सागर गैरे
भारत बाहेकका देशलाई विदेश मान्ने हो भने थाइल्याण्ड यात्रा मेरो निम्ति दोस्रो भ्रमण हुने क्रममा थियो । अघिल्लो वर्षको इण्डोनेशिया यात्रामा संगालेका दृश्य र अनुभूतिहरुले अझै सम्म पनि रोमान्चित बनाउन छाडेका थिएनन् । आहा ति धानका हरिया र पहेंलपुर खेतहरु अनि लोभलाग्दो विराट निलो समुन्द्र र मन्दिर प्रेमी बालीबासीहरु ।
तर यसपटक परिस्थिति पोहोर साल भन्दा धेरै अर्थमा भिन्न र प्रतिकुल थियो । अस्ति मात्र आमाको मुटुको अप्रेशन भएको अवस्था एकातिर थियो भने एकै पटक हामी पाँच मध्ये तीन भाई एकै पटक विदेश भ्रमणमा निस्कंदा त्यसले हाम्रो व्यवसायमा समेत नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता पनि थियो । हिजो विहान मर्निङ्ग वाक गर्दै गर्दा साहिलो भाई जयरामले काठमाडौ बाट फोन गरेर अप्रेशनको १८ घन्टा बित्दा पनि आमाको होस् नआएको जानकारी दिंदा मलाई पाइतला मुनिको जमिन भाँसिए जस्तै भएको थियो । मलाई जसरी पनि थाइल्याण्ड लैजाने विकास जी को अडान र दबाबको अगाडि म निरुन्तर प्रतिक्रिया विहीन भइरहेको थिए । सधै विदेश नलगेको भनेर कचकच गरी रहने व्यक्ति म आफै पासपोर्टमा भीसा लागि सकेपछि भने अन्यौल र दोधारमा परेको थिएँ ।
अन्ततः मैले निर्णय लिए काठमाडौंसम्म जाने र आमाको स्वास्थ्य स्थिति बुझेर मात्र अघिल्लो कदम बारे सोच्ने । तीनवटा भाईहरु पहिलेदेखि नै आमासंग काठमाडौमा थिए । माघ १ गतेको दिनमा जहाज उडला नउडला भन्ने अन्यौल बीच यति एयर लायन्सको अन्तिम उडानमा विकासजी संगै म नेपालगन्जबाट काठमाडौं पुगें । एयरपोर्टबाट सिधै म बाँसबारी स्थित गंगालाल हृदयरोग केन्द्र पुगे । चुडामणिभाई मलाई हस्पिटलको गेटमै पर्खिएर बसेको थियो । मलाई देखेपछि भाईहरुको मुहारमा बेग्लै चमक देखियो । विगत १०/१२ दिन देखि घर छोडेर हस्पिटलको दौडधुप र बसाईले उनीहरुलाई पट्यार लाग्नु स्वभाविक थियो ।
ठूलो हलमा थुप्रै बिरामीहरुको बिचमा मैले आमालाई परैबाट चिने । मलाई देखेपछि आमाको मुहारमा मधुर मुस्कान देखियो । आमाको स्वास्थ्य तिव्र गतिमा सामान्य अवस्था तर्फ फर्किइरहेकोे आफैले देखेपछि र डाक्टरहरुले समेत सकारात्मक र सफल शल्यक्रिया भएको भनेर मलाई आश्वस्त पारेपछि बल्ल थाइल्याण्ड जान म मानसिक रुपले तयार हुन पुगे । काठमाडौ पुगेको दोस्रो दिन हामीले प्रभु बैंकबाट अमेरीकी डलर सटही गर्यौ । विकास पौडेलजीको नेतृत्वमा रहेको हाम्रो भ्रमण टोलीमा विभिन्न उमेर, स्वभाव र अनुहारका ३५ सदस्यहरु थियौं । कतिपय सदस्यहरुले त पहिलो पटक एक अर्कालाई देखेका थिए । थाइल्याण्ड भ्रमण मेरो लागि पहिलो भएपनि धेरैको निम्ती भने नौलो थिएन ।
झण्डै साढे चार सय जना यात्रु बोक्ने बडेमानको हवाई जहाजमा चढ्दै गर्दा मेरो सिट झ्यालमा त्यो पनि उत्तरका हिमालहरु देख्न मिल्ने गरी परे हुन्थ्यो भन्ने कामना र चाहनाले सुरुमै हावा खान पुग्यो । जहाज उडेको केही बेरपछि भने मैले साथीहरुसंग तारतम्य मिलाएर आफुलाई हिमाल हेर्न मिल्ने गरी उत्तरको भ्mयाल तिर सीट मिलाउन सफल भए ।
