बागेश्वरीको जिन्सी परिमाण ‘मिसम्याच’

बाकसमा नयाँ बोरी, कोकाकोलाको कार्टून र रिचार्ज कार्ड भेटिएपछि बढ्यो आशंका, अदालतको आदेश र बाकसको अभिलेखमा ब्यापक अन्तर

विनय दीक्षित
मालपोत कार्यालय बाँके (तत्कालिन माल अड्डा) मा २०२५ सालमा राखिएको बागेश्वरी मन्दिरको जिन्सी बुधवार सार्वजनिक गर्दा अदालतको आदेशमा उल्लेख भएको विवरण र बाकस खुल्दा प्राप्त भएको जिन्सीमा ब्यापक अन्तर रहेको खुलेको छ ।
मालपोत कार्यालय बाँकेमा बागेश्वरीको सम्पत्ती सुरक्षित राखिएको भनी २०२५ अषार १९ को पत्रबाट तत्कालीन श्री ५ को सरकार श्री ३ नं. सर्वे गोश्वाराले श्री ५ नं.डोर टोलीलाई अवगत गराएको थियो ।
सो पत्रमा बागेश्वरी मन्दिरको सम्पूर्ण जमिन ९९ विघा ५ कठ्ठा १४ धुर लेखिएको छ । त्यस्तै २०४४ भाद्र २९ को चालानी नं.४२० को मालपोत कार्यालय बाँकेले जिल्ला पञ्चायत सचिवालय, बाँके नेपालगन्जलाई जानकारी दिनका लागि लेखिएको पत्रमा बागेश्वरी भगवतीको गुठी जग्गा र अन्य घरघडेरी तथा श्री सम्पत्ति बारे दर्ता श्रेस्ता भएको जमिन बारेमा स्पष्ट उल्लेख गरेको थियो ।
बागेश्वरी मन्दिरको संरक्षणका लागि परमादेशको माँग गर्दै अधिवक्ता लोकबहादुर शाह र अधिवक्ता बल बहादुर चन्दले तत्कालीन पुनरावेदन अदालत नेपालगन्ज (हालको उच्च अदालत) मा रिट दायर गरेका थिए । रिटमा बागेश्वरी व्यवस्थापन संचालक समिति नेपालगन्ज, व्यवस्थापन संचालक समितिका अध्यक्ष, बागेश्वरी मन्दिरका मूल महन्थ, जिल्ला प्रशासन कार्यालय, बाँके, प्रमुख जिल्ला अधिकारी, नेपालगन्ज उपमहानगरपालिका र प्रमुख, मालपोत कार्यालय, बाँके र सो कार्यालयका प्रमुखलाई विपक्षी बनाएर रिट दायर भएको थियो ।
तत्कालीन पुनरावेदन अदालत नेपालगन्जले २०७३ साल अषाढ २२ गते आदेश गर्दै उल्लेखि जिन्सी तत्कालीन अवस्थामा पनि बाकस भित्र रहेको र सो जिन्सीलाई सुरक्षित र ब्यवस्थित गर्न विपक्षी कार्यालयहरुलाई आदेश दिएको थियो । करिब डेढ वर्षपछि सम्पत्ती सुरक्षित गर्ने हिसाबले बाकस खुल्यो तर, आदेशमा उल्लेख भएअनुसार नै जिन्सी बाकसमा फेला परेन ।
२०२५ पछि बाकस खोल्ने सरकारी योजना एक पटक मात्र बनेको देखियो । तर, अधिकारीहरु भन्छन्, ‘बाकसमा नयाँ बोरी भित्र नयाँ जिन्सी फेला पर्नु, कोकाकोलाको कार्टून बरामद हुनु र नेपाल टेलिकमको स्क्र्याच भएको रिचार्ज कार्ड देखिनुबाट बाकसमा ब्यापक हेराफेरी भएको अनुमान छ ।’
