सन्तोष रेग्मी

२०१७, २०४५\०४६, २०६२\०६३ का राजनीतिक क्रान्ति र परिघटनाका एक केन्द्र । काठमाडौंपछि विराटनगर र पोखराको समकालीन सहर । यसका थुप्रै विशेषण छन्, निकै पुरानो शहर, निकै महत्वपूर्ण सहर, मध्य र सुदूरपश्चिमको मुख्य शहर र अहिले पनि प्रदेश नम्बर ५, ६ र ७ को मुख्य बजार । तर यी सबै विशेषणका कारण गौरवान्वित हुने हामी एउटै कारणले ‘शर्मनाक’ छौं कि नेपालका विभिन्न ४७ जिल्लाले आधारभूत तहको सरसफाइको चरण पार गरी दिगो सरसफाईमा अघि बढ्दा पनि नेपालगन्ज ‘खुला दिसायुक्त सहर’ का रुपमा रहन बाध्य छ ।
नेपालगन्जबारे काठमाडौंमा कसैसंग छलफल गर्नुहोस्, नेपालगन्ज पुगेको वा नपुगेको सबै मानिसको एउटै उत्तर हुन्छ नेपालगन्ज निकै फोहर छ वा छ रे । नेपालगन्जबारेको हाम्रो ‘गौरवपूर्ण’ गफ हावामा परिणत हुन्छ । त्यस्तै, अर्को समस्या खानेपानीको नेपालगन्जमा गर्मी याममा टाइफाइड, हैजा, जन्डिसजस्ता रोगका बिरामी ह्वात्तै बढ्छन् । अस्पतालहरु भन्छन्, ‘यसको कारक फोहर पानी हो ।’ नेपालगन्जमा हामी केटाकेटी हुँदासम्म पनि थुप्रै सार्वजनिक शौचालय थिए । सार्वजनिक धारा पनि उत्तिकै संख्यामा थिए । तर ती सबै सडक विस्तार, जग्गा अतिक्रमण आदिका निसाना भए । आजभोलि थोरैको संख्याका सार्वजनिक शौचालय छन् त्यो पनि अस्तव्यस्त ।
नेपालगन्ज पुरानो शहर हो । यसका थुप्रै वाध्यताहरु पनि छन् । तै पनि नेपालगन्जका मेयर धवल समशेर राणा यसै वर्षभित्र नेपालगन्ज उपमहानगर क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरी बाँके जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने र एक वर्षभित्र नेपालगन्ज पूर्ण सरसफाइ सहर बन्ने गरी काम अघि बढाइएको बताउँछन् ।
प्रसंग खजुराको हो । हो खजुरा पनि निकै पुरानो बसोबास क्षेत्र हो । पुनर्वासका नामले चर्चित बस्तीहरुले सबैतिरबाट आजको खजुरा बजारलाई ढाकेका छन् । निकै पुराना बस्ती, विमानस्थल, कृषिका महत्वपूर्ण निकायहरु, बाँके–वर्दिया सदरमुकमा जोड्ने बजार आदिले खजुरा पनि नयाँ बजार होइन भने जो कसैलाई स्पष्ट हुन्छ । लामो समय खजुरास्थित कपास विकास समितिको उच्च पदमा रहेका नेपालगन्जका मेयर धवल समशेर राणा खजुरा क्षेत्रलाई ‘ग्रेटर नेपालगन्ज’ को हिस्साका रुपमा वर्णन गर्छन । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले खजुरा र कोहलपुरलाई समेत समेटेर नेपालगन्ज महानगर बनाउने ‘सपना’ साझा गरेपछि ‘ग्रेटर नेपालगन्ज’ को हावालाई केही तताएको पनि छ । तर सरसफाइमा खजुराको अवस्था उति राम्रो छैन ।

 