थाइल्याण्ड जानु पूर्व यस देश प्रतिका मेरा आफ्नै खाले आग्रह र धारणाहरु थिए । राजतन्त्रले बेला बेलामा हस्तक्षेप गरिरहने अस्थिर राजनीति र प्रजातन्त्र रहेको देश थाइल्याण्डको अर्थतन्त्रको मूल आधार भनेको राज्यकै प्रोत्साहन र संरक्षणमा हुने त्यहाँको खुल्ला यौन व्यवसाय नै हो भन्ने मेरो सामान्य बुझाई थियो । केही समय पहिले अदालतको कारवाहीबाट बच्न त्यहाँकी पूर्व प्रधानमन्त्री भागेर दुबइको शरणमा पुगेको समाचार नेपालको पत्र पत्रिकामा महत्वका साथ छापिएका पनि थिए । मेरो अनुमान र कल्पनामा जे जस्तो तस्विर भएपनि केही घन्टामा म थाइल्याण्डको अन्तराष्ट्रिय विमान स्थलमा उत्रिदै थिए जसको नाम थियो ‘स्वर्ण भूमी’ । ९५% भन्दा धेरै बुद्ध धर्मावलम्बीहरुको देश जहाँका मानिसहरुको शरीर र मुहारको बनावट पुरै मंगोलियन थियो त्यो देशको विमानस्थलको नाम शुद्ध संस्कृतमा हुनु म आफैलाई अचम्म लागी रहेको थियो । अघिल्लो वर्ष इण्डोनेशिया भ्रमणमा बाली टापुमा देखेका मन्दिर मूर्तिहरुले पनि मलाई यसरी नै आश्चर्य चकित बनाएका थिए । जबकी मैले पढे अनुसार सबै भन्दा बढी धेरै इस्लाम धर्मावलम्बी भएको देश थियो इण्डोनेशिया ।
थाई अन्तर्राष्ट्रिय एयरपोर्टबाट हामीलाई एसी बसमा राखेर दुई घण्टाको यात्रा पछि सिधै पटाया सहर पुगाइयो । हाम्री गाइड रहिछन थाई महिला जीजी । उनले हामीलाई सडकमा कुनै पनि चिज विज नफ्यान, सडक पार गर्दा सचेत हुन्, आफ्नो सामानको सुरक्षा आफै गर्न कडा व्हिप जारी गरिन् । हामी आज्ञाकारी विद्यार्थीले झै उनको पछिपछि होमा हो मिलाउँदै र टाउको हल्लाउँदै लुरुलुरु हिड्न सुरु गर्यौं ।
पटायाको होटल विभर्ली प्लाजा पुग्दा रात छिप्पी सकेको थियो । यो होटलको भवन मलाई खासै ठूलो लागेन सायद बाटोमा यस भन्दा ठुला अरु भवनहरु देखेको कारणले पनि हुन सक्छ । साझँको खाना खाएपछि हामी आ–आफ्नो कोठा तर्फ लाग्यौ । हाम्रो समुहमा हामी एकाघरका तीन भाई (म, जयराम र कृष्ण) बाहेक तिन घरुवाका विकास पौडेल, कोहलपुर कै जीवन धिताल, मदनचौकका चन्द्र भण्डारी र सम्झना चोकका आचार्य दम्पत्ती हुनुहुन्थ्यो । नेपालमा खासगरी बाँके बर्दिया लगायतका तराइका जिल्लाहरु हुस्सुको सिरक भित्र छोपिएको पुसको महिनामा पटायाको तापक्रम ३४ डिग्री सेल्सीयस मात्र थिएन यहाँ टन्टलापुरे घाम समेत लागिरहेको थियो । निलो समुन्द्रमा अनगीन्ती डुगां, बोट र स्टीमरहरु कुदिरहेका थिए । अघिल्लो वर्षमा बालीमा पहिलो पटक समुन्द्र देख्दा म जति उमङ्गले छचल्किएको थिए यसपटक समुन्द्रले त्यो अनुभूति गराएन । यो वर्षको भ्रमणमा स्वंयमलाई ढाढस दिंदै जीवनमा पहिलो पटक प्यारासेलीङ गरीयो । अथवा बेलुनमा तुर्लुङ्ग झुन्डिएर निलो समुन्द्र माथिको आकाशमा उडियो । जुन मेरो निम्ती जीवनको पहिलो र फरक रोमान्चक अनुभूति थियो ।