२०२५ सालमा कोकाकोला थिएन, प्लास्टिकको बोरी थिएन, एनटीसीको रिचार्ज कार्ड पनि थिएन । सुनचाँदी विशेषज्ञले बुधवार नै अधिकारीहरुलाई चाँदी नयाँ भएको बताएका थिए । चाँदी नयाँ हो भने कसले र किन नयाँ राख्ने र चाँदीको सट्टा बाकसबाट अरु कुन धातु गायब भयो भन्ने विवरण यकिन छैनन् । तर, अदालतको आदेश र तत्कालीन विवरणलाई आधार मान्दा पनि ठूलो परिमाणमा जिन्सी गायब रहेको तथ्य बाहिर आएको हो ।
जिन्सी बारे छानविन तयारी
दैनिक नेपालगन्ज
२०२५ साल पछिको विवरणहरुमा आधारित अदालतको आदेश र बाकस खोल्दा प्राप्त भएको जिन्सीमा ब्यापक अन्तर देखा परेपछि बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिले सो बारे जाँच अघि बढाउने तयारी गर्दैछ ।
यसअघि नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर संयोजकत्वमा ५ सदस्यीय टोलीले मन्दिरको अचल सम्पत्ती खोजी कार्य गर्दै आएको छ । ‘जिन्सी अन्तर देखिएपछि जाँच गर्ने विषयमा हाम्रो आन्तरिक छलफल भएको छ’, गुठी ब्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले भने, ‘पुराना विवरण र प्राप्त भएको जिन्सीमा धेरै अन्तर देखिएको छ ।’
तोला र मिली ग्राममा रहेको जिन्सीको वास्तविक परिमाण बारे हिसाब भइरहेको छ । ४९ वर्ष पछि खोलिएको बाकसमा केहि आशंका उत्पन्न हुने खालका प्रमाणहरु फेला परेको सचिव अधिकारीले बताए ।
‘जिन्सी फेर बदल भएको, चोरिएको वा अन्य कुनै क्रियाकलाप भएको बारे समितिको बैठक पछि छानविन गर्न एउटा टोली नै गठन गर्ने तय भएको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै अधिकारीले भने, ‘जिन्सीको प्रष्ट विवरण हामी पनि खोजी गरिरहेका छौं ।’

४९ वर्षपछि खुल्यो बाकस
के थियो, के भेटियो ?
दैनिक नेपालगन्ज
बागेश्वरीको जिन्सी गरगहना राखिएको भनिएको बाकस झण्डै ४९ वर्ष पछि खुल्यो । अपेक्षा र विवरणहरुमा आधारित गहना बाकसमा फेला नपरेपछि अहिले चौतर्फी बाकसको चर्चा सुरु भएको छ ।
२०२९ मंसिर ४ मा भुवनेश्वरले हस्ताक्षर गरेको एकपत्रमा बागेश्वरीका बहुमूल्य गरगहना मालपोत कार्यालय बाँकेका प्रमुखलाई बर बुझारथ गरेको उल्लेख छ । पत्रबाट मन्दिरको जिन्सी सम्पत्ति बारेमा थाहा हुन्छ ।
पत्रअनुसार बाकसमा, सिंहको मूर्ति बनेको डब्बा जस्तो चाँदी तोला ८३ को थान २, खम्बा बनाइएको चाँदी तोला १२० को थान २, भैरब गरुड जस्तो बनेको चाँदी तोला १६५को थान २, करुवा चाँदी तोला ४७ को थान १, बत्ती बाल्ने पानस चाँदी तोला ४८ को थान १, बत्ती बाल्ने आरती चाँदी तोला १३ को थान १, बाघको मूर्ति बनेको चाँदी तोला ३३ को थान २ उल्लेख छ ।
