दैनिक नेपालगन्ज
एक वर्ष देखि सर्वाधिक चर्चा र चासोको केन्द्रमा रहेको बागेश्वरी मन्दिरको जिन्सी राखिएको बाकस अन्ततः बुधवार सरकारी अधिकारीहरुको रोहबरमा खोलिएको छ । बागेश्वरी मन्दिरमा रहेको मूर्तिको जिन्सी गहना अंचलाधीशकै जमानामा बाकसमा राखिएकोमा सो बाकस भित्र करोड बढीको जिन्सी रहेको अनुमान भइरहेको थियो । मालपोत कार्यालयमा अलपत्र अवस्थामा रहेको बाकस कठिन प्रयासपछि खुल्यो तर अपेक्षानुसार जिन्सी हात लागेन ।
दावी गरिएको र रेकर्डमा रहेको जिन्सीनै बाकसमा फेला नपरेपछि चौतर्फी रुपमा आशंका उत्पन्न भएको छ । चाँदी लामो समय सम्म प्रयोग नगर्दा कालो हुने सुनचाँदी ब्यवसायीको भनाइविच बाकसमा नयाँ बोरीमा नयाँ चाँदी प्याक गरि राखिएको अवस्थामा फेला परेपछि हेरफेर भएको हुन सक्ने सरकारी अधिकारीले आशंका ब्यक्त गरेका छन् ।
प्रभावकारी औपचारिकता पूरा गरेर खोलिएको बाकसबाट २० किलो ३०४ ग्राम चाँदी र सुन २ तोला मात्र फेला परेको छ । प्राप्त भएको जिन्सी बुधवारनै सरकारी वाणिज्य बैंकमा राखिएको सम्बद्धले जानकारी दिएका छन् । ‘फेला परेको जिन्सी नयाँ वा पुरानो जे भएपनि त्यसलाई स्वीकार गरेर अघि बढ्नु पर्ने अवस्था छ,’ बागेश्वरी गुठी ब्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले दैनिक नेपालगन्ज सँग भने, ‘कम थियो वा बढि त्यो विषय पछि जाँच गरौंला ।’
बागेश्वरी मन्दिरमा स्थापित रहेको मुर्तिको सुनचाँदीका गहना एकत्र गरी राखिएको भनिएको बाकस यसअघि कति पटक र कसले खोल्यो भन्ने आधिकारिक विवरण छैन । ३० बर्ष अघि मन्दिरको सुनचाँदी र नगद लगायतका सम्पत्ति राखिएको फलामका २ वटा बाकसहरु मालपोत कार्यालय बाँकेमा बुधवार खोलिएका हुन् ।
‘एउटामा पुराना नगदी रसीद फेला पर्यो अर्कोमा केहि जिन्सी,’ दैनिक नेपालगन्ज संग कुरा गर्दै बागेश्वरी गुठी ब्यवस्थापन समितिका सदस्य समेत रहेका अधिवक्ता बल बहादुर चन्दले भने, ‘जिन्सीमा केहि हेरफेर भएको अनुमान छ ।’ अधिवक्ताहरु सुनिल कुमार श्रेष्ठ, लोक बहादुर शाह, बल बहादुर चन्द, बसन्त गौतम र कौशल कुमार बर्माले वागेश्वरी मन्दिरको दुई वटा सन्दुक (तिजोरी) को संरक्षण गर्न माग गरेका थिए । पञ्चायत कालमा अंचलाधीशको कार्यालय हुन्थ्यो । त्यस बेला सबै सरकारी कार्यालयहरुको आर्थिक र जिन्सी क्रियाकलाप हेर्नका लागि माल अड्डा (अहिलेको मालपोत) थियो ।
त्यस बेला उच्च सुरक्षाको विच संचालन हुने कार्यालय २०४८ पछि सेवाप्रदायक कार्यालयको रुपमा स्थापित भयो । जहाँ राति कुनै सुरक्षा ब्यवस्था थिएन । करोडौ राखिएको भनिएको बाकस अलपत्र अवस्थामा भर्यांग मुनि राखिएको थियो ।
बाकस खोल्दा गुठी संस्थानका केन्द्रीय सदस्य ओमप्रकाश आजाद, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख समेत रहेका बागेश्वरी गुठी ब्यवस्थापन समितिका अध्यक्ष डा.धवल शम्शेर राणा, प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, बागेश्वरी मन्दिरका कार्यालय इन्चार्ज राजु केसी, वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज राजन गौतम लगायत सरोकारवालाको सहभागिता रहेको थियो । सर्वसाधारणको पनि उस्तै उपस्थिति त्यस मौकामा थियो ।
मन्दिरका पुजारी चन्दननाथ योगी बाकस खोल्दा उपस्थित भएनन् । तत्कालिन पुनरावेदन अदालत नेपालगन्जले बागेश्वरीको सम्पत्तिको लगत राख्ने, ब्यवस्थित प्रयोग गर्ने र त्यसको विवरण ६।६ महिनामा सार्वजनिक गर्न आदेश दिएको थियो । अदालतले २०७३ असार २२ गते मन्दिर ब्यवस्थापन सम्बन्धी आदेश बारे आदेश दिएको थियो ।
अदालतले वागेश्वरी मन्दिरमा रहेको सम्पतिको नियमित रुपमा अभिलेख राख्न भनेको डेढ वर्ष पछि अहिले जिन्सी ब्यवस्थापनका काम अघि बढेको छ । मन्दिरको आयव्यवयको विवरण सार्वजनिक गर्नका लागि बागेश्वरी मन्दिर ब्यवस्थापन समिति, मन्दिरका महन्त, जिल्ला प्रशासन कार्यालय बाँके र प्रमुख जिल्ला अधिकारी तथा नेपालगन्ज उपमहानगरपालिका प्रमुखका नाममा आदेश गर्दै अदालतले प्रभावकारी ब्यवस्थापन गरी सम्पत्तिको विवरण सार्वजनिक गर्न आदेश दिएको थियो । ‘क्रमशः अदालतको आदेश कार्यान्वयन सुरु भएको छ,’ अपिलकर्ता अधिवक्ता लोक बहादुर शाहले भने ।
२०५७ जेष्ठ २४ गते गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौले बागेश्वरी मन्दिरको १३ सदस्यीय समिति गठन गरेको थियो । त्यपछि ६ महिना अघि मात्र १७ वर्षपछि अर्को समितिले काम थालेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख मन्दिर ब्यवस्थापन समितिको अध्यक्ष हुनेगरि उपप्रमुख, सामुदायिक प्रहरी, एक जना वडा अध्यक्ष, नेपाल बार एशोसिएशनबाट एक जना, मन्दिरबाट एक जना, वडा प्रतिनिधि एक जना, मन्दिरका मूल महन्त, र नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधि सदस्य रहने गरि ९ सदस्यीय समितिले ब्यवस्थापनमा सक्रियता देखाइरहेको छ ।
[gview file=”http://www.nepalgunjnews.com/wp-content/uploads/2018/03/Bageswari-temple.pdf”]