कोरल आइल्याण्डमा मानिसहरुको ठुलो भिंड थियो । काला, गोरा र गहँुगोरा वर्णका मान्छेहरु त्यहाँ देखिन्थे । यस्तो लाग्थ्यो विश्व भरका सबै जाति र प्रजाति का मानिसहरु त्यहि थिए । युरोपियन तथा अमेरीकन महिलाहरु भित्री वस्त्रहरुमा निर्धक्क समुन्द्रमा नुहाँउदै र तातो बालुवामा उत्तानो पल्टिएर घामको मज्जा लिइरहेका देखिन्थे । युरोपियन र अमेरीकी नारी जति खुल्न नसकेपनि चिनियाँ नारीहरु भारतीय महिलाहरुले झै आफ्नो कुर्ता र जीन्स पाइन्ट मै नुहाई रहेका भने देखिदैनथे । भुगोल र संस्कृतिले पनि कति फरक पार्दो रहेछ मानिसको सोचलाई भन्ने ज्वलन्त नमुना यहाँ आएर नजिक बाट बुझ्दै थिएं । समुन्द्रमा नुहाउने क्रममा मैले आफ्नो मोबाइल कहाँ खसाले पत्तै भएन । तस्बिर खिच्न भनेपछि हुरुक्कै हुने म परदेशमा आएर आफ्नो मोबाइल गुमाउन पुगेको थिए । मोबाइल संगै कैयौं वर्षदेखि संगालेका टेलिफोन नम्बरहरु र तस्वीरहरु पनि गुम्न पुगेका थिए । समुन्द्रबाट फर्किइरहँदा नचाहेरै पनि पनि मोबाइलको धेरै याद आइरहेको थियो ।
पटायाको मीनी सोयाम निकै सुन्दर ठाउँ थियो । लण्डन व्रीज, सीडनीको ओपेरा हाउस, न्यूर्कका स्ट्याचु अफ लिबर्टी, इजीप्टका पिरामिड, ब्राजीलको जीससको मुर्ती, ग्रीसको लिनिङ्ग टावर जस्ता विश्व चर्चित संरचनाका प्रतिरुपहरु हेर्न पाउदा तिनै ठाउँहरुमा पुगेको जस्तो अनुभूति भयो । एउटै पार्कमा एउटै कलाकृतिहरु एकै पटक देख्न पाउनु ऐतिहासिक अवसर थियो । आफ्नो मनले चाहे जस्ता तस्विर खिच्न मैले कुनै कसर बाँकी छाडिन । आफ्नो मोबाइल हराएता पनि वाइफाई टिप्ने ठाउँहरुबाट आफुलाई मन परेका तस्विरहरु सप्रसंग फेसबुकमा बेलाबेलामा अपडेट गरिरहे । साथीहरुले अघिल्लो वर्ष इण्डोनेशिया घुम्दा मैले लेखेका स्टाटसहरु पढेर आफुहरु स्वयंले पनि यात्रा गरे जस्तै अनुभूति गरेको कुरा मैले बिर्सिएको थिइन । त्यसैले आइसपार्कमा माइनस १४ डिग्रीको तापक्रममा घुम्दाका क्षण हुन वा पटायाका अग्ला घरहरुको दृष्य हुन मैले फेसबुक बाटै आफ्ना दौतरीहरुलाई म संग संगै यात्रा गराइरहे ।
पटायाको वाकिङ्ग स्ट्रीटलाई म सायदै कहिल्यै बिर्सुला । त्यो निलो समुन्द्र, फराकिलो फुटपाथ, किनारामा लहरै हुर्किएका नरिवलका एकनासका वृक्षहरु, सडक पारीका होटेल र रेष्टुरेन्टहरु, बार र पब सेन्टरहरु । वार्किङ्ग स्ट्रीटमा यातायात साधन प्रवेश वर्जीत रहेछ । साँझ नपर्दै हजारौं युवतीहरु रेलिङ्ग, नरिवल वृक्ष वा बिजुलीका पोलमा अडेस लागेर अनेक हाउभाउ र श्रृंगार सहित ग्राहकहरुको पर्खाइमा बसेको कुरा पत्याउने गाह्रो लाग्थ्यो । पब र बारहरु ग्राहक ले खचाखच भरिएका थिएँ । गायक गायिकहरु गीत गाउनमा मस्त देखिन्थे । सडकमा, घुम्ती र ठेलामा माछा, भ्यागुता, संखे किरा जस्ता समुंद्री जीव देखि फलफूल बेच्नेहरुको त्यहाँ भिड देखिन्थ्यो ।