पत्रको विवरणमा खम्बाको टुक्रा चाँदी तोला २८ को थान २, भगवतीको मूर्ति बनेको थान १ पाता माथि भैरब बनेको टुक्रा थान १ समेत चाँदी तोला ९५ को थान ३, साना दुई ठूलो एक समेत छत्र थान ३, झण्डा २, घण्टी २, र अरु टुक्रा ५ समेत जम्मा तोला ४७ को थान बाह्र उल्लेख रहेको छ । सो विवरणमा सुन र तौल कतै उल्लेख रहेको पाइएन ।
तर, बुधवार बाकस खोल्दा तामाको रड लागेको चाँदीको छत्र ११३६ ग्राम, चाँदीको छत्री २४२ ग्राम, चाँदीको देवीको मूर्ति (सिक्री सहित) १२१ ग्राम, चाँदीको घण्टी ३११ ग्राम, चाँदीको पानस ५८१ ग्राम, रातो पोते सहितको सुनको तिलहरी (साथमा चाँदीको पाता) २०५७ साल लेखिएको २३४ ग्राम, चाँदीको करुवा माला र सिक्री सहित ८८८ ग्राम, चाँदीको करुवा ५५९ ग्राम, चाँदीको देवीको मूर्ति २१० ग्राम, चाँदीको छत्तर १६६ ग्राम, पितलको रड सहित चादीको छत्तर २४१ ग्राम प्राप्त भएको अधिवक्ता लोक बहादुर शाहले बताए । उनका अनुसार, तामा र चाँदीको कलस पत्ता समेत ७६४ ग्राम, चाँदीको छत्तर ४८० ग्राम, चाँदीको ढिक्का ६ के.जी.८८ ग्राम, चाँदीको सिंहासन २१८ ग्राम, चाँदीको छत्तर ४७४ ग्राम, चाँदीको छत्तर मुगा पत्थर सहित ७१० ग्राम, चाँदीको छत्तर ४८५ ग्राम, चाँदीको पाउ ९६ ग्राम, चाँदीको मुुकुट १६८ ग्राम, चाँदीको सिंहको मूर्ति ४१० ग्राम, चाँदीको सिंहासनको पाता ७०९ ग्राम, चाँदीको छत्र ३४७ ग्राम, चाँदीको गजुर २०९ ग्राम, चाँदीको छत्तर (तामाको रड सहित) १८७ ग्राम फेला परेको हो ।
बाकसमा सुन र चाँदीको सिंहासनको पत्ता १२२ ग्राम, चाँदीको छत्र (मोती सहित) २५७ ग्राम, चाँदीको दियो ६४ ग्राम, चाँदीको गजुर ७४ ग्राम, चाँदीको गजुर (सुनको टुप्पो कोटेको) ५७ ग्राम, चाँदीको घण्टी र अर्घ २१२ ग्राम, चाँदीको सिंहासन, रड, घण्टी र कमलको फुल १२६ ग्राम, पितलको अर्घ १७० ग्राम, चाँदीको दियो–१, सानो छत्र–४, सानो करुवा–१, घण्टी–२, गजुरको टुप्पा–१, पात–१, डण्डी–११ समेत १७९ ग्राम, चाँदीको पातहरु–१२, चाँदीको सिक्री–२, लामो पात–१ सहित १०० ग्राम फेला पर्यो ।
सरकारी अधिकारीहरुको रोहबरमा खोलिएको बाकसमा चाँदीको कमलको पूmल १३३ ग्राम, चाँदीको मोहरमाला २५०४ ग्राम, चाँदीको पात, सिक्का र पत्थर समेत (तुलसीपात) २३८ ग्राम, चाँदीको सिक्का (लक्ष्मी, गणेश) १८ ग्राम, चाँदीको त्रिभुवनको पैसा १६ ग्राम, पित्तलको ढिक्का (सुन जस्तो देखिने) ९ ग्रा. ५५० मि.ग्रा., सुनको तिलहरी (तामाको रड र लाहा समेत) ७ ग्रा. ७०० मि.ग्रा., सुनको नथिया (पत्थर समेत) पात फलामको रड समेत ११ ग्रा.१०० मि.ग्रा., चाँदीको मोहर सिक्का ५ ग्राम, तामाको सिक्का ५ ग्राम, पित्तलको कडा ३५ ग्राम प्राप्त भएको हो ।
