कालिकाले थाल्यो काम, सम्झौता म्याद अगावै सडक हस्तान्तरणको लक्ष्य

दैनिक नेपालगन्ज

नेपालगन्ज उपमहानरपालिका संग सम्झौता गरि निर्माण सुरु भएको नेपालगन्जको भित्री सडक र नाली सम्झौता समयावधि भन्दा अगावै पूरा गर्ने कालिका कन्स्ट्रक्सन प्रालिका महानिर्देशक युवराज क्षेत्रीले बताएका छन् ।
३० महिना भित्र निर्माण कार्य पूरा गरि हस्तान्तरण गर्नु पर्ने सम्झौतामा काम सुरु गरेको निर्माण कम्पनीले कुनै प्राविधिक कारण, बन्द हड्ताल लगायत नभए सम्झौताको म्याद भन्दा अगावै पूरा गर्ने जनाएको हो ।

 

‘हामी समयावधि भित्र मात्रै हैन, अलिक पहिलै पूरा गर्ने लक्ष्यका साथ अघि बढेका छौं’, दैनिक नेपालगन्ज संग कुरा गर्दै महानिर्देशक क्षेत्रीले भने, ‘उपमहानगरपालिकाले विकास निर्माणमा निरन्तर सकारात्मक चासो राख्दै आएको बताए ।’ एशियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले सहरी विकास आयोजना, परियोजना कार्यान्वयन इकाइ अन्तर्गत सडक तथा नाला निर्माणको काम सुरु भएको हो ।

 

एक अर्व ४४ करोड ७१ लाख ६६ हजार ४ सय ६५ रुपैयाँ लागतमा ३० महिना भित्र निर्माण पूरा गरिसक्नु पर्ने गरी सम्झौता भएको परियोजनाका इन्जिनियर शैलेन्द्र महर्जनले बताएका छन् । ‘७ सय मिटरदेखि ३ हजार मिटरसम्मका ४१ वटा सडकहरु निर्माण हुँदैछ’, इन्जिनियर महर्जनले दैनिक नेपालगन्ज संग भने, ‘कुल ३६ किलोमिटर सडक निर्माणका लागि सम्झौता भएको हो ।’

 

 

अब बन्ने सडकहरु ६ मिटर देखि १६ मिटर सम्मको चौडा हुने महर्जनले जानकारी दिए । सडकका दुवैतर्फ ढल तथा नाला समेत निर्माण हुनेछन् । सडकको चौडाई अनुसार नाला बनाउने उपमहानगरपालिकाले जनाएको छ ।
‘उपमहानगरपालिका भित्र ४० किलोमिटर नाला बनाउने गरि काम भइरहेको इन्जिनियर महर्जनले बताए ।

 

 

उपमहानगरपालिकाको तर्फवाट प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र कालिका कन्सट्रक्सन प्रालिको तर्फवाट महानिर्देशक युवराज क्षेत्रीबीच सडक तथा नाला निर्माणका लागि गत शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
यसअघि राँझा–कोहलपुर सडक खण्ड निर्माण गरेको कालिकाले निर्धारित समय अगावै काम सकेकाले अब पनि समयमै काम हुनेमा उपमहानगरपालिका विश्वस्त देखिन्छ । अहिले एमपी स्कूल रोडमा कालो पत्रे काम सुरु भएको छ ।
मालपोत कार्यालय देखि बुलबुलिया सम्म, अशोक मार्ग, समशानघाट रोडमा बाटो सम्याउने काम सुरु भैसकेको छ । परियोजनामा अन्तर्गत सदरलाइनको बाटो पनि रहेको छ ।

 

 

परियोजना अन्तर्गत तत्कालीन वडा नं. १६ को विपीचोक पथ ९ मिटर, चारवाहिनीदेखि नगरभवन सम्म १५ मिटर, रंगशालादेखि अस्पतालसम्मको रोड १५ मिटर, अशोक मार्ग १० मिटर, रानीतलाउ देखि त्रिभुवनचोकसम्म १० देखि १६ मिटरसम्म, शितल नगर रोड ८ मिटर, श्रृष्टि सिनेमा हल रोड ६ मिटर, कस्तुरीमार्गदेखि भेरी प्राविधिक शिक्षालयसम्मको रोड ८ मिटरको निर्माण योजना छ ।

 

 

आइएनएफ मार्ग १० मिटर, समशानघाटदेखि रानीतलाउसम्म १० मिटर, भेरी अञ्चल अस्पतालदेखि रामलिला मैदानसम्मको बाटो १० मिटर, तत्कालीन वडा नं. १ को वाटर पार्क रोड ८ मिटर, घरबारीटोल देखि नागरिक चोकसम्म ८ मिटर, तत्कालीन वडा नं. २ र ३ घरबारीटोलदेखि त्रिवेणीमोडसम्मको बाटो १० मिटर बन्न लागेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया