यस पटक समृद्धि के हो खोजीको विषय बनाएं र मेरो आर्टिकललाई समृद्धिसंग जोड्न खोज्दै जाँदा कसैले एक परिवारको घर हो भने, कसैले राजनीतिमा सत्यता र प्रत्येक क्षेत्रमा सत्य र तथ्य अनि अखण्डता हो भने, कसैले मानवीय शान्ति र सुरक्षा, आर्थिक कार्यका धेरै अवसरहरू हुनु कमाउने अनि जोगाउने वातावरण हो भने । सवैलाई जोडदा वास्तवमा समृद्धिले अघि जाने बाटो तय गर्ने अनि नयाँ सिर्जना गर्न सक्ने वातावरण बनाउँने कार्य गर्दाे रहेछ । जसमा जोखिमका पक्षहरु तमाम हुँदा हुँदैपनि सफलताको अवसरहरू प्रशस्त जुटाउँदो रहेछ । गरिबीबाट मुक्ति, मानिसबीच द्वन्द्व, आफ्नो आस्था र विश्वासमा चल्ने, स्वतन्त्रतापूर्वक बोल्ने, आफ्नो मताधिकार प्रयोग गर्ने कुरापनि समृद्धिले नै रहेछ । अनि अर्काे दृष्टिकोणले समृद्धि आशा पनि रहेछ ।

 
मुलतः यहाँ मैले सदा झैं यसो गर्नु पर्छ, यो योजना बनाउनु पर्छ भन्ने कुरालाई लेख्दिन भनेर नै अगाडि बढे तर जिल्ला तथा प्रादेशिक रुपले टेकिएको हाम्रो भुइँ हेर्दै बनाउनु पर्ने दुर दृष्टि, नीति र आवधिक योजना तर्फ थोरै भएपनि लेख्नैपर्ने अवस्था आएको कुरा पाठक वर्गमा अनुरोध गर्न चाहन्छु । जिल्ला होस, प्रदेश होस वा संघिय संरचनाले तयार गरेको हाम्रो मुलुकमा संस्कृति, संस्कार, औपचारिक अनौपचारिक संस्थाहरू, कर्मचारी तन्त्र, भूगोल, सामिप्यता, इमान्दारिता, संवेदनशिलता, उत्तरदायित्व र पारादर्शिता महत्वपूर्ण अंग हुन ।

 
एक सय भन्दा धेरै जातजाती धेरै धर्मालम्बी रहेको देशमा पहिलो पंक्तिमा भने झैं रातपछि उज्यालो अवश्य छ, त्यसैले सजिलै विकास र समृद्धि पहिल्याउन निकै कठिन कार्य नै हो । तत्काल अगाडि देखिएका समस्यामाथि बजेट खन्याएरै समृद्धि हासिल हुनेवाला छैन । जति जे भनेपनि समग्र समृद्धिको कुरा आर्थिक समृद्धि जोडिएरै आउँछ । आर्थिक समृद्धिको लागि के के योजना छन भनेर केलायौं भने त्यो भेट्न गाह्रो छ । योजना विहिनताका कारण गरिखानेको लागिपनि जटिलता निम्त्याएकोले विदेश पलाएन धमाधम हुँदै गरेको विषय हाम्रो लागि नौलो कुरा होइन ।

 
यो देशका राजनीतिक दल हुन वा समाजलाई परिवर्तन गर्न तम्सेका गैसस हुन उनीहरुले लामो समयदेखि आर्थिक, सामाजिक रूपान्तरणका मिठा र सुन्दर सपना देख्दै र देखाउंदै आएका छन । राणातन्त्र ढल्यो, राजतन्त्र ढल्यो, देश धर्मनिरपेक्ष बन्यो, सामाजिक सामेलीकरणा गर्ने भनेर, सबै जातजातिको राजनीतिक सहभागितामा संविधानलाई समाबेशी र समानुपातिक पनि बनाइयो । विकास प्रक्रियामा जो कहिल्यै सामेल हुन पाएका थिएनन उनैकालागि, माथिबाट तल वग्ने विकासमा विधि ठिक भएन भन्दै तलबाट माथि विकास प्रक्रिया पनि सुरु गर्यौ जसलाई सहभागितात्मक योजना तर्जूमा प्रक्रिया भनेरपनि बुझ्न सकिन्छ । अर्थात विश्वमा आएका विकासका कुनै पनि अवधारणा प्रयोग गर्न पछि नपरेको हाम्रो विगत र वर्तमान छ । तथापी हाम्रो संस्कार, प्रवृति , बानी, बेहोरा, मूल्यांकन पद्दती आदिमा केही परिवर्तन हुन सकेन । मुलतः हामीले आफै उठ्ने प्रयत्न गरेनौं, दातामुखी, माग्ने र ऋण काड्ने प्रवृत्तिले छोडेनौं । त्यसैले विकास र समृद्धिको कुरो आउँदा हाम्रो उत्तरदायित्व, इमान्दारिता र पारदर्शितातिर सोझै चोर औलो ठडिएर उभिन्छ ।