स्ट्रीट लाइट र रङ्गगी बिरङ्गगी बत्तिमा नुहाएको सडक मा हिडीरहेका देश देशावर का मानिसहरुको भीड देख्दा विश्व भरको जात्रा लागि रहेको छ कि जस्तो भान हुन्थ्यो । युवतीहरुका शरीरमा नाम मात्रका वस्त्र थिए । हिड्दा एक अर्का संग ठोक्किइने भिड । अनेक खाले म्याजिक शोहरु, पसल अगाडि सोकेसमा सजाइएका जीवित युवतीहरु, अनेक हाउभाउमा ठाँटिएर आफ्नो पसल तर्फ ध्यानाकृष्ट गर्नमा तल्लीन थिए । आखाँ झिमिक्क सम्म नगरी विचित्र का दृष्यहरु हेर्दा मैले मोतीराम भट्टले लेखेको कान्तीपुरी नगरी गजललाई सम्झिए । पाँच मिनेटमा हुबहु अनुहार पेन्टिङ्गमा उतार्ने चित्रकार, भ्वाइलिन बजाउँदै सडकमा गीत गाइरहेका युवा गायक, चटक देखाइ रहेका चटकेहरु, टर्किश आइसक्रीम वाला, शिशाको पहिरन लगाएको त्यो रोबोट म्यान मेरो निम्ती जीवनभर नर्बिसने स्मृतिको रुपमा रहिरहनेछन् । संकोच मान्दै रसीयन कलाकारहरुको शो हेरे पनि नेपालमा थाइल्याण्डको बारेमा सुनेका अरु धेरै शो हेर्ने जाँगर मैले जुटाउन सकिन । थाइल्याण्डका हरेक सडक किनारमा छयापछयाप्ती मसाज सेन्टर भेटिन्छन् । स्वास्थ्यको दृष्टिकोणबाट पनि परम्परागत थाई मसाज विश्वभरी चर्चित मानिंदो रहेछ । हजारौँ थाई महिलाहरुले मसाज पार्लर मा रोजगारी पाउनुले पनि यसको लोकप्रियता स्पष्ट हुन्थ्यो ।
अम्बा, भुईकटहर, लिची, आँप लगायत मैले नदेखेका र नाम नसुनेका फलफूलहरु पनि यसपटक सेवन गर्ने अवसर पाइयो । बालीमा झै धान रोप्दै र काट्दै गरेका, आँप फुल्दै र पाक्दै गरेका दृष्यले हामी सबैलाई लोभ्यायो । सडकहरु सफा र फराकिला देखिन्थे । उद्योग कलकारखानाहरु, सवारी साधन हरुको भिड, गगनचुम्बी भवनहरुले थाइल्याण्डको समृद्धिको बर्णन गरिरहेका थिए । यो त्यही थाइल्याण्ड थियो जतिबेला नेपालले सजिलै हवाइ सेवाको अन्तराष्ट्रिय अनुमती पाउँदा यसले भने अनेक झमेलाहरु बेहोरेको थियो भनिन्छ । आज हामीसंग दुईवटा विमान नहुँदा थाई एयरवेजका १०० बढी विमानहरु छन् भन्ने कुरा सुन्दा कुन नेपालीको चित्त नकुंडिएला र ?
विश्वभरका मानिसहरु यौन पर्यटन कै सील सीलामा थाइल्याण्ड जाँदा रहेछन र हिजो आज त पटाया उत्रने नेपालीहरुको संख्याको ग्राफ पनि निरन्तर उकालीदो क्रममा रहेको छ । तिन दिनको पटाया बसाई पछि हामी बैँकक फर्केर थप दुई रात बस्यौ । बैंककको चकाचौध पटायाको भन्दा कता हो कता बढी छ । हरेक घरहरु बीच आकाश छुने प्रतिस्पर्धा छ । सहरैभरी हरीयाली, सफा सडकहरु र चिल्ला गाडीहरु गुडिरहेका छन् । त्यसको ठिक माथिको फुटपाथमा यात्रुहरु पैदल हिडेका छन र त्यो भन्दा माथि विद्युतीय रेल कुदेको छ । प्रमुख सरकारी कार्यालय, व्यापारीक भवनमा राजाका ठूला ठूला तस्बिरहरु राखीएका छन । जनतामा राजा प्रति अगाध स्नेह भएको देखिन्थ्यो । मसाज सेन्टर र यौन व्यवसाय पटायाको भन्दा बैंककमा पनि कम थिएन । बैंककका मल, डिपार्टमेन्टल स्टोर, रेष्टुरेन्टमा नेपाली भाषी युवा युवती देख्दा म सुरुमा अचम्मित भए । बुझदै जाँदा उनीहरु नेपाली मूलका वर्मेली नागरिक रहेछन् । फरासिला, हँसिला, मिहिनेती र इमान्दार भएकै कारण थाई विजनेस म्यानहरुले यीनलाई काममा राख्दा रहेछन् । थाइल्याण्डमा यीनीहरुको संख्या सयमा होइन, हजारमा पनि होइन, लाखौंको संख्यामा छ भन्ने जानकारी पाउँदा म तिन छक्क परे । नेपालीहरु नपुगेको ठाउँ विश्वको कुनै पनि ठाउँमा छैन रहेछ भन्ने कुराको कल्पना मात्रैले पनि म निकै रोमान्चित भए ।