पहिल्यै व्यस्त भएकाले कोहलपुरमा जति पनि सार्वजनिक जमिन खजुरा क्षेत्रमा छैन । खानेपानी र सरसफाइका लागि सार्वजनिक शौचालय र सार्वजनिक धारा व्यवस्थित गर्ने उपयुक्त सार्वजनिक जमिन पनि सबै ठाउँमा भेटिन गाह्रो छ । बजार दुर्गन्धित छ, मानव वस्ती भन्दा केही पर पेडारी नालाको पुलछेउ दशकअघि बनाइएको सार्वजनिक शौचालय प्रयोगविहीन छ । यो भन्दा ठूलो अस्तव्यस्तताको उदाहरण खोज्न कहिँ जानु पर्दैन । हो, बढेको बस्ती, बजारीकरण र पूराना सोच र योजनाका कारण यस्ता कैयौं बाध्यताहरु देखिएका छन् । भोलिको दिनमा थप देखिन सक्छन् । तर त्यो बाध्यता नेपालगन्जको हद्को छैन र होइन । त्यसैले शहरीकरणमा वर्षौ लागेको ‘ब्रेक’ तोडेर अघि बढ्दै गरेको खजुरा क्षेत्रको दिर्घकालीन विकासको प्रमुख बाटो खानेपानी र सरसफाइ नै हुन । यसमा सम्वद्धहरुले समयमै ध्यान दिनु आवश्यक छ ।
हुन त खजुरा क्षेत्रमा खानेपानी र सरसफाइका लागि पहल नभएको होइन । दुई दशक अघिदेखि नै त्यहाँ खानेपानी र सरसफाइका लागि खजुरा खानेपानी उपभोक्ता तथा सरसफाई समिति क्रियाशील छ । अविछिन्न उत्तराधिकार संस्थाका रुपमा स्थापित त्यस संस्थामा उत्तमराज घिमिरेदेखि किश्मतकुमार कक्षपति, ऋषिराज गौतम, वेधनिधि प्याकूरेल, रमेशकुमार सिंजालीसम्मले नेतृत्व प्रदान गर्दै आउनु भएको छ । समय क्रमसंगै खजुरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले विभिन्न सेवा विस्तार गर्दै आएको छ । साविकको वागेश्वरी, उढरापुर, सोनपुर र खजुरा खुर्द गाविस क्षेत्रलाई सेवा क्षेत्र बनाउँदै आएको समितिले हालसम्म सेवा विस्तारसम्म गरेर ७ सय ५० घरधूरीलाई शुलभ मूल्यमा स्वच्छ खानेपानीको व्यवस्था पु¥याएको जनाएको छ ।

 

समयक्रमसंगै नयाँ बोरिङ्ग, विभिन्न आधुनिक मेसिन, जेनरेटर, सोलार आदिको व्यवस्था पनि रमेश सिंजाली नेतृत्वको वर्तमान कार्यसमितिले गरेको छ । समस्त कार्यसमिति यसमा बधाईका पात्र हुन । तर सरसफाईका कार्यक्रम अपेक्षित हुन सकेका छैनन् । वातावरण संरक्ष्ण , वृक्षारोपणलगायतका क्रियाकलाप शूनयप्रायः छन् । भोलिको माग धान्न सक्ने खानेपानीका योजना पनि बन्न सकेका छैनन् । यस विषयमा जिज्ञासा राख्दा अध्यक्ष रमेशकुमार सिंजाली उपभोक्ता समिति भएकाले आफूहरुले सार्वजनिक शौचालय र दिर्घकालीन योजना कार्यक्रम सञ्चालन गर्न नसक्ने तर त्यस्ता कार्यक्रम र योजना खजुरामा खड्कंदै गएको महसुस आफूहरुले पनि गरेको बताउँछन् । उनी भन्छन, ‘ त्यसखाले कार्यक्रम सञ्चालनमा सरकारी निकायलाई सघाउन म स्वयं र समस्त खजुरा खानेपानी उपभोक्रा तचथा सरसफाइ समिति हरसम्भव तयार छ ।’

 

समयमै ध्यान दिन नसक्ने हो भने अस्पताल, बजार र बस्तीका फोहर भोलिको दिनमा खजुरा क्षेत्रको सबैभन्दा ठूलो चुनौतिका रुपमा उभिने छ । किन भने दिनदिनै खजुरा क्षेत्र विस्तार हुँदैछन् । त्यसका लागि खजुरा क्षेत्रमा दिर्घकालीन खालका खानेपानी र सरसफाइका योजना आवश्यक छ । त्यसले मात्र विकासोन्मुख खजुराको विकासशील युगलाई सम्वोधन गर्न सक्छ ।

प्रतिक्रिया

प्रतिक्रिया