समृद्धिको सवैभन्दा महत्वपूर्ण आधार भनेको अर्थ वा पूँजी नै हो (माथि नै भनि सकिएको छ) । यसको निर्माणको लागि चाहिने महत्वपूर्ण दुइटा साधन प्रकृति र मानवीय संशाधन हुन । हामीकहाँ करीब ३ करोड जनसङ्ख्यामध्ये, आर्थिक रूपमा सक्रिय मानिने १८ देखि ५९ वर्ष उमेर समूहमा मानिसमात्र करीब २ करोडको हाराहारीमा छन् । यो कुनै पनि देशको आर्थिक विकासका लागि सबल पक्ष हो । तर, त्यसमध्ये कम्तीमा १ करोड मानवीय इनर्जी खाडी मुलुकमा रोजगारीका लागि भौतारिएको छ । प्राकृतिक स्रोतको धनि देश भनेपनि यसको उपयुक्त परिचालन तथा व्यवस्थापन अभावको कारणले यथेष्ठ पूंजी वृद्धिमा यसको रहनु पर्ने हिस्सा रहन सकेको छैन ।

 
हामीले राजनीतिक गफ सुन्यौ भने, भाषण सुन्यौ भने, कसले खायो, कति खायो, कहाँ कहाँ भ्रष्टाचार भयो भनेर ठूल्ठूला गफ र हावा तालका राजनीतिक प्रचार गरेको हामीले पाएकै कुरा हो । यस्ता गफमा आर्थिक क्रियाकलापतिर हामीलाई केन्द्रिकृत गराइएको छ भने अर्को्तिर राजनीतिक, आर्थिक र सामाजिक रुपले बिखन्डन गराइएको छ । एक नेपालीले अर्को नेपालीलाई आत्मियता साथ हेर्दैन । साथै राजनीतिक रुपमा, साँस्कृतिक रुपमा र जातिय रुपमा विभाजनमा पारिएको स्थिति छ । हुँदा हुँदा अव मधेशी र पहाडीको रुपमा समेत विखण्डन गरिएको छ । सरकार वन्दा देखि नै कसको सरकार, अल्पमतको कि वहुमतको, सरकार टिक्दैन जस्ता नकरात्मक सन्देश फैलाएर जनतको मनमष्तिकमा वितृष्णा फैलाउन कार्यले समृद्धि आउँछ ? सरकारको दुर दृष्टिकोण, योजना र कार्यक्रमको कस्तो छ र उक्त सरकारको पालमा समृद्धिका संभावना छ कि छैन् भन्ने सोचमा विकास गर्ने कि नगर्ने ? के वुझ्न जरुरी छ भने अव, वैज्ञानिक योजना, विधि, क्षेत्र, शक्ति पुँजी, साधन र स्रोतविना समृद्धि सम्भव छैन ।

 
हाम्रो मुलुक संगै समृद्धिको यात्रा तय गरेका विश्वका थुप्रै देशले विकासको फड्को मारी सके । हामीपनि हाम्रो राष्ट्रको मुहार फेर्ने मार्गचित्र केहीसमय भित्रै कोर्न सक्छौं । अहिलेको सरकारको सपना समृद्धि नै हो र राष्ट्रवाद, राष्ट्रप्रेमको आगाध मायाँ छ भन्ने सरकारको योग्यता, क्षमता कति रहेछ, यही समयमा जनताले मापन गर्ने छन् । विश्वास छ, मुलुक अव समृद्धिको युगमा सानदाररुपमा प्रवेश गरोस । अव लागांै प्रदेशतिर, भर्खरै देश संघीयता कार्यान्वयनमा प्रवेश गरेको छ । संघीयतालाई पहिचानको मुद्दा बनाएर राजनीति गरियो । तथापि सामथ्र्यलाई कोही कसैले उठाएन । प्रदेश आफ्नै सामथ्र्यले चल्नैपर्छ । यसै कुरालाई दृष्टिगत गर्दै प्रदेश नं. ५ पनि आफ्नो सामथ्र्यले चल्न सक्नु पर्छ । यहि प्रदेशको वासिन्दाको हैसियतले अनुहारलाई सिधा आकाशतिर पार्दा आशा पलाएर आएको छ, जनताको समृद्धि पुरा हुँदै जाने विश्वास बढेर पनि आएको छ । हाम्रो प्रदेशले वैदेशिक सहयोग वा मागेर समृद्धि वनाउन लाग्ने छैन । आफ्नो प्रदेशको अथाह सम्पति, प्राकृतिक स्रोत र संभावना प्रयोग गरेर स्वावलम्बी बनी समृद्धि प्राप्त गर्ने छ । सधैं केन्द्रको मुख ताकेर जिम्मेवारी पन्छाउने छैन ।