आखाँले हेरेरै नसकिने, पैदल हिडेर छिमल्न नसकिने डिपार्टमेन्टल स्टोरहरु जहाँका ८०% बढी सामानहरु चिनबाट आयातीत हुँदा रहेछन् । गोल्डेन टेम्पलको अलौकिक सौन्दर्यतामा निकै रमीयो । बालीमा झै साँझको डिनर खाने अवसर पाइयो बैंककमा तर यहाँको भिड भने ब्याख्या गरी नसक्नुको थियो । बालीमा क्रुज चढ्दा घाम ढल्किसकेको थिएन तर बैंककमा भने रात छिप्पिदै थियो । क्रुज जहाजहरु झिलीमिली बत्तिमा समुन्द्र माथि तैरिरहेका थिए । क्रुजमा डिनर गरिसकेपछि हामी सबै जना नेपाली गीतमा मज्जाले नाच्यौ । हाम्रो उत्साह र नृत्य देखेर कतिपय भारतीय नागरीकहरु अचम्म मान्दै हामीलाई नियाली रहेका थिए । रातको अध्याँरोमा गोल्डेन टेम्पल सुन खानीमा घाम टल्किए झै टल्किई रहेको थियो ।
बैँककको व्यस्त सडकमा रहेको ३५ तले ओमीनो टावर होटेलमा हामिलाई बस्ने प्रबन्ध मिलाइएको थियो । माथिल्लो तल्लाहरु सम्मै पार्किङ सुविधा, स्वीमीङ्ग पूल, ६,७ वटा लिफ्ट, अनि गार्डेनहरु, एउटा कोठा सिगैँ फ्ल्याट जस्तो । अन्तराष्ट्रिय स्तरको सेवा सुविधाहरु । थाइल्याण्डमा बिताएका पाँच दिनहरु पाँच पल जत्तिकै छोटा लागि रहेका थिए । हामीलाई विदेश यात्राको यो सुनौलो अवसर तिरुपति बालाजी पेन्टस् उद्योगले प्रदान गरेको थियो । जीवनकालमा दोस्रो विदेश यात्राको रुपमा थाइल्याण्ड घुम्ने मौका पाएको थिए । दक्षिण पूर्वी एशियाको प्रमुख व्यापारीक केन्द्र थाइल्याण्डलाई यी पाँच दिनमा नजिकबाट छुन, महसुस गर्न, चिन्न र अनुभूति गर्न पाउनु म स्वयंका लागि ऐतिहासिक अवसर थियो ।
थाई एयरपोर्टले मलाई जीवनमा पहिलो पटक पाठ सिकायो कि चेक जाँच भनेको कस्तो हुदो रहेछ र एउटा सामान्य गल्तीको मुल्य कति सम्म चुकाउनु पर्ने हुन सक्दो रहेछ । जुत्ता समेत खोलेर जाँच्ने त्यहाँको सुरक्षा व्यवस्था त्यसमाथि मैले डलर राखेको कम्मरमा भिर्ने झोला साटिन पुग्नु र मैले समातेको विकास जीको मोबाइल समेत केही क्षण गुमाउँदा पछिको मानसिक तनाव । थाई एयरपोर्टमा तैनाथ सुरक्षाकर्मीदेखि त्यहाँ प्रयोगमा ल्याइएका प्रविधिहरुको स्तर कुनै पनि कोणबाट हाम्रो देशको एक मात्र अन्तर्राष्ट्रिय विमान स्थलसंग तुलना गर्न लायक थिएन । कुनै बेला नेपाल र थाइल्याण्डले संग संगै अन्तराष्ट्रिय विमान उडानको अनुमति लिन सम्बन्धित निकायमा निवेदन दिँदा नेपालले जहाँ सजिलै स्वस्कृति पाएको तर थाइल्याण्डलाई तिम्रो देशमा पर्यटक आउने आधार के छ भनेर सोधिएको थियो र भन्ने अपुष्ट किंवदन्ती सुनेको हुँदा मेरो लागि ‘स्वर्ण भूमी’ को भव्यता आफैमा कुनै सपना भन्दा कम थिएन ।