विवरणमा उल्लेख भए अनुसार, अचल सम्पत्तीमा तत्कालीन कर्मोहना मौजा हाल ईन्द्रपुर अन्तरगत बागेश्वरीको नाम जग्गाधनी र संचालक चन्द्रनाथ योगी तथा हरिहरनाथ योगी समेत उल्लेख भइ जग्गा बिगाह क्रमशः ४४ विघा ११ कठ्ठा ७ धुर र ४२ विघा १० कठ्ठा १६ धुर जग्गा नापी दर्ता भएको मोठमा २०२८ कार्तिक १४ को भूमि प्रशासन कार्यालय, बाँकेको निर्णयमा परम्परा अनुसार शर्त पालन गर्ने गरी बिभिन्न ब्यक्तिको नाममा जग्गा कमाउने र जग्गा धनी बागेश्वरी गुठी भन्ने् उल्लेख भई मोठ कायम गरिएको मोठ श्रेस्ताबाट देखियो ।
केही समय पछि नित्य पूजाआजा गर्ने र सन्त महन्तहरु आएमा आवास तथा हण्डी दिने र पूजा आजा कार्य चलाई शेष बचत भएमा महन्तका सन्तान दर सन्तानले खाने गरी ब्यवस्था गरिएको छ । जसअनुसार, कर्मोहनाको विभिन्न ब्यक्तिका नाउँमा ८७ विघा २ कठ्ठा ३ धुर जग्गा मध्ये पूजाआजा गर्दा लाग्ने अक्षता तथा हण्डीको लागि सिरबाट नाप नक्सा भएको महन्त हरिहरनाथ योगीको नाममा दर्ता भएको इन्द्रपुर वडा नं.३क को ९ विघा १९ कठ्ठा ५ धुर र चन्द्रनाथ योगीको नाममा ९ विघा १३ कठ्ठा १२ धुर जग्गा दर्ता रहेको छ ।
२०१३ जेष्ठ १४ मा रजिष्ट्रेसन नं.२३७ बाट शंकर प्रसाद उपाध्यायले बागेश्वरीको नित्य नैमित्य पूजाआजा गरी बाँकी रहेको शेष महन्त नरेन्द्रनाथ तथा प्यारेनाथले खाने गरी दान पत्र गरी दिएको १ विघा १५ कठ्ठा ३ धुर जग्गाको २०२५ सालको भूमि सुधार नापीमा बागेश्वरीको नाममा नापी नभई शंकर प्रसादकै नाममा नापी भएको थियो ।
जसको नापी बिवरण नगर पञ्चायत वडा नं.१०(क) कि.नं.४९६ को ७ कठ्ठा १४ धुर, वडा नं.१०(ख) कि.नं.१७ को १० कठ्ठा १७ धुर र कि.नं.१२२ को ५ कठ्ठा ११ धुर कि.नं.७६ को ११ कठ्ठा १ धुर नाप नक्सा भएकोमा २०३७ असोज ८ मा शंकर प्रसादको श्रीमती ईन्दिरादेबी र साबित्रा देबीका नाममा संयुक्त नामसारी भइ अद्यावधिक भूमिकर बुझाई आएको पनि मोठ श्रेस्तामा उल्लेख छ ।
मन्दिरको आसपासमा थुप्रै घर घडेरीहरु भएको तर मालपोत कार्यालय बाँकेमा रेकर्ड छैन । खजुराखुर्दमा राम प्रसाद दवगरले दान दिएको बागेश्वरी देबीको नाममा दर्ता भएको ३ विघा १६ कठ्ठा २ धुरबाट आउने आयस्ता बागेश्वरी मन्दिर समितिले उठाउने गर्दछ । यद्यपि जग्गा सम्बन्धी अभिलेख वा जग्गा कागजात बाकस भित्र थिएन ।

प्रतिक्रिया

प्रतिक्रिया