 
किनकी, पश्चिम नवलपरासीको दाउन्नेदेखि बर्दियासम्मको समथर भूभाग कृषि, पशुपालन र माछापालनको ‘हब’ का रूपमा परिचित छ । उद्योग, कलकारखाना धेरै छन । वर्षांैदेखि यहाँका पहाडी भूभागका बासिन्दा शिक्षा, स्वास्थ्य र रोजगारका लागि तराईमै निर्भर छन । पश्चिम पहाडका लागि दाङ र नेपालगन्ज बसाइँसराइका गन्तव्य हुन् भने साबिक लुम्बिनीको बसाइँसराइ र व्यापारिक केन्द्र बुटवल हो । परम्परादेखि यहाँ मिलिजुली सभ्यता रहेकाले आगामी दिनमा पनि ‘सहकार्य’ मार्फत पूर्वाधार र विकासका काम गर्नुपर्ने साझा धारणाको आवश्यकता खड्किएको छ । अर्काे संभावना यहाँ पश्चिम नवलपरासीको महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र बाँकेमा जमुनहा नाका र वर्दियामा राजापुरसम्मका नाकाहरु छन् । तराईको उर्वर भूमिदेखि विभिन्न खानी रहेको अनुमान गरिएका पर्वत यहीँ छन। शान्तिदूत गौतमबुद्धको जन्मथलो लुम्बिनी समृद्धिको सपना पूरा गर्ने अर्को ठूलो आधार हो । बाँके, बर्दिया निकुञ्ज र पूर्वी रुकुममा रहेको ढोरपाटन सिकार आरक्ष पर्यटकीय आकर्षणका केन्द्र बन्न सक्छन् । पश्चिम नवलपरासी, रुपन्देही, बाँके र बर्दिया औद्योगिक केन्द्रका रूपमा छन् । यहाँ ठूला धार्मिक पीठ, ऐतिहासिक किल्ला र पुरातात्त्विक सम्पदा, नदीनाला र तालहरुपनि छन् । भनेर यसभन्दा पहिलै विभिन्न चरणमा छलफल भईसकेका कुराहरु हुन् ।

 
सुन्दैछु केही दिनभित्र बाँकेका युवा साथीहरुको सक्रियतामा ५ नं. प्रदेशको ऐतिहासिक समृद्धि सम्मेलन हुंदैछ । धन्यवाद ति सहयोगी युवाहरुको हातहरुलाई जसले कसरी समृद्धिको युगमा पुग्ने, समृद्धि प्राप्त गर्न के के अवयवहरुको आवश्यक छ, समृद्धि प्राप्त गर्नबाट रोक्ने या अवरोधक तत्व के के हन्, भनेर पहिचान गर्दै आफ्नो प्रदेशको खाका तयार गर्न सहयोग गर्दै छन । विकास, उन्नति या समृद्धि त्यसै हुँदैन । त्यसका पनि विश्वमा विभिन्न प्रकारका मोडेल, मान्यता, र सूत्र हुन्छन् । समृद्धि निरपेक्ष हुनै सक्दैन । एकदुइटा सुरुङमार्ग, फास्टट्र्याक, रेल, उद्योग कलकारखाना व्यापार, उत्पादन, विद्युग गृह, अग्ला भवन निर्माण गर्दै या अहिले राजनीतिक दलहरूले आश्वासन दिने स्मार्ट सिटीको सपनाले मात्रै पुग्दैन । जनताको दैनिक जीवनस्तर, जनजीविका रहनसहन, शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, वास, सुरक्षा, न्याय, समानता, सम्मानजस्ता सवालमा बद्लाव आउनैपर्छ । जनताले आजको जस्तो सोच राखेर दरिद्रतामा जीवन गुजारा गर्दै कष्टमा सपना देख्दैमा जादुसरि समृद्धि प्राप्त हुँदैन । त्यसो भए के चाहिन्छ त समृद्धिको निम्ति नै भनेर सम्मेलनको आयोजना हुँदैछ । उसो भए माझिनको लागि अव केहिदिन मात्र किन नकुर्ने त ?

प्रतिक्रिया

प्रतिक्रिया