गोण्डा देखि रुपईडिहा सम्म विद्युतीय रेल विस्तार हुँदै
दैनिक नेपालगन्ज
पछिल्लो ५ वर्ष देखि आन्तरिक चर्चामा रहँदै आएको रुपईडिहा कोहलपुर रेल्वे विस्तार योजना अहिले विस्तारै उत्कर्षमा पुग्न थालेको छ । सरकारले सचिवस्तरीय निर्णयले रेल सेवा विस्तारका लागि फाइनल लोकेसन सर्भे टोली गठन गरी छलफल अघि बढाएको छ । २० जुलाई २०१७ मा सचिवस्तरीय निर्णयले उक्त टोली गठन गरिएको छ ।
गत साता मंगलवार मात्र छलफलमा बसेका दुबै देशका सरकारी अधिकारी पुनः बैठक बसी रेल विस्तार योजना बारे छलफल अघि बढाउने तयारी गरिरहेका छन् । ‘सोमवार बैठक बस्ने भनिएपनि भारतीय अधिकारीहरु आइनपुगेका कारण बैठक भएन’, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले भने, ‘रुपईडिहा देखि नेपालगन्ज हुँदै कोहलपुर लगेर पूर्व पश्चिम रेल्वै लाइनमा जोड्ने भारतीय योजना रहेको छ ।’
जिल्ला प्रशासनको तर्फबाट प्रशासकीय अधिकृत गणेश बहादुर शाहीले भारतीय अधिकारीहरु संग छलफल र योजना विस्तारमा सहयोगी भूमिका निर्वाह गर्न खटिएका छन् । भारतीय पक्षले उत्तर प्रदेशको गोण्डा जक्सन देखि रुपईडिहा सम्म इलेक्ट्रिक रेल लाइन विस्तार गरिरहेको छ ।
गोण्डा देखि बहराईच सम्मको लाइन विस्तार कार्य अन्तिम चरणमा रहेको र आगामी एक वर्ष भित्र रुपईडिहाबाट विद्युतीय लाइन (ब्रोड गेज) विस्तार भइ सेवा सुरुवात हुने भारतीय अधिकारीहरुले बताएका छन् ।
नेपालको लाइन विस्तार योजना अर्थात पूर्व पश्चिम रेल्वे संग भारतले सम्पर्क जोड्न चाहेको बुझिएको प्रमुख जिल्ला अधिकारी केसीले भने, ‘कोहलपुर लगेर पूर्व मेची देखि पश्चिम महाकाली सम्मको रेललाइनमा रुपईडिहाको कनेक्सन राख्न खोजिएको हो ।’
मंसिर महिनामा पूर्व पश्चिम रेल्वे विस्तारका लागि सर्भेको काम भइसकेको बताउँदै प्रजिअ केसीले भने, ‘उक्त लाइनमा नै भारतीय रुचि रहेको देखियो ।’ सोमवार आउने भनिएका भारतीय रेल्वे अधिकारीहरु नआएका कारण थप छलफल हुन सकेको छैन । महेन्द्र राजमार्गको ४।५ किलोमिटर छेउमै पर्ने गरि दक्षिण तर्फ रेल्वे लाइन विस्तारको लागि सर्भे भएको छ । नेपाल रेल्वे विभागका कर्मचारी र इन्जिनियर सम्मिलित एउटा टोलीले पूर्व पश्चिम क्षेत्रमा विस्तार गरिने रेल्वे लाइनको पूरै सर्भे गरेको छ ।
‘यद्यपि ठेक्का र निर्माण भारतीय लगानीमा हुने भनिएको छ’, नेपाली अधिकारीहरु भन्छन्, ‘हुलाकी राजमार्गको टुंगो नलागेको स्थितिमा रेल्वे भारतीय पक्षले निर्माण गर्ने विषय त्यति प्रभावकारी मान्न सकिँदैन ।’ उत्तर प्रदेश भारतीय रेल विभागका प्रमुख सिनियर इन्जिनियर बीके सिंह सहितको टोलीले नेपालका तर्फबाट सिनियर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्याय संग छलफल गरी कोहलपुर सम्म रेल्वे लाइन विस्तार गर्ने तयारी बारे सुनाएको थियो ।
रुपईडिहा देखि गोण्डा सम्म ११० किलोमिटर सुचारु रहेको रेल्वे लाइन कोहलपुर संग जोडिएपछि १८ किलोमिटर थप हुनेछ । सिमावर्ती क्षेत्रबाट भारतको ठूला रेल्वे लाइन संग जोड्ने सम्पर्क लाइनको रुपमा पनि रुपईडिहा गोण्डा लाइनलाई लिइएको